• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीसँगको गठबन्धनमा जाने हाम्रो सहमति भैसकेको छ – महन्थ ठाकुर ( भिडियो सहित )


जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरू प्रधानमन्त्री केपी ओलीको गठबन्धनमा जाने सम्भावना धेरै
रहेको बताएका छन्।सोमबार भिडिओ कुराकानी गर्दै जसपा अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीनै बढी सक्रिय भएकाले

त्यस्तो सम्भावना हुने बताए।’हाम्रो माग पुरा गराउने सम्बन्धमा प्रधानमन्त्रीले कदम उठाउनुभएको छ। कति दिन लाग्छ त्यो हेर्न बाँकी छ। हाम्रा माग पुरा भए हामी प्रधानमन्त्रीकै गठबन्धनमा जाने धेरै सम्भावना छ,’ उनले भने, ‘तपाईँले मेरो मुद्दा सम्बोधन गरेमा म तपाईको पासमा आउँछु। ओलीजीले गर्नुभएको छ। के गलत भएको छ।’उनले आफूहरूको मुद्दा सम्बोधन गर्ने जिम्मेवारी सरकारकै हातमा रहेको समेत स्पष्ट पारे। ‘हाम्रो मुद्दा सम्बोधन सरकारको हातमा छ। संविधान संशोधन र नागरिकता विधेयक राज्यकै हातमा छ। संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ,’ उनले भने, ‘हाम्रो माग सम्बोधन प्रक्रियामा छ। हामीमाथि लगाइएका मुद्दा फिर्ताको लागि निर्देशिका बनाइएको छ। त्यो अनुसार काम भइरहेको छ। कति मुद्दा छन् हामी गृहमा पठाउँछौ।त्यसपछि सरकारबाट प्रकिया सुरू हुन्छ।’

नयाँ सरकार गठनको प्रक्रिया, प्रधानमन्त्री ओलीसँगको सहकार्यको सम्भावना अनि कांग्रेस र माओवादीसँग हुनसक्ने सहकार्यलगायतका विषयमा हामीले जसपा अध्यक्ष ठाकुरसँग भिडिओ कुराकानी गरेका छौ। यस कुराकानीका मुख्य अंशहरू यसप्रकार छन्।
-हामी कसैको विरोध र साथमा छैनौं। हामी आफ्नै मुद्दा सम्बोधन गराउन केन्द्रीत छौ।
– संविधान संशोधन, नागरिकता, आन्दोलनका क्रममा लगाइएका ज्यान मार्ने उद्योग, अरू गम्भीर किसिमका मुद्दा फिर्तामा हाम्रो ध्यान छ।

-हाम्रा सांसद जेलमा छन्। प्रदेशका मन्त्री, मेयरहरू तारिकमा छन्। केन्द्रीय नेताहरू तारिकमा छन्। हाम्रो ध्यान त्यसैमा छ। जनयुद्वमा सहभागी नेतामाथिसमेत मुद्दा थियो। तर त्यो मुद्दाले उहाँहरूलाई कुनै अवरोध गरेन। हाम्रा साथीहरू अहिले पनि जेलमा छन् कोही लुकीछिपी घरमा आउन बाध्य छन्।
नागरिकताको समस्या मधेशको मात्र होइन यो देशको समस्या हो।संविधान संशोधन पनि देशकै माग हो।बर्तमान संविधानप्रति हाम्रो सन्तुष्टी छैन।

-सरकारसँगको छलफल सकारात्मकनै छ। तर एकातिर गठबन्धनको कुरा भइरहेको छ भने सरकारबाट समर्थन फिर्ता भएको छैन।
-कांग्रेसले के निर्णय गर्छ त्यो उहाँहरूको कुरा हो। उहाँहरू आउनुहुन्छ आफ्ना कुरा राख्नुहुन्छ हामी पनि आफ्ना कुरा राख्दिन्छौं।
-प्रधानमन्त्रीमा मेरो नाम तपाईहरूले नै राख्दिनु भएको छ। त्यसका लागि तपाईँहरूलाई धन्यवाद छ। अहिलेसम्म कुनै दलबाट प्रस्ताव आएको छैन। प्रस्ताव आयो भने हामीसँग नेतृत्व गर्ने क्षमता छ।

– प्रधानमन्त्रीले जहिले पनि पहिला सरकारमा आउनुस्। अब प्रक्रिया सुरु भयो भन्नुहुन्छ। मैले परिणाम आउन दिनुहोस् भनेको छु। अहिले हामी न्यायको खोजीमा छौं। त्यसपछि मात्रै सरकारमा जाने कुरा हुन्छ।
-कांग्रेस माओवादीले पनि हामी गरौंला। तपाईहरू पनि आउनुस् हामी सबै मिलेर गरौंला भन्नुभएको छ। हामीले उहाँहरूलाई बिगतमा पनि साथ दिएका हौं। तर मुद्दा जस्ताको तस्तै छ। सम्झौता धेरै पटक भयो। यद्यपी सम्झौता अनुसार काम हुन सकेको छैन।

– हामी कसैको विरोधमा छैनौं। हामीले प्रधानमन्त्रीलाई तपाईँको अग्‍नेष्टमा जादैनौं भनेर समेत भनेका छौ। तटस्थको रोल कठिन हुन्छ।
-उपेन्द्रजी दौडेर ओलीकै नेतृत्वमा जानुभएको हो। हामीलाई पनि ओलीजीले बोलाउनुभएको थियो। हामीले हाम्रा साथीहरू जेलमा छन् कसरी सरकारमा जाने भनेको हो। त्यसैले सरकारमा जान हतारिएको भनेर हामीमाथि लगाइएको आरोप गलत हो।

हेर्नुहोस् भिडिओ

सेतोपटि बाट साभार।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार