• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

पानी र चर्पी प्रयोगको समेत शुल्क असुल्दै छन् बिद्यालय


रुकुम पश्चिम – सरकारले निःशुल्क शिक्षा लागू गरेको सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले चक, मार्कर, पिउने पानी, चर्पी प्रयोगसमेतको शुल्क तिर्नुपर्ने व्यवस्था सुन्दा यहाँलाई विश्वास नलाग्न सक्छ । तर रुकुम पश्चिमको एक सरकारी विद्यालयले विद्यार्थीबाट नियमित यस्तै

शुल्क असुल्दै आएको पाइएको छ । बाँफिकोट गाउँपालिका २ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयले विद्यार्थीबाट यस्तै विभिन्न शीर्षक राखेर पैसा असुल्दै आएको तथ्य खुलेको छ । यस विद्यालयमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले भर्ना शुल्क, अध्ययन शुल्क मात्र नभइ आफूले कक्षामा पढ्दा शिक्षकले पढाउने गरेको चक, मार्करको शुल्क तिर्न बाध्य भएको बताए । उनले आफू अध्ययनरत विद्यालयमा रहेको शौचालय प्रयोग गर्दा र विद्यालयमा पढ्न जाँदा पिउने गरेको पानीको समेत पैसा तिरेको बताएका हुन् । विद्यालयले दिएको नगदी रसिदबाट समेत ती शुल्कको पुष्टि भएको छ । प्राप्त विवरणअनुसार यस विद्यालयले कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीबाट चक, मार्कर शुल्क भनेर एक सय ५० रुपैयाँ लिने गरेको छ भने शौचालय तथा खानेपानी शुल्क भनेर २५ रुपैयाँ लिने गरेको छ । सरकारले हरेक सरकारी विद्यालयमा माध्यमिक तहसम्मको पढाइ निःशुल्क घोषणा गरेको छ । तर यस विद्यालयले भने भर्ना शुल्क एक हजार, मासिक शुल्क तीन हजार, आवेदन फाराम शुल्क सात सय रुपैयाँ लिने गरेको छ ।

यसैगरी कक्षा १२ कै एक विद्यार्थीबाट अभ्यास शिक्षण शुल्क दुई सय, अभिभावक शुल्क तीन सय, शिक्षण विधि शुल्क एक सय र परीक्षा केन्द्र शुल्क एक सय ५० लिएको पाइएको छ ।विभिन्न विद्यालयले व्यवस्थापन समितिको निर्णयअनुसार अभिभावक शुल्क तथा सामान्य शुल्क दिने गरे पनि यस विद्यालयले लिने गरेको यो शुल्क सुन्दा नै अचम्म लाग्ने विद्यार्थी नेताले बताएका छन् । विद्यार्थी नेता तुल देवकोटाले यस खालको प्रवृत्ति असह्य हुने बताउनुभयो । उहाँले चर्को शुल्क लिएर विद्यार्थीको ढाड सेक्ने काम विद्यालयले गरेको जनाउनुभयो । अर्का विद्यार्थी नेता हुकुम बिसीले सरकारले निःशुल्क शिक्षाको घोषणा गरेर कार्यान्वयन भइरहेका बेला यस विद्यालयले भने चर्को शुल्क लिएर विद्यार्थीले सहजै र सरल रुपले शिक्षा आर्जन गर्न पाउने अधिकार हनन गरेको उल्लेख गर्नुभयो । उहाँले यस खालका कार्यविरुद्ध लागिपर्ने बताउनुभयो ।

आठ वर्ष पहिलेदेखि नै शुल्क लिने गरेका छौँ : प्रधानाध्यापक
यस विषयमा जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक झुपिलाल पौडेलेले शुल्क लिने गरेको स्वीकार गर्नुभयो । ‘यो शुल्क त हामीले आठ वर्ष पहिलेदेखि नै लिने गरेका छौँ’, प्रधानाध्यापक पौडेलले भन्नुभयो, ‘कक्षा ११ र १२ मा दरबन्दीको शिक्षक हुनुहुन्न, विद्यालय चलाउन व्यवस्थापन समितिको निर्णयअनुसार शुल्क लिने गरेका हौँ ।’ यो शुल्क निर्धारण गरेर अभिभावक,

तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट अनुमोदनसमेत गरिएको उहाँको भनाइ छ ।

विद्यालयमा खानेपानी व्यवस्थापन र शौचालय सरसफाइका लागि चौकीदार राखिएको र उनीहरुको तलबको लागि विद्यार्थीबाट शुल्क लिइएको प्रधानाध्यापक पौडेलको भनाइ छ । रुकुम पश्चिमका अन्य विद्यालयले समेत विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क लिने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले विद्यालय सञ्चालनका लागि व्यवस्थापनको उपाय स्वरुप शुल्क निर्धारण गरिएको र विद्यार्थीको गुनासो आएमा संशोधन गर्न सकिने समेत बताउनुभयो ।

बाँफिकोट गाउँपालिकाअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ज्ञानबहादुर खड्काले शौचालय, पिउने पानीको शुल्क लिनु अमान्य हुने बताउनुभयो । ‘नीतिमा शिक्षा निःशुल्क छ, वास्तवमा निःशुल्क हुन सकिरहेको छैन ।’ उहाँले विद्यालय व्यवस्थापनका लागि भर्ना शुल्क, मासिक शुल्क व्यवस्थापन समितिको निर्णयअनुसार लिने गरिएको भए पनि मार्कर, चक, पानी, चर्पी प्रयोगको शुल्क विद्यार्थीबाट असुल गर्नु लज्जास्पद रहेको जनाउनुभयो ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार