काठमाडौं ।नयाँ सरकार गठन वा मध्यावधि निर्वाचन कुन कोर्समा राजनीति जान्छ भन्ने एकाध दिनमा टुंगो लाग्ने नेताहरुले बताएका छन् । उनीहरुकाअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन सरकारको नेतृत्व लिन अग्रसर भए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध
अविश्वासको प्रस्ताव दर्ता हुनेछ । नभए माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ ।नेताहरुका अनुसार कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन पनि नबन्ने र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत पनि नपाउने अवस्था बन्यो भने भने मुलुक फेरि मध्यावधि चुनावतिर जानेछ । किनकी संविधानको धारा १०० उपधारा (२) अनुसार विश्वासको मत लिन संसदमा जाँदा बहुमत प्राप्त गर्न सकेनन् भने प्रधानमन्त्री पदमुक्त हुनेछन् ।
त्यसपछि संविधानको धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता ओलीकै नेतृत्वमा नयाँ सरकार बन्नेछ । यसरी बनेको सरकारले पनि ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । कांग्रेस, माओवादी केन्द्र वा जसपामध्ये कुनै एकले समर्थन नगर्दा विश्वासको मत पाउन सम्भव हुन्न । त्यसपछि सरकार गठनको प्रक्रिया संविधानको ७६(५) मा जान्छ,
जसमा कुनै सांसदले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्राधनमन्त्री नियुक्त गर्ने व्यवस्था छ । पटकपटक संसदमा बहुमत नपुगिसकेको अवस्थामा कुनै एउटा व्यक्तिले बहुमत जुटाउन सम्भावना हुन्न र,
प्रधानमन्त्री नियुक्त हुन नसकेका कारण संविधानका धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा हुन्छ । प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने भएकाले मंसिरमा मध्यावधि हुनसक्ने नेताहरुको दाबी छ ।