• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

माधव नेपाल र भीम रावल कारवाहीको भागीदार : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाही गर्ने संकेत गरेका छन् । शुक्रबार संसदीय दलको बैठकमा दलका नेता समेत रहेका ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएका हुन्।

यो कारबाहीको योग्य रहेको बताएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । बैठकमा ओलीले २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुनेसमेत बताएका छन् । नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण कारवाहीको भागीदार रहेको बताएका छन्। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संंसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। स्पष्टीकरण सोधिएका चार नेतामध्ये दुईजनाको स्पष्टीकरण आएको र त्यो नकारात्मक र कारवाहीको भागीदार भएको ओलीले बताएका हुन्। उनले अन्य दुई नेताको स्पष्टीकरण आउन बाँकी रहेकाले त्यो सकारात्मक ढंगले आउने र त्यसले पार्टीलाई एकताबद्ध बनाउने विश्वाससमेत व्यक्त गरेका छन्। वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलले स्पष्टीकरण दिए पनि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले स्पष्टीकरण दिएका छैनन्।

दुवैजनाको स्पष्टीकरण कारवाहीको भागीदार भए पनि के कारवाही हुन्छ भन्ने कुरा ओलीले बताएका छैनन्। कारवाहीको निर्णय केन्द्रीय कमिटीबाट हुने उनको भनाइ छ। चारजनामध्ये दुई जनाको स्पष्टीकरण आएको छ। त्यो स्पष्टीकरण अत्यन्त नकारात्मक छ। त्यो कारवाहीको भागीदार छ। प्रधानमन्त्रीको शब्द त्यही हो’, सचेतक भट्टराईले भने, ‘बाँकी दुई जनाको सकारात्मक कोणबाट आउने अपेक्षा गरेको र त्यसले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नु भएको छ।’ बैठकमा बोल्दै नेपाल समूहका सांसद् एवम् वरिष्ठ नेता झलनाथ खनाल, सांसद घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टले प्रधानमन्त्रीले पार्टी एकताबद्ध बनाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको भन्दै २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढ्नुपर्नेमा जोड दिए।

बैठकमा सबैका गुनासा र आलोचना सुन्ने तर गुटगत आधारमा आउने कुरा स्वीकार्य नहुने भन्दै ओलीले कुनै पनि निर्णयबाट पछाडि नहट्न नसक्ने बताएको भट्टराईको भनाइ छ। ‘केही साथी अनुपस्थित भए पनि सबै बैठक विधिसम्वत् भएका छन्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेता भट्टराईले भने, ‘फागुन २८, चैत ५ र ७ गतेका निर्णयबाट पछाडि फर्किन सकिँदैन।’ प्रधानमन्त्री ओलीले विधान संशोधन भइसकेकाले तत्काल परिमार्जन गर्न नसकिने प्रष्ट पारे। उनले आवश्यक पर्दा संशोधन गर्न सकिने भए पनि तत्काल त्यो सम्भव नभएको दाबी गरेका हुन्।

‘विधानलाई केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको अवस्था हो। विधानलाई आवश्यक परे संशोधन गर्न सकिन्छ। तर, अहिले नै परिमार्जन गर्न सक्ने अवस्था छैन’, ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने। सँगै ओलीले गुटगत ढंगले कसैसँग डिल नगर्ने प्रष्ट पारे। व्यक्तिगत रुपमा गुनासा र आलोचना सुन्ने तर गुटगट ढंगले आएका विषयको सुनुवाइ नहुने ओलीको भनाइ छ।

‘हाम्रो पार्टीमा समूहगत र गुटगत हिसाबमा डिल कसैसँग पनि गर्दैनौँ’, ओलीको भनाइ पत्रकारलाई सुनाउँदै भट्टराईले भने, ‘व्यक्तिगत रुपमा आलोचना र गुुनासा सुन्न तयार छौँ। त्यसका लागि सचेतक, उपनेता र दलको नेतालाई भन्नुहोस्। तर, गुटगत हिसाबले छलफल र कुराकानी नहुने जानकारी गराउनु भएको छ।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार