• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव समूहले भन्यो : संसदीय दलको बैठक सार्नुस्, फुटाउन हैन जोड्न भेला, कारवाही कसरी गर्नुहुन्छ हेरौला


काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले भोलिको संसदीय दलको बैठकमा सहभागी नहुने स्पष्ट पारेको छ। आफूहरुको भेला चलिरहेको जानकारी हुँदाहुँदै बैठक राख्नु उपयुक्त नभएको समूहको भनाइ छ। माधव समूहमा रहेका एमालेका प्रचार विभाग प्रमुख योगेश

भट्टराईले पत्रकार सम्मेलनमा भने, ‘संसदीय दलका नेताले बैठकका लागि बोलाउनुभएको सूचना मोबाइलमा एसएमएस आएको छ। उहाँलाई र संसदीय दलको कार्यालयलाई राम्रोसँग जानकारी छ कि यहाँ दुई दिने भेला भइरहेको छ। भेलामा संसदीय फाँटका अधिवकांशको यहाँ उपस्थित भएको जानकारी छ। हामीलाई संसदीय दलमा उपस्थित हुन कुनै समस्या छैन। तर भेला भोलिसम्म भएकाले जान सकिँदैन। अर्को कुनै उपयुक्त मितिमा गरेमा जान्छौं।’
भट्टराईले अनुकूल समयमा बोलाए बैठकमा सहभागी हुने बताए। ‘यहाँ भेला छ भन्ने थाहा पाएर भोलि नै संसदीय दल किन राख्ने? सामान्यता संसद चल्ने दिन दलको बैठक राख्ने चलन छ। ६ गते ११ बजे राख्नुस् हामी सहभागी भइहाल्छौं,’ उनले भने, ‘संसदीय दलमा उपस्थित हुन्छौं। तर भोलिको बैठकमा भने जान सकिँदैन। संसदीय दलप्रति आपत्ति छैन।’

भट्टराईले ७ गते बोलाइएको केन्द्रीय कमिटीमा भने नजाने स्पष्ट पारे। ‘७ गते बोलाइएको केन्द्रीय कमिटी बैठक होइन। त्यसलाई साझा बनाउने हो भने हामीले उठाएका माग सम्बोधन हुनुपर्छ। होइन भने २८ गतेजस्तै गुट बैठक हुन्छ। हामी सहभागी हुँदैनौं,’ उनले भने। नेपाल समूहको माग २८ गतेको निर्णय सच्याउनुपर्ने रहेको छ।भट्टराईले कर्णाली प्रदेश सरकारमा एमालेको समर्थन कायमै रहेको पनि जानकारी दिए। ‘कर्णालीमा समर्थन कायम छ। माओवादीका साथी मुख्यमन्त्री हुनुहुन्छ। हामीले कुनै निर्णय गरेका छैनौं,’ उनले भने।

एमालेबाट छुट्टिन भेला गरेको होइन
भट्टराईले राष्ट्रिय कार्यकर्ता भेला भेला एमालेबाट छुट्टिन होइन जुटाउन गरेको बताए। ‘उत्तापट्टिका साथीहरुको चाहना छ यिनीहरु छुट्टिएर गए हुन्थ्यो भन्ने। यो पार्टी विभाजन हुन हामी दिँदैनौं। सुदृढ एकताका लागि, फागुन २३ गते सर्वोच्चको फैसला कार्यान्वयनका लागि, ०७५ जेठ २ बाटै एमालेको एकताको मुख्य आधार बनाउनुपर्छ भनेर भेला आयोजना गरिएको हो,’ उनले भने, ‘पुरानै संरचनामा फर्किएपछि एकता हुन्छ। फर्किनुको विकल्प छैन। अदालतको फैसला मान्दिन भन्नु बेग्लै कुरा हो। तर पार्टी प्रस्थान बिन्दु जेठ २ नै हो।’

भट्टराईले जेठ २ गते जुन जुन संगठन थिए ती क्रियाशील हुने भन्दै आफूहरुले समानान्तर कमिटी नचलाउने पनि स्पष्ट पारे। जेठ २ कै संगठन चलाउने उनको भनाइ छ। ‘एमालेको भेला हो। एमाले हामी छोड्दैनौ। हामी छुट्टिँदैनौं। हामी विचारको राजनीति गरिरहेका छौं। गणितको राजनीतिमा हामीलाई विश्वास छैन। फैसला कार्यान्वयनको राजनीति गरिरहेका छौं,’ उनले भने।

भेलामा प्रधानमन्त्रीलाई खुला निमन्त्रणा गरे पनि कार्यव्यवस्थाले आउन सकिन भनेको उनले सुनाए।उनले संसदीय दलमा उपस्थित नभए कारवाही गर्छु भन्ने अध्यक्ष ओलीको चेतावनीको पनि प्रतिवाद गरे। ‘हेरौ न कारवाही हुने कुरा। ति त शब्द न हुन्। डिक्सनरीमा छन्। शब्दकोशमा छन् र अध्यक्षले प्रयोग गरिरहेका छन्। शब्द प्रयोग गर्न प्रधानमन्त्री खप्पिस हुनुहुन्छ,’ उनले भने।

पत्रकार सम्मेलनमा प्रचार विभाग सचिव विष्णु रिजालले भेलामा ४ हजार कार्यकर्ता उपस्थित भएको दावी गरे। भेलामा माधव नेपालले ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेको र त्यसमा ओलीको स्वेच्छारीविरुद्ध पार्टी पंक्ति परिचालनमा जोड दिइएको उनले जानकारी दिए।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार