• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

भागरथीको प्रकरणमा नयाँ ट्वीस्ट


बैतडीको दोगडाकेदार गाउँपालि का–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको ब’ला’त्कार र ह’त्या’मा अभियुक्त का बुवाले विवादास्पद बयान दिएका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगर मा पत्रकार सम्मेलन गर्दै अभियुक्त दिनेश भट्टका बुवाले छोरालाई जबरजस्ती

हत्या स्वीकार गर्न लगाइएको र आफ्नो छोरा निर्दोष भएको बताएका हुन् ।दिनेशका बुवाले आफ्नो छोरा निर्दोष भएको मात्रै दाबी गरेका छैनन्, घटनामा स्थानीय वडा नम्बर–७ मै काम गर्ने वडाका कर्मचारीको संलग्नता रहेको विवादास्पद बयान समेत दिएका छन् । आइतबार अपरान्ह उनले पत्रकार सम्मेलन गर्दै आफ्नो छोरालाई स्थानीय वडाका कर्मचारीले धम्की दिएर हत्या स्वीकार गर्न लगाएको विवादास्पद बयान दिएका हुन् । उनले भनेका छन्, ‘मेरो छोरा निर्दोष छ । उसलाई स्थानीय वडाका कर्मचारीले घाँटीमा चक्कु राखेर आफू र बुवालाई समेत मारिदिने धम्की दिएको र अपराध स्वीकार गर्न भनेकाले डरले उसले अपराध मैले गरेको हो भनेको रहेछ ।

तर सुधार केन्द्रमा ल्याइसकेपछि उसले ३ जना बडीगार्ड (प्रहरी कर्मचारी)का सामुन्ने घटनामा आफ्नो संलग्नता नभएको बताएको छ ।’अभियुक्तका बुवाले घटनामा अर्कै व्यक्तिको संलग्नता भएको दाबी गरेपनि न दिनेशलाई धम्काएको कुरा पुष्टी गर्न सकेका छन्, न आफ्नो छोरा निर्दोष भएको कुनै आधार नै पेश गरेका छन् । आफ्नो छोरालाई धम्काएको कल रेकर्डसमेत भएको दाबी गरेपनि पत्रकारले सुनौँ न त भन्दा अहिले सुनाउन नमिल्ने बताए ।‘ती व्यक्ति को हुन् त ?’ भनेर पत्रकारले बारम्बार प्रश्न गरेपनि आफ्नो सुरक्षाको ग्यारेन्टी भएपछि मात्रै उक्त व्यक्तिबारे बोल्ने बताए । यद्यपि उनले पटकपटक स्थानीय वडाकै कर्मचारी हो भन्न चाहिँ छुटाएनन् ।

प्रहरी अनुसन्धानमा सन्तुष्ट छु : भागरथीका काका शिवराज भट्ट
भागरथी भट्टको बलात्कार हत्या प्रकरणमा अभियुक्तका बुवाले विवादास्पद बयान दिएपनि मृतकका काका शिवराज भट्ट भने प्रहरीको अनुसन्धानमा पूर्ण सन्तुष्ट रहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले हेर्ने भनेको प्रहरीको अनुसन्धान नै हो । प्रहरीको अनुसन्धानमा अहिलेको अभियुक्त मात्रै देखिएका छन् । तथ्य र प्रमाणले पनि घटनामा हालको अभियुक्तको संलग्नतालाई पुष्टी गरिसकेकै छ । त्यसकारण कसले के भन्छन् भन्ने कुरामा म जादिनँ ।’‘तर अर्को व्यक्तिको संलग्नताको कुरा गरेको र घाँटीमा चक्कु राखेर अपराध स्वीकार गर्न भनेकाले गरेको भन्ने नयाँ बयान आएको छ नि त ?’ भन्ने प्रश्नमा उनले ‘त्यसो भए थप को–को संलग्न छन् त्यसबारे पनि अनुसन्धान हुनुपर्ने’ बताए ।

प्रहरी​ स्रोत भन्छ : प्राविधिक परीक्षणबाट पनि पुष्टी भइसक्यो
भागरथीको बलात्कार र हत्या प्रकरणमा नयाँ ट्वीस्ट र विवादास्पद टिप्पणी आएपछि रातोपाटीले ‘घटनाबारे के भएको हो ?’ भनेर प्रश्न गर्दा प्रहरी अधिकारीहरुले त्यसलाई ‘सामान्य आत्मसन्तुष्टि मात्रै हो’ भन्ने जवाफ दिएका छन् । ती अधिकारीले भने, ‘परिवारका सदस्यले छोरालाई जोगाउन खोज्नुलाई अन्यथा भन्न मिल्दैन । किनभने परिवारमा केही गर्न सक्ने व्यक्ति ऊ मात्रै थियो । तर ऊ पनि अपराधमा मुछिएपछि परिवारमा परेको चोटलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसबाहेक केही व्यक्ति वा समूह ती परिवारलाई उचालेर राजनीतिक र सामाजिक लाभ लिन खोज्ने पनि हुनसक्छन् । त्यसकारण त्यसलाई सामान्य ढङ्गले बुझ्नुपर्छ । तर यो विषय अदालतमा पुगिसकेको कारण मैले थप केही बताउन मिल्दैन ।’

अदालतमा विचाराधीन विषय भएपनि प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठ्यो नि त भन्ने प्रश्नमा ती अधिकारीले भने, ‘बाहिर कसले के के कुरा भन्छन् भनेर सबै कुराको सम्बोधन गर्न सकिँदैन । तर के बुझ्नुहोस् भने अभियुक्तको बयान, घटनास्थल मुचुल्का, पक्राउपछि अभियुक्तकै बयानका आधारमा भेटिएका घडी लगायतका सामानहरूले घटना उसको संलग्नताबारे पुष्टी गरिसकेको छ । पछि त प्राविधिक परीक्षणमा पनि निजको संलग्नताको पुष्टी भइसकेको छ ।’

प्रहरी स्रोतले ‘प्राविधिक परीक्षण’ भनेर के कुरालाई भन्न खोजेको स्पष्ट नभएपनि पछि गरिएको प्राविधिक परीक्षण भन्नाले भेजाइनल स्वाब र डिएनए प्रोफाइलिङको विषय हुन सक्छ । प्रहरीले सुरुवातमै भागरथीको भेजाइनल स्वाबको नमुना परीक्षणका लागि पठाएको थियो भने पछि अभियुक्तको डिएनए स्याम्पल पनि परीक्षणका लागि पठाएको थियो ।

अभियुक्त यतिबेला दिपायलस्थित बाल सुधार गृहमा छन् । अभियुक्तले आफ्नै बुवाको अगाडि जिल्ला न्यायाधीशसमक्ष गरेको बयानमा पनि बलात्कार र हत्या गरेको स्वीकार गरेका थिए । यो मुद्दा अहिले जिल्ला अदालत बैतडीमा विचाराधीन अवस्थामै रहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार