• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

घनश्याम भुसाललाई प्रश्न पुष्पकमल दाहालको मतियार हुनुको कारण के हो ?


माधव नेपालसहित ४ नेतालाई एमालेले स्पष्टीकरण सोधेको छ। एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्। स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको समेत उनले बताए।

पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको हो। शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए। फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा गएको थिएन।
हेर्नुस् एमाले महासचिव पोखरेलले भुसाललाई पठाएको स्पष्टीकरण पत्र:
श्री घनश्याम भुसाल, सदस्य, दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालय

तपाईं, घनश्याम भुसालले हामो पार्टी विधानविपरीत पार्टी तथा पार्टी नेतृत्वको सरकारविरूद्ध देहाय बमोजिमका क्रियाकलापहरूमा नेतृत्व र अगुवाई के कति कारणले गर्नु भएको हो ?

१. तपाईंले साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरूद्धमा ‘१९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रूतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हितविपरीत कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?

२. पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरूपयोग गरी मिति २०७७ चैत ४ र ५ गते कथित राष्ट्रिय भेला गर्न अग्रसरता लिएको, पार्टी कमिटी तथा भातृसंगठनहरूको कथित विभिन्न भेलाहरू गरी समानान्तर संगठन निर्माण गर्दै पार्टी फुटाउने काममा अगुवाइ किन गर्नुभएको हो ?

३. सम्मानीत सर्वोच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीका दशौं, एघारौं र बाहौं बैठक र संसदीय दलका बैठकहरूमा समेत उपस्थित हुनुको साटो पार्टीको विधान र निर्देशनविपरीत पार्टी र जनसंगठनहरूको नाम, झण्डा र चिन्हको दुरूपयोग गरी गराई कथित राष्ट्रिय कार्यक्रम र भेला तथा विभिन्न नामका कथित भेलाहरू आयोजना गर्न अग्रसरता गरी पार्टी एकता विरोधी प्रस्ताव प्रस्तुत एवम् पारित गर्नु र गराउनुको कारण के हो?

माथि उल्लेखित क्रियाकलापहरूका साथै तपाईंले पार्टी हितविपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको पार्टी विधान तथा निर्णयविपरीत गुटबन्धी तथा षडयन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको, पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्यूत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरू सञ्चालन गरे/ गराएको, पार्टी कमिटीको गोपनीयता भंग गरे गराएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे/गराएको, केन्द्रीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्यहरू निरन्तर गरिरहेको/ गराइरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरूमा पार्टीका जिम्मेवार व्यक्तिहरूलाई सम्मिलित गराएको/उक्साएको,

अवान्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहीतविपरीत काम गरे/गराएको, पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरूले पालना गर्नुपर्ने भनि उल्लेखित कर्तव्यको उल्लंघन गरे/गराएको समेत प्रष्ट देखिएकोले यस्तो क्रियाकलाप निरन्तर गरी/गराई पार्टी हित विपरित, पार्टीको एकता, अक्षुण्णता र अग्रगामी कार्यको विरूद्ध पार्टीले राष्ट्रहीत तथा जनहीतका लागि गरिरहेको र गर्नुपर्ने कार्यलाई रोक्ने र पार्टी जीवन तथा समग्र पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरू गरे/गराएको देखिएकोले त्यस्ता विभिन्न क्रियाकलापहरू के कति कारणले निरन्तर गर्नु गराउनु भएको हो ?

मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाहौं बैठकको निर्णय बमोजिम माथि उल्लेखित विषयहरूमा तपाईंले पार्टी विधानको ४९ (क) को १, २, ३, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकोले तपाईंलाई पार्टी विधान बमोजिम कारबाही किन नगर्ने ? यस सम्बन्धमा माथि उल्लेखित सबै विषयहरूमा स्पष्ट पार्न तपाईंलाई तीन दिनको समय दिइएको छ। तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारबाही हुने व्यहोरा अवगत गराइन्छ ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार