• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

माधव समूहको तयारी : पहिले छुट्टै संरचना, अनि एमाले एकता


काठमाडौं । ‘यो पार्टीभित्र अहिले दुई वटा समूह प्रकट हुन थालेका छन् । एउटा क्रान्तिकारी समूह हो । अर्को दक्षिणपन्थी अवसरवादी समूह । समानान्तर काठमाडौं जिल्ला कमिटी घोषणा गर्दै आइतबार नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूह

क्रान्तिकारी भएको दाबी गरे । सँगै, खनालले एकताबद्ध एमाले बनाउन समाजवादी लक्ष्य पूरा गर्ने गरी क्रान्तिकारी संगठन निर्माणलाई तीव्र पारिएको बताए । २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार, ब्युँतिएको एमालेभित्रको दुई खेमा (अध्यक्ष केपी ओली र खनाल–वरिष्ठ नेता माधवकुमार नेपाल) बीच झनै विवाद बढ्दै जाँदा एकअर्का विरुद्ध सार्वजनिक रूपमै आरोप लगाउने सँगै समानान्तर संगठन बढ्दै गएको छ । दुई महिनाभित्रै स्थानीय तहसम्म समानान्तर संगठन बनाउने गरी खनाल–नेपाल समूह सक्रिय बनेको छ । ‘नेताहरू परिचालित भइसकेका छन् । थप व्यवस्थित कार्यविभाजनको गृहकार्य पनि भइरहेको छ’, केन्द्रीय सदस्य ठाकुर गैरे भन्छन् । ‘यो अवस्था उहाँकै (केपी ओली) कारण सिर्जना भएको हो । अदालतको फैसलाअनुसार, पार्टी संरचना र विधानमा जानुभएको भए अहिलेको अवस्था आउने थिएन’, नेपाल निकट एक नेता भन्छन् ।

अखिल नेपाल महिला संघ, युवा संघ नेपाल र अनेरास्ववियुमा समानान्तर नेतृत्व चयन गरिसकेको यो समूहले छुट्टै केन्द्रीय कार्यालय सञ्चालनको तयारी गरेको छ । ‘मुख्यालय कहाँ राख्ने भन्ने खोजी भइरहेको छ । साथीहरू त्यसमा लाग्नुभएको छ’, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे भन्छन् ।यो समूहको युवा संघले छुट्टै कार्यालय सञ्चालनमा ल्याइसकेको छ । ४–५ चैतमा आफ्नो पक्षका राष्ट्रिय कार्यकर्ता भेला राखेर अलग संगठन र गतिविधि गर्ने निर्णय गरेको यो समूहले गण्डकी प्रदेशका सबै जिल्ला, काठमाडौं, धनकुटा, अर्घाखाँची, खोटाङ, भोजपुरलगायत जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ ।अरू जिल्लामा पनि नेतृत्व पुनर्गठन भइरहेको नेपाल समूहका नेता गंगालाल तुलाधर बताउँछन् । ‘केही समयभित्रै सबै ठाउँमा नेतृत्व चयन भइसक्छ । त्यसको जानकारी आइरहेको छ’, उनी भन्छन् ।

वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कार्बाही गरिएको ओलीले पत्र थमाएपछि यो समूह झनै आक्रामक भएर समानान्तर कमिटी बनाइरहेको छ ।यो समूहको दाबी भने ‘एकताबद्ध एमाले र कम्युनिष्ट आन्दोलन बचाउन’ नै अलग पार्टी संरचनाकै अभ्यास गरिएको हो । ‘यो अवस्था उहाँकै (केपी ओली) कारण सिर्जना भएको हो । अदालतको फैसलाअनुसार, पार्टी संरचना र विधानमा जानुभएको भए अहिलेको अवस्था आउने थिएन’, नेपाल निकट एक नेता भन्छन् ।२८ फागुन र ७ चैतमा ओलीले गरेको निर्णयकै कारण समानान्तर संगठन र गतिविधि निर्माणको बाध्यता आइलागेको उनी बताउँछन् । एमालेको ब्यानरसहित पार्टी पुनर्गठन भनिरहे पनि यो समूहको गतिविधिले पार्टी विभाजनलाई नै बल पुग्ने देखिन्छ ।

किनभने, एमालेकै ब्यानर, नाम र झण्डा राखेर केन्द्रदेखि स्थानीय तहसम्म अलग पार्टी संरचना, मनोविज्ञान र निर्णय हुने प्रष्ट छ । तर, यो समूहले यसलाई नै पार्टी एकताको आधार भनेको छ ।‘उहाँ (ओली) ले आफ्ना समूहका नेताहरू मात्रै रहेको संगठनलाई आधिकारिक भन्नुभएको छ । हामीले हाम्रोलाई आधिकारिक भनेका छौं । यो दुई संगठनबीच एकता गरेर सिंगो एमाले बन्ने हो’, एक स्थायी कमिटी सदस्य भन्छन् ।

७ चैतको त्यो निर्णय
समानान्तर गतिविधि गरेकाले सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै ओलीले चार नेतालाई कार्बाही गरेपछि कलह झनै चर्किएर गएको देखिन्छ । तर, एमालेभित्रै दुई पार्टी निर्माणको प्रमुख कारण भने ७ चैतमा भएको बालुवाटार बैठकले गरेको निर्णयबाट तय भएको खनाल–नेपाल समूहका नेताहरू बताउँछन् ।खनाल र नेपाल समूहलाई झस्काउने गरी भएको त्यो निर्णय भने अहिले पनि सार्वजनिक गरिएको छैन । ओलीले १६ चैतमा मातहतको कमिटीमा पठाएको अन्तरपार्टी निर्देशिका (अपानि) मा त्यो निर्णय प्रष्ट भाषामा लेखिएको छैन ।

तर, बालुवाटार स्रोतका अनुसार, त्यसदिन खनाल र नेपाल समूहतिर लागेका कसैलाई पनि पार्टी कमिटीमा रहन नसक्ने गरी निर्णय भएको छ । ‘डढेलो लागेको बेला पलाएको पालुवा’ ननिमोठ्ने अभिव्यक्ति दिएका ओलीले ५ पुसयता बनाइएको कमिटी बाहेक अरूलाई स्वीकार नगर्ने निर्णय गराएका छन् ।
२८ फागुनको निर्णय बदर गरिनुपर्ने अडान लिइरहेका नेपालसहित चार नेतालाई कार्बाही गरेरै ओली अगाडि बढिसके पनि खनाल र नेपाल समूहमा अझै पनि एमालेको एकता जोगाउन सकिने तर्क एउटा पंक्तिले छोडेको छैन ।

‘संकटको बेला पार्टी थेग्ने र आन्दोलन बचाउने यो पंक्ति नै हो । तसर्थ जिल्ला कमिटी मातहतका कमिटी र जनसंगठनका पछिल्लो बेला गठित कमिटीहरूलाई नै आधिकारिकता प्रदान गरिनेछ’ खनाल र नेपाल समूहतिर लागेका कसैलाई पनि पार्टी कमिटीमा नस्वीकार्ने गरी त्यसदिनको निर्णयमा भनिएको छ, ‘आन्दोलनबाट विचलित र पार्टी हित विरुद्ध लागेका पंक्ति आत्मालोचना गरेर आएमा वा भ्रम, अलमलमा परेर बाटो बिराएका कमरेडहरू फर्केर आएमा उहाँहरूको क्षमता अनुसारको उचित जिम्मेवारी दिइनेछ ।’

अर्थात्, साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा आफूतिर उभिएकाहरू मात्रै रहेर बनाइएको कमिटीलाई नै ओलीले आधिकारिकता दिने निर्णय गरेका छन् । यस्तो हुँदा पुनस्र्थापित एमालेका खनाल र नेपाल समूहका नेताहरू केन्द्रदेखि स्थानीय कमिटीमा समेत भूमिकाविहीन बन्नेछन् । तर, केन्द्रीय कमिटीका नेताहरूलाई भने कायमै राखिएको छ । यो विषय १ चैतमा धुम्बाराहीमा ओली र नेपाल बीच भएको वार्तामा पनि उठेको थियो ।

खनाल र नेपाल समूहका नेताहरूले २ जेठ २०७५ को पार्टी कमिटी र विधानअनुसार, बैठक राख्न आग्रह गरेका थिए । तर, ओली यसमा तयार भएनन् । ‘एउटा बैठकले गरेको निर्णय अर्को बैठकले उल्ट्याउन सक्छ, तर गरिएको निर्णय बदर हुँदैन’, ओलीको भनाइ थियो ।

नेकपा विभाजन हुँदा पुष्पकमल दाहाल प्रचण्डतिर लागेका नेताहरूसहितको एमाले पार्टी संरचना नमान्ने ओलीको अडान र निर्णयपछि खनाल–नेपाल समूह छुट्टै पार्टी संरचना निर्माणको विकल्पमा पुगेका छन् ।

तर, पार्टी विभाजनको निष्कर्षमा भने यो समूह पुगिसकेको छैन । जबकि, ओली आफ्नो कदमबाट पछि हट्ने संभावना नभएकाले छुट्टै पार्टी निर्माण गर्नुपर्ने मत पनि यो समूहभित्र देखिएको छ ।

दोस्रो पुस्तामा आश
२८ फागुनको निर्णय बदर गरिनुपर्ने अडान लिइरहेका नेपालसहित चार नेतालाई कार्बाही गरेरै ओली अगाडि बढिसके पनि खनाल र नेपाल समूहमा अझै पनि एमालेको एकता जोगाउन सकिने तर्क एउटा पंक्तिले छोडेको छैन ।

तर, ओली आफ्नो कदमबाट पछि हटेर पार्टी एकताको पहल गर्दैनन् भन्नेमा भने यो समूहका नेताहरूको बुझाइ एउटै छ । ‘केपी ओली सुधार्न सकिन्न, सुध्रिने सम्भावना छैन । तर, एमालेमा काम नलाग्ने भन्दा काम लाग्नेहरूको जमात ठूलो छ । त्यो जमातले पार्टी सुधार्न सक्छ भन्ने बुझाइ छ’, एक नेता भन्छन् ।

जबकी, तल्ला कमिटीहरूलाई पठाइएको अन्तर पार्टी निर्देशनमै प्रष्ट पारिएको छ– माओवादीबाट आएकाहरू लिएर अगाडि बढ्न सकिन्छ, तर खनाल र नेपाल समूहका नेताहरूले आत्मालोचना गरेर नफर्किए अस्तित्व स्वीकार्न सकिंदैन ।

तर, ओलीको कठोरता बुझेर पनि अझै एमाले पुनर्मिलन संभव देख्नुमा भने खनाल–नेपाल समूहका नेताहरूले ओलीतिर रहेका दोस्रो तथा तेस्रो पुस्ताहरूले लिनसक्ने पहलमा आश गरेका छन् ।

‘ओलीले नै पर्खाल लगाइदिनुभयो, ढोका मात्रै लगाउनुभएन । तर, पनि ओलीभित्रै रहेका नेताहरूले एकता बचाउन प्रयास गर्छन् कि भन्ने झिनो आशा छ’, उपाध्यक्ष युवराज ज्ञवाली भन्छन् । ओलीले भने एकताबद्ध पार्टीको ढोका नभएर पर्खाल लगाए पनि अन्य नेताहरूसँग झिनो आशा गरेको उनी बताउँछन् ।

मुख्यगरी खनाल र नेपाल समूहका युवा नेताहरूमा यस्तो आशा धेरै छ । तर, शीर्ष तहका नेताहरू भने ओली पनि आफ्नो कदमबाट पछि हट्ने गरी उनी निकट नेताहरूबाट पहलकदमी हुन्छ भन्नेमा विश्वास गर्दैनन् ।

एमाले पुनर्स्थापनालगत्तै पनि ओलीतर्फका केही नेताहरूले पार्टी पुनर्मिलनको प्रयास गरेका थिए । त्यसैलाई आधार मानेर पनि खनाल र नेपाल समूहका नेताहरू अहिले अलग पार्टी संरचना तयार पार्ने र त्यसैका आधारमा सिंगो एमाले बनाउन सकिनेमा आशावादी देखिन्छन् । ‘एकताबद्ध पार्टी भने केपी ओलीमा भर पर्छ, हामीमा होइन’, ज्ञवाली भन्छन् ।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार