• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

घनश्याम र सुरेन्द्रले पाए माफी : नेपाल र रावलाई कारबाही


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले बुझाएको स्पष्टिकरण कारवाहीको भागिदार योग्य भएको बताएका छन्। बालुवाटारमा सम्पन्न संसदीय दलको बैठकमा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलको जवाफ कारवाहीको भागिदार

योग्य भएको बताएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘कारवाहीको भागिदार हुन्छ भन्नुभएको छ। तर कुन प्रकृतिको हुन्छ भन्ने केन्द्रीय कमिटीको बैठकमा थाहा होला,’ भट्टराईले भने।फागुन २३ को अदालतको फैसलापछि केही सांसदहरु अनुपस्थित भएको बेलामा आज सहभागी हुनु सकारात्मक भएको भट्टराईले बताए।बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणको बारेमा सांसदहरुको सुझाव माग गरेका थिए। ‘सांसदहरुले आफ्ना क्षेत्रका योजनाबारे जानकारी गराउनु भयो। अर्थमन्त्रीले मन्त्रालयमा सुझाव दिन अनुरोध गर्नुभएको छ, ‘ भट्टराईले भने।नेपाल समूहका नेता घनश्याम भुसाल र योगेश भट्टराईले ओलीले नै एकताको प्रयास गर्नुपर्ने धारणा राखेका थिए। नेपाल समूहले २८ गतेका निर्णय फिर्ता लिनुपर्ने माग गरे पनि ओलीले भने निर्णय फिर्ता हुनै नसक्ने अडान राखेका थिए।

‘प्रधानमन्त्रीले २८ गतेको निर्णयहरु र त्यसपछिको ५ र ७ गतेको संसदीय दलको निर्णयबाट ब्याक हुन सकिँदैन। विधिसम्मत भएकोले ब्याक गर्न मिल्दैन भन्नुभयो,’ भट्टराईले भने।तर, संसदीय दलको विधान भने संशोधन गर्न सकिने ओलीको धारणा थियो।ब्यक्तिगत रुपमा आएका गुनोसोबारे छलफल गर्न सकिने भए पनि गुटगत गुनासोबारे भने छलफल नहुने ओलीले बताएका थिए।

‘समूहगत तरिकाले गुटगत तरिकाले कसैसँग डिल गर्दैन। हरेक ब्यक्तिका गुनासा सुन्न हामी तयार छौं। तर गुटगत हिसावले छलफल र कुराकानी हुँदैन भन्नुभयो,’ भट्टराईले भने।आजको बैठकमा नेपाल समूह पनि सहभागी भइसकेकाले अब पार्टीमा विवाद नरहेको ओली समूहको दाबी छ। ‘साविक नेकपा एमालेमा पनि विवाद थियो। त्यो नेकपामा पनि सर्‍यो। तर आजबाट विवाद हट्यो। पार्टीका महत्वपूर्ण नेताहरु सहभागी हुनुभएको छ,’ उनले भने।

नेपाल समूहका नेताले आफूलाई पनि बैठकमा सहभागी हुने वातावरण बनाउनुपर्ने बताएपछि जवाफमा ओलीले सबैलाई बैठकमा भाग लिने अवसर हुने बताए।
तर गुटगत गतिविधिमा भने रोक लगाइने ओलीको धारणा थियो। भट्टराईले नेकपा एमालेमा विभाजनको आशंका अन्त्य भएको बताए। तर, एकाध ब्यक्तिहरु यता उता हुने कुरा सामान्य भएको भट्टराईको भनाइ छ।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार