• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

बरु बाबुराम र उपेन्द्र छोड्न तयार तर ओलीलाइ कुनै हालतमा नछोड्ने ठाकुर र महतोको निष्कर्ष


काठमाडौं । सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी ( जसपा )ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ। एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा भने अनिर्णित छ । जसपा अध्यक्ष महन्थ ठाकुर

र वरिष्ठ नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने पक्षमा छन् । तर, जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली इतरको सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेको जसपा स्रोतले जनाएको छ । जसपामा दुई पक्षको फरक फरक अडानका कारण उसले कुनै निर्णय लिन नसकेको हो ।हाल जसपाभित्र ठाकुर र महतो समूह बलियो अवस्थामा छ । ठाकुर र महतोको पक्षमा ३४ मध्ये २४ सांसद रहेका छन् । सोही कारण पार्टीमा ठाकुर र महतो समूहको प्रस्ताव पारित हुने भएकाले भट्टराई र यादव समूह अल्पमतमा पर्नेछन् ।

जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुटा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकता विधेयक ल्याउनुपर्नेलगायतका माग गर्दै आइरहेको छ ।तत्काल रेशम चौधरीलाई रिहा गरेपछि सरकारमा जानेबारेमा पार्टीले निर्णय गर्ने बताइएको छ । तर, जसपा कार्यकारिणी समितिका सदस्य राजकिशोर यादवले रेशम चौधरी सरकारको लेनदेनको विषय बनाउन नहुने बताए । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चौधरी रिहाइको कुरा गर्दा सरकारमा लेनदेनको विषय बनाइनु गलत भएको बताए ।

उनले सीके राउत र नेत्रविक्रम चन्द विप्लवसँगजस्तै थरूहट आन्दोलनका आन्दोलनकारीसँग पनि राजनीतिक व्यवहार गर्न माग गरे । ‘रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन । त्यो सर्तको रूपमा बुझ्नुहुँदैन । नत्र त्यो राजनीतिक बेइमानी हुन्छ । त्यो राष्ट्रिय समस्या हो, सोहीअनुसार समाधान खोजिनुपर्छ,’ उनले भने ।सत्ता समीकरणमा निर्णायक बनेको जसपाभित्र मतभेद चर्किदो अवस्थामा छ । पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दासमेत विवादकै कारण जसपाले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकका साथै पार्टी एकताका बाँकी काम अझै टुंगो लगाउन सकेको छैन ।

डा. भट्टराई र यादव समूह ओली सरकारलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने अडानमा रहेका छन् । तर, ठाकुर र महतो समूह पार्टीले उठाउँदै आएको माग सम्बोधन हुने अवस्था आएमा ओली सरकारलाई नै समर्थन गर्नुपर्ने अडानमा रहेका छन् । डा. भट्टराई र यादव समूहलाई जानकारी नै नदिई ठाकुर र महतो समूहले एमालेसँग सत्ता सहकार्यका लागि वार्ता समिति बनाइसकेको छ ।

जसपाबाट नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला वार्ता टोलीमा छन् । यस्तै, एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार