• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

माधव–झलनाथ पक्षको राष्ट्रिय भेलाले पारित गर्‍यो १७ बुँदे प्रस्ताव


काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा पारित प्रस्तावहरू पढेर सुनाइएको थियो ।भेलाले सर्वोच्च

अदालतले फागुन २८ गते अध्यक्ष केपी ओलीले एकतर्फी गरेका निर्णयको भर्त्सना गर्दै पार्टी एकताको पक्षमा सवै नेता कार्यकर्ताहरूलाई उभिन आग्रह गरेको छ । त्यस्तै भेलाले ओलीका तर्फबाट भएका कथित सवै निर्णय रद्द गरेको छ । पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने कुरालाई पुनर्पुष्टि गरेपनि अध्यक्ष ओलीले त्यसलाई पक्रन नसकेको बताए । त्यस्तै नवौं महाधिवेशनले गठन गरेका पार्टी कमिटीको बदलामा बनाएका कमिटीहरु नस्वीकार्ने भेलाको निष्कर्ष रहेको छ ।

त्यस्तै जबजको मर्म अनुसार देशभर पार्टीका संगठनात्मक कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालिएको नेता भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए । भेलाले अदालत र निर्वाचन आयोगलाई समेत संविधान र कानुनअनुसार चल्न आग्रह गरेको छ । राष्ट्रिय स्वाधिनता र लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेकाहरूसँग सहकार्य गर्दै अघि बढ्न भेलाले आग्रह गर्दै केपी अ‍ोलीले गुटबन्दीका विरुद्ध लड्न एमालेका नेता कार्यकर्ताहरूलाई आग्रह पनि गरेको छ ।

त्यस्तै, ओली पक्षबाट पार्टीका नेता कार्यकर्तालाई धम्क्याउने प्रयास भएकोमा त्यसको भर्त्सना गर्दै नेकपाले स्थापनाकालदेखि नै राष्ट्रिय स्वाधिनताको पक्षमा रहेको भन्दै नेपालको भौगोलिक अखण्डतामा आँच आउन नदिन सरोकारवालाको ध्यानाकर्षण गराएको छ । भेलामा ४ हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी भएको प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिएका थिए ।

नेता कार्यकर्तालाई माधव नेपालको निर्देशनः ओली प्रवृत्ति र विचारको भण्डाफोर गर्नुस्
नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र उनको विचारको भण्डाफोर गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । कार्यकर्ता भेलाको अन्तिम दिन नेता नेपाले पार्टीमा ओलीले धेरै भ्रम सिर्जना गरेको भन्दै नेता कार्यकर्ता लडाउन र भिडाउने काम हुन सक्ने भएकाले सोही अनुसार सचेत हुन पनि आग्रह गरेका छन् । ‘लडाउने भिडाउने काम हुनसक्छ तपाईहरु सबै हिसाबले तयार रहनुहोला’,

नेता नेपालको भनाइ छ । उनले कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू अझैपनि कम्युनिस्ट आन्दोलनप्रति कटिबद्ध रहेको भन्दै ती नेताहरू आज पनि एकताकै पक्षमा रहेको बताए । केपी ओलीको गलत प्रवृत्तिविरुद्ध पुराना नेताहरुले समेत साथ दिन तयार रहेको भन्दै नेपालले भेलामा पेश गरेको दस्तावेजका आधारमा अघि बढिने बताए । उनले केपी ओलीले बालुवाटारमा संसदीय दलको बैठक बोलाएपछि केही सांसदहरुलाई खबर गर्न नपाउँदा उनीहरु गएको चित्त दुखेको हुनसक्ने बताए ।

‘तपाईहरु दुःख नमान्नुहोला । चियापान कार्यक्रममा पुग्नुभएछ खबर नहुँदा । गएका साथीहरूलाई बालुवाटार अपमान भएछ । ओलीजीको गुटको मानसिकता एकदम गलत छ । वैचारिक विचलन संगठनका ध्वस्त गर्ने आन्दोलन नै सखाप पार्ने मनस्थिति देखिएको छ । अब हामीले वैचारिक रूपमा नै अगाडि बढ्नुपर्ने अवस्था आएको छ’ नेता नेपालको भनाइ छ ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार