• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव नेपाललाई एमालेको प्रश्न, ‘प्रचण्डको मतियार बनेर ओलीविरुद्ध खनिने तपाईँलाई कारबाही किन नगर्ने ?’


काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीका चार नेतालाई १० बुँदे स्पष्टीकरण पत्र पठाएको छ । शनिवारको केन्द्रीय कमिटीको निर्देशनअनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई घरमै पुगेर स्पष्टीकरण पत्र

दिइएको र तीन दिनभित्र पार्टी कार्यालयमा आइपुग्ने गरी जवाफ पेस गर्न भनिएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।
स्पष्टीकरण पत्रमा प्रधानमन्त्री ओलीलाई प्रचण्डसँग मिलेर १९ पृष्ठ लामो शत्रुतापूर्ण र अराजक आरोप लगाएको र प्रचण्डको मतियार बनेर किन पार्टीविरुद्ध लागेको भनेर सोधिएको छ । यस्तै सडक तथा अनधिकृत स्थलमा बसेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय किन गरेको, पार्टी विधान विपरीत किन पटक–पटक निवेदन पेस गरेको, पार्टीको निर्देशन विपरीत चैत ४ र ५ गते किन गुटको राष्ट्रिय भेला राखेको भनेर पनि सोधिएको छ ।

यस्तै ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारको विरुद्धमा सडकबाट र सञ्चारमाध्यमबाट किन आवाज उठाएको, आफ्नै पार्टीका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाएर अरू दलका नेतालाई प्रधानमन्त्री बनाउन षड्यन्त्र गर्नुको कारण के हो र यस्ता गतिविधि गर्ने तपाईँलाई कारबाही किन नगर्नेलगायतका स्पष्टीकरण सोधिएको छ । तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ पेस नगरेमा पार्टीको विधानअनुसार कारबाही हुने पनि पत्रमा उल्लेख छ ।

ओलीलाई लिखित जवाफ दिने माधव नेपाल पक्षको निर्णय
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षले निर्णय गरेको छ । ललितपुरमा सोमबार सम्पन्न माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्षमा सो समूह पुगेको हो ।

गत चैत ७ गते बालुवाटारमा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार