• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

ठाकुर र ओली बिच भयो यस्तो सहमति !


काठमाडौं । ओली सरकार गिराउने कि टिकाउने भन्ने कुरामा जसपा अहिले निर्णायक भुमिकामा छ।जसपालाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्री केपी शर्मा ओली र ओली इतरका सबै दल लागेका छन् । शुक्रवार शेरवहादुर देउवाले आफ्नै निवास वुढानिलकण्ठमा बोलाएर कांग्रेस

नेतृत्वको नयाँ सरकार गठनको प्रस्ताव राखेका छन् । वैठकमा जसपा र माओवादी केन्द्र सहभागी थियो । नेपाली कांग्रेसका सभापति देउवाले नयाँ सरकार गठनको औपचारीक प्रस्ताव राखेपछि जसपा आइतवार त्यसवारे निर्णय गर्न छलफलमा जुटेको छ ।जसपाको ६ नेताको आइतवार छलफल भएको छ । जसपा नेता महन्त ठाकुरले पार्टीमा छलफल गरेर देउवाको प्रस्तावका बारेमा निर्णय दिने बताएका थिए । यता प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा एमालेका नेता डा।राजन भट्टराईले भने जनता समाजवादी पार्टीसँग सत्ता साझेदारीका विषयमा छिट्टै सहमति हुने दाबी गरेका छन् । उनले सहमतिका लागि प्रधानमन्त्री ओलीसंग जसपाको छलफल अगाडि बढिसकेको समेत बताए ।

जसपाले उठान गरेका कानुनीरुपमा समाधान गर्न मिल्ने मागहरु सरकारले पूरा गर्ने उल्लेख गर्दै जसपासँग सत्ता साझेदारी हुनसक्ने बताएका हुन् । देशलाई राजनीतिक संकटबाट निकास दिन तीनवटा मात्रै विकल्प रहेको उल्लेख गर्दै उनले पहिलो वर्तमान सरकारको निरन्तरता, दोस्रो निर्वाचनमा जानुपर्ने र अन्तिम विकल्प वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर सरकार परिवर्तन गर्नु रहेको प्रष्ट पारे ।

ओलीलाई हटाउन दलहरू मिलेर अघि सरे हामी पनि रोक्दैनौं: माधव
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्‍त्री केपी ओलीलाई हटाउन दलहरू मिलेर अघि सरे आफूहरुले पनि सघाउने बताएका छन्। संसदमा आफूहरु अल्पमतमा रहेकाले ओली सरकारको विकल्प खोज्न नसकेको बताउँदै भने, ‘नयाँ सरकार गठनका लागि प्रतिपक्ष र विपक्षी दलहरु सबै मिलेर लागे हामीहरु रोक्दैनौं।’

वीरगन्जमा आइतबार प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘सबै प्रतिपक्षी दलहरु मिलेर ओलीको विकल्प खोज्‍न तयार भए हामी रोक्दैनौं।’ नेता नेपालले आफूहरुको लडाइ पद र सत्ताका लागि नभइ विधि र पद्धतिका लागि भएको बताए।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार