• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

अन्ततः ३ महिना पछि ओली, नेपाल र झलनाथको भेट, पार्टी कार्यालय धुम्बाराहीमा छलफल जारी


काठमाडौँ — सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरू वार्ताका लागि पार्टी कार्यालय धुम्बाराही पुगेका छन्। ओली र नेपाल पक्षबीच हुन लागेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू

भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट आइपुगेका छन्। ओली समूहबाट अर्थमन्त्री बिष्णु पौडेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली धुम्बाराही पुगेका छन्।नेकपा एमालेको दुवै समूहका नेताहरु धुम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरेको छ । तीन महिनायता पहिलोपटक माधव नेपाल लगायतका नेताहरुले धुम्बाराही कार्यालयमा पाइला टेकेका हुन् ।धुम्बाराहीमा नेताहरू आउने क्रम शुरू भएको छ । माधव नेपाल, सुवास नेम्वाङ, भीम रावललगायतका नेता आइपुगेका छन् । पार्टी कार्यालय वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

ओलीले नेता नेपाललाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । तर नेपालले एक्लै भेट्न अस्वीकार गरि आफू पक्षका नेताहरुसहित पार्टी कार्यालय धुम्बाराही जाने भएका हुन् । ओली पनि सो वार्ताका लागि आफू पक्षीय नेताहरुसहित आउने भएका छन् ।यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही जान राजी भएका हुन् ।सोमबार बिहान ओलीले बालुवाटारमा एमाले नेताहरुका लागि चियापानका कार्यक्रमको तयारी गरेका थिए । चियापानपूर्व नेताहरुबीच भेटवार्ता हुन लागेको हो ।

सर्वोच्चको फैसलाले एमाले व्युँतिएपनि ओलीले पार्टीका बहुमत सदस्यविनै बालुवाटारमा बैठक राखेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर अन्यलाई दिएका छन् । त्यसको विरोधमा नेपाल पक्षले समानान्तर प्रदेश तथा विभागीय कमिटी गठन गरेका छन् । नेता नेपाल पक्षले ओलीले विधानविपरित गरेका यस्ता कार्य खारेज गर्नुपर्ने भन्दै ओलीले बोलाएको चैत ७ गतेको केन्द्रीय समिति बैठकमा नजाने बताउँदै आएका छन् ।

ओलीले पार्टीमा गरेको नियुक्ति र जिम्मेवारी हेरफेर विरुद्ध आइतबार मात्रै माधव नेपाल सहित वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनीहरुले ओलीको निर्णय कार्यन्वयन नगर्न आयोगलाई आग्रह गरेका छन् ।

साथै आइतबार साँझ नै नेपाल सहितका ११ जना नेताहरुले ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जनको दिशामा लगेको तथा एमाले फुटको संघारमा पुर्याएको संगीन आरोप लगाएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार