• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

प्रचण्डलाइ फेरी यी ४ चर्चित सांसदले छोडेर गए एमालेको ओली समुहमा


नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई कारबाहीको निर्णय हुने भएको छ । शनिबार माओवादी केन्द्र को स्थायी कमिटी बैठक बसेर २४ घन्टे अल्टिमेटम दिएको मा आजको बैठकले कारबाही गर्ने भएको छ।

आजको बैठकले २३ जनालाई पार्टीबाट निष्काशन गर्ने देखि सांसद रहेका चारजनाको पद नै खारेज गर्ने निर्णय लिने भएको छ । २३ जनामध्ये कसैले पनि माओवादी केन्द्रमा फर्कने जवाफ नदिएको बुझिएको छ । मन्त्री भएका ६ जना नै नफर्कने घोषणा गरिसकेका छन् । जसमध्ये ३ जना प्रतिनिधि सभा र एकजना राष्ट्रिय सभा सांसद छन् ।यसै क्रममा अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्नका लागि बोलाइएको बैठक केहीबेरअघि सुरु भएको नेतृ पम्फा भुसालले जानकारी दिइन्।
आजको बैठकमा नयाँ सरकार गठनका लागि सम्भावित समीकरणका विषयमा छलफल हुनेछ। यस्तै, बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म विभिन्न राजनीतिक दलसँगको छलफलबाट आएका प्रस्तावका विषयमा जानकारी दिनेछन्।

यसअघि हिजो २४ घन्टाभित्र दल त्याग गरेको या नगरेकोबारे स्पष्ट पार्न भनिएको थियो । दल त्याग गरेका सांसद भएकाहरुको पद स्वतः जानेछ । माओवादी केन्द्रबाट बादलका अलावा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी सांसद छन् । मन्त्री भएका उनीहरुले दल त्याग गरेको आधिकारिक जवाफपछि माओवादी केन्द्रले स्वतः सांसद पद खारेज गर्न पत्र लेख्न सक्छ । उनीहरुको सांसद पद नै खारेज हुने कानुनी व्यवस्था छ ।यसैगरी, स्थायी कमिटी सदस्य मणि थापालगायत अन्य केन्द्रीय सदस्यहरुमाथि पनि कारबाही हुन सक्छ । शुक्रबार नेकपा एमालेको ओली समूहको बैठकले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो ।

यसै गरि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विपक्षमा नेकपा एमालेकै केही सांसद तथा एक पार्टी पंक्ति लागिरहँदा लुम्बिनी प्रदेशका चार सांसदले भने केपी ओलीको साथ नछोड्ने घोषणा गरेका छन् । उनीहरुले बरु सांसद पद छोड्ने तर केपी ओलीको साथ नछोड्ने घोषणा गरेका हुन् ।पार्टी एकता अघि नेकपा माओवादी केन्द्रमा आवद्ध, पार्टी एकता पछि नेकपा रहेपनि अहिले नेकपा माओवादी केन्द्र र एमाले अलग अलग भएपछि एमालेमै रहन चाहेका सांसदमा गुल्मीबाट निर्वाचित माओवादीका प्रदेशसभा सदस्य दिनेश पन्थी पनि एक हुन् । उनी गुल्मीमा गोकर्ण विष्टको निर्वाचन क्षेत्रबाटै प्रदेशसभामा जितेका हुन् भने पन्थी गोकर्ण जत्तिकै लोकप्रिय नेता मानिन्छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई लुम्बिनी प्रदेशबाट साथ दिएका नेताहरुमा अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का तथा रुपन्देहीबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थी छन् । उनीहरु चारै जना अहिले नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । यी चारै जना माओवादी केन्द्रबाट चुनाव जितेका हुन् । तर अब मन्त्री तथा सांसद पद नरहेपनि केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा रहने घोषणा गरेका थिए ।

माओवादीले कारवाही प्रक्रिया अघि बढाएमा लुम्विनीका संघीय र प्रदेश सांसदगरि चारजनाको पद जान सक्छ । लुम्विनीकै नेता कपिलवस्तु इन्चार्ज गिरिधारीलाल न्यौपानेले पनि माओवादी छाडेर एमालेको केन्द्रीय सदस्य बनेका छन् ।एमालेमा लागेका केन्द्रीय सदस्य तथा सांसद न्यौपानेले पद अस्थायी कुरा भएकाले विचारका आधारमा आफूहरु एमालेमा लागेको बताए । उनले प्रचण्डमा अस्थिरता रहेको भन्दै माओवादी धाराको राजनीति असफल भइसकेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार