• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

न्याय माग्दै इटहरीका विद्यार्थी सडकमा


इटहरी : ६ महिना पढाएर एक वर्षको शुल्क लिए को भन्दै इटहरी का निजी कलेज का विद्यार्थी हरु सडक मा उत्रिएका छन्। कोरोनाका कारण ढिलो गरी पढाइ सुरु भएपनि शैक्षिक संस्थाले भने वर्षभरीकै शुल्क मागेपछि विद्यार्थीहरुले आन्दोलन थालेका हुन्।उनीहरुले एक

सातादेखि दैनिक जसो इटहरीको सडकमा उत्रिएर ‘वि वान्ट जस्टिस’ भन्दै नारा लगाउन थालेका छन्।शुक्रबार पनि उनीहरुले इटहरीका सबै ठूला निजी क्याम्पसमा गएर नारा लगाउँदै प्रदर्शन गरेका छन्। ठूलो संख्यामा सडकमा उत्रिएका विद्यार्थीहरुले इटहरी चोक केही समय जामसमेत गरेका छन् भने इटहरी उपमहानगरपालिका कार्यालयसमेत घेराउ गरे।कक्षा १२ को परीक्षा जेठमा तय भएपछि विद्यार्थीसँग उच्च माविहरुले शुल्क मागेका थिए। पढेको महिनाभन्दा बढी समयको शुल्क दिन नसक्ने बताउँदा बेवास्ता गरिएको गुनासो विश्व आदर्श कलेजका विद्यार्थी सविन दाहालले गरे। ‘कोरोना महामारीको असर स्कुल, कलेजलाई मात्र होइन, सबै विद्यार्थी र अभिभावकलाई पनि हो,’ उनले भने, ‘हाम्रो परिवारलाई पनि उस्तै असर पारेको छ, कसरी तिर्नु शुल्क ?’

कस्तुरी कलेजकी निमा तामाङले बुवा आमालाईसमेत प्रेसर दिइएको बताइन्। एकै पटक ठूलो रकम शुल्क तिर्न सक्ने हैसियत आफूहरुको नभएको उनले बताइन्। ‘सरकार अनि नगरपालिकाकै आदेश पनि क्याम्पसले नमानेर जबरजस्ती पैसा उठाउन खोजेको छ,’ उनले भनिन्।उता कोशी कलेजकी एक विद्यार्थीले क्याम्पसले शुल्क तिर्न भन्दै मानसिक यातना दिएको बताइन्। ‘अनलाइन कक्षामा सहभागी नभएका विद्यार्थीसँग पनि शुल्क मागियो,

कसरी तिर्नु ?’ विद्यार्थीहरु गुनासो लिएर इटहरी उपमहानगरपालिका पनि पुगेका थिए। उपमहानगरपालिकाले भने बिहीबार छलफलको लागि पहल गरेको थियो। तर छलफलमा कुनै सहमति हुन नसकेको बताइएको छ। विद्यार्थीहरु स्वतस्फूर्त सडकमा निस्केर सुरु भएको आन्दोलनमा यहाँका विद्यार्थी सङ्गठनहरूले पछि समर्थन जनाएका छन्। मुख्य तीन विद्यार्थी संगठनहरुले विद्यार्थीका माग पुरा गर्न माग गरेका छन्। विद्यार्थीका जायज माग तत्काल पुरा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। इटहरीका निजी क्याम्पसहरुले पूरा शुल्क उठाउन खोजेपनि सो अवधिमा पढाएका शिक्षकहरुले भने पुरा तलब नदिएको गुनासो गरेका छन्

यता निजी क्याम्पसहरुले भने लकडाउनको समयदेखि नै आर्थिक संकट भोगिरहेकोले बाध्यता रहेको बताएका छन्।क्याम्पसहरुको छाता संगठन हिसान सुनसरीले लकडाउनको समयमा भर्चुअल विधिबाट पढाएको र त्यस समयको समेत शिक्षक कर्मचारीको तलब दिएको भन्दै शुल्क लिन पाउनुपर्ने जिकिर गरेको छ। उसले विद्यार्थी आन्दोलनको कुनै औचित्य नभएको जनाएको छ।

हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरेले शैक्षिक क्यालेण्डर पूरा गरेकोले शुल्क उठाउन पाउनुपर्ने बताए। उनले कक्षा ११ को भर्ना शुल्क आधा छुट गरिएको जानकारी दिँदै अहिले विवाद भइरहेको कक्षा १२ को शुल्कमा पनि समिति बनाएर समाधान गर्न सकिने बताए। उनले सो विषयमा छलफल गर्ने बताएका छन्।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार