• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोध्ने र आत्मालोचना नगरे कारबाही गर्ने निर्णय


काठमाडौं ।प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोधिने बताएका छन् । नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई संकेत गदै उनले भेलाका अगुवा लाई स्पष्टीकरण सोध्ने र आत्मालोचना नगरे कारबाही गर्नेसमेत

चेतावनी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेपाल समूहले प्रतिक्रियावादी तत्वसँग साँठगाँठ गरी गुटको भेला गरेर कम्युनिष्ट आन्दोलनलाई कलंकित बनाउन खोजेको आरोप लगाए ।‘नेतृत्वलाई खुइलाउने, सरकार पार्टीको बदनाम गराउने नियतले भएको उक्त भेला मैले र महासचिवले नगर्न निर्देश गर्दागर्दै गरेकाले त्यसको निन्दा गर्दछौं,’ उनले भने, ‘निर्लज्जापूर्वक कम्युनिस्ट अन्दोलनकै इतिहासमा कलंकको रुपमा चिनिएको भेला आयोजना गर्ने अगुवालाई स्पष्टीकरण सोधिनेछ । आत्मालोचना गरेर आए सोच्न सकिनेछ नत्र कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’ प्रधानमन्त्री ओलीले सरकारले संसदलाई बिजनेस दिएन भन्ने कुरा गलत भएको दाबी गरे । उनले आफ्नोे राजीनामा माग्नेहरुले संसदमा अविश्वास प्रस्ताव ल्याए हुने बताए । ‘राजीनामा माग्नेहरुलाई म मन नपरेको हो भने अविश्वासको प्रस्ताव ल्याए हुन्छ । तर सरकारविरुद्ध त्यो आउने स्थिति देखिँदैन ।

ओलीले बोलाएको संसदीय दलको बैठकमा पुगे बामदेव गौतम, माधव र झलनाथ अनुपस्थित
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा उपाध्यक्ष बामदेव गौतम पुगे पनि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने अनुपस्थित रहेका छन् ।प्रधानमन्त्री ओलीको प्रवृत्तिविरुद्ध पटक पटक आवाज उठाउदै आएका र दुई समूहमा विभाजित भएको एमालेलाई एक ढिका बनाउन लागिपरेका गौतम सुवास नेम्वाङसँग आसिन छन् । बीचमा प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओली र छेउमा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेका छन् ।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता ओली आह्वानमा शनिवार बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाइएको थियो । बैठकमा संसदीय दलको विधान संशोधनका लागि विशाल भट्टराईको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुने र पारित गर्ने तयारी रहेको छ । बिहीबारको बैठकले भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल सदस्य रहेको कार्यदल गठन गरिसकेको छ । यस्तै, बिहीबारको बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा नेपाल र खनालसहित २४ जना सदस्य रहेको संसदीय बोर्ड गठन पनि गरिएको छ ।

नेपाल–खनाल समूहले सिंहदरवारस्थित संसदीय दलको कार्यालय वा संसद भवन बानेश्वरको कुनै हलमा बैठक राखेको अवस्थामा भने उपस्थित हुने मनसाय प्रकट गरेको जनाइएको छ । तर, प्रधानमन्त्रीले हैकमी शैलीमा बालुवाटारमा पार्टीको बैठक आयोजना गरेपछि अनुपस्थित रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार