• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

किर्ते नागरिकताको आडमा नेपालीको जग्गा हडप्ने भारतीयको प्रयास


विराटनगर :किर्ते कागजात पेस गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका भारतीयले विराटनगरमा नेपाली नागरिकको नाममा
रहेको जग्गा हडप्ने प्रयास गरिरहेको पाइएको छ । भारतको अररीया जिल्ला-स्थित नरपतगञ्ज-का बासिन्दा ५९ वर्षीय अनिरुद्ध शर्माले विराटनगर

महानगरपालिका–५ स्थित चाँदनी चोकमा रहेको सीतादेवी रायको जग्गा हडपेर आफ्नो नाममा पार्न खोजेका हुन्। उनले आफू नेपाली नागरिक भएको दाबीसहित रायको नामको लाखौँ मूल्य पर्ने एक कट्ठा आठ धुर जग्गा कब्जा गर्न मुद्दामामिला गरिरहेको खुलेको छ। तर नेपाली नागरिकको जग्गा हडप्न खोजेका उनी भने भारतीय नागरिक भएको प्रमाण फेला परेको छ। नागरिकता वितरण टोलीमार्फत २०६३ साल माघ ७ गते अनिरुद्धले सुनसरीको दुहवी–६ बाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको पुष्टि भएको छ। भारतीय नागरिक रहेका उनी अहिले परिवारसहित विराटनगरको चाँदनी चोकमा बसोबास गरिरहेका छन्।

महानगरले डोजर लगाएर भत्काइदिएको संरचना।

गत फेब्रुअरी १५ मा भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको भारतीय मतदाता नामावलीमा नाम समावेश रहेका उनको जन्ममिति सन् १९६२ जनवरी १ र बुवाको नाम मुन्नर शर्मा उल्लेख छ। उनको नाममा एसपीजे ०२३९३३५ नम्बरको मतदाता परिचयपत्र छ। आफ्नो मुलुकको नागरिकता प्राप्त नगरेका व्यक्तिले भारतको मतदानमा सहभागी हुन नपाउने नियम रहेको भारतकै चर्चित पत्रिका हिन्दुस्तान दैनिकका पत्रकार बरुण मिश्रले बताए। र त्यस्ता व्यक्तिको नाम मतदाता नामावलीमा समावेश पनि हुँदैन।

भारत सरकारले आफ्ना नागरिक भ-नभएको नागरिकताका आधारमा यकिन गरेर मात्रै मतदाता नामावली संकलन र सार्वजनिक गर्ने गरेको मिश्रले बताए। उनका अनुसार निर्वाचनमा सहभागी हुने कोही पनि भारतको बासिन्दा वा जनता हुर्नै पर्छ। भारतीय नागरिक अनिरुद्ध शर्माको भारतको निर्वाचय आयोगले जारी गरेको मतदाता परिचयपत्र।

किर्ते गरेर शर्माले लिएको नेपाली नागरिकताको प्रमाण पत्र।

यही आधारमा पनि नेपाली नागरिकको जग्गा हडप्ने खेलमा लागेका अनिरुद्ध भारतीय नागरिक भएको पुष्टि हुने स्रोतले बतायो। उनी भारतबाट २०५० सालमा कवाडीको काम गर्ने नाममा नेपाल छिरेर सुनसरीको दुहवीमा बसोबास गर्न थालेको स्थानीय बताउँछन्। २०५५ सालमा दुहवीकै आरती देवीसँग उनले बिहे गरेका थिए। भारतीय मतदाता नामावलीमा आरतीको पनि नाम छ।

भारतीयसँग बिहे गरेपछि मतदाता परिचय पत्रमा नाम समावेश भइसकेर उतैको नागरिक बनिसकेका कारण आरती पनि अब नेपाली नागरिक रहिनन्। तर २२ वर्षअघि भारतीय नागरिकसँग बिहे गरेकी उनले पनि नेपाली नागरिकता त्यागेकी छैनन्। बरु उल्टै उनकै श्रीमान भारतीय नागरिक अनिरुद्धले किर्ते गरेर जन्मसिद्धका आधारमा नेपाली नागरिकता लिन सफल भएको तथ्य फेला परेको छ। वितरण टोलीबाट अनिरुद्धले ०३३००९/३२५ नम्बरको नेपाली नागरिकता लिएको पुष्टि भएको छ।

सुनसरीको दुहवी–६ बाट नागरिकता लिएपछि उनी त्यहाँ नबसिकन विराटनगर सरेका थिए। नेपाली नागरिकतामा उनको जन्म मिति २०२७ भदौ ११ गते र बुवाको नाम मुनरलाल शर्मा उल्लेख छ। भारतीय मतदाता परिचयपत्रका आधारमा उनको उमेर ५९ वर्ष हुन्छ। तर नेपाली नागरिकताका आधारमा भने उमेर ५० वर्ष मात्रै देखिन्छ। भारतमा बुवा मुन्नर शर्माको नामबाट नागरिकता लिएको देखिन्छ। नेपालमा बुवाको नाम मुनरलाल शर्मा उल्लेख छ। आफ्नो नाम पनि भारतमा अनिरुद्ध शर्मा र नेपालमा अनिरुद्र शर्मा भनेर लेखाएको पुष्टि भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीबाट खटिएका नागरिकता वितरण टोलीका प्रमुख पुन्यराज भट्टराईले भारतीयलाई नेपाली नागरिकता दिएको फेला परेको छ।

‘नेपाली नागरिकता लिएका अनिरुद्धले भारतीय नागरिकता त्यागेका छैनन्’, स्रोतले भन्यो, ‘उल्टै नेपाली नागरिकको जग्गा हडप्न मुद्दामामिला र अनेक प्रपञ्च गरिरहेका छन्।’ नेपाली नागरिक हुन चाहने विदेशी नागरिकले त्यसअघि नै आफ्नो मुलुकको नागरिकता त्याग्नु पर्ने नियम छ। नेपाली नागरिकता पाएपछि दुहवी छाडेका उनी विराटनगर आएर मितेरी साइनो जोड्दै उत्तमकुमार रायको जग्गामा बस्न थालेका हुन्।

उत्तमकुमारले कित्ता नम्बर २९३८ नम्बरको एक कट्ठा आठ धुर जग्गा प्रमीलादेवी साहसँग २०६५ सालमा खरिद गरेर श्रीमती सीतादेवीको नाममा राखेको देखिन्छ। मितेरी साइनोमा जोडिएका अनिरुद्धलाई उत्तमकुमारले श्रीमतीको नाममा रहेको त्यही जग्गामा आवश्यकता परेका बेला खाली गरिदिने सर्तमा एउटा घर बनाइदिँदै २०६६ सालबाट बस्ने व्यवस्था मिलाइदिएको स्थानीयको भनाइ छ।

तर जग्गा खाली गर्न २०७६ साल कात्तिक २४ गते आग्रह गर्दा अनिरुद्धले अटेर गरेको उत्तमकुमारले बताए। तर जग्गा आफ्नो भएको दाबीसहित अनिरुद्ध वडा कार्यालयमा पुगेको उनले बताए। यस विषयमा छलफल भएपछि २०७६ साल चैत मसान्तसम्ममा जग्गा खाली गरिदिने सहमति कागजमा हस्ताक्षर गरेर अनिरुद्ध फर्किएको वडाध्यक्ष मीनकुमार आचार्यको भनाइ छ।

किर्ते गरेर शर्माले लिएको नेपाली नागरिकताको प्रमाण पत्र।
अनिरुद्धले जग्गा आफ्नो नाममा रहेको कुनै आधार र प्रमाण पुर्‍याउन नसकेको आचार्यको भनाइ छ। उत्तमकुमारले भने आफ्नी श्रीमतीको नाममा जग्गा कायम रहेको प्रमाणसहित जग्गाधनी प्रमाण पूर्जा, वडामा भएको सहमति तथा सम्पत्ति कर चुक्ता रसिद पनि बुझाएको जानकारी उनले दिए।

वडाध्यक्ष आचार्यका अनुसार उत्तमकुमारकी श्रीमती सीतादेवीको नाममा रहेको जग्गामा बसोबास गरिरहेका अनिरुद्धले पछि आफ्नो भएको भन्दै जग्गा खाली गर्न नमानेपछि मुद्दाका रुपमा उठान गरेर महानगरपालिकाको न्यायिक समितिमा पठाइयो। तर अनिरुद्धले भने समितिले गराउन खोजेको मिलापत्रलाई पनि अस्वीकार गरिदिए। त्यसपछि समितिले २०६५ सालमा खरिद गरेर भोगचलन गरेको जग्गा सीतादेवीकै भएको ठहर २०७७ साउन ५ गते गरिदियो। महानगरको न्यायिक समिति संयोजकमा उपमेयर इन्दिरा कार्की र सदस्यहरुमा वडाध्यक्ष विनोदकुमार बस्नेत तथा तीर्थेन्द्र न्यौपाने छन्।

निवेदनका आधारमा मात्रै पुष्टि नभएको र वादीले दाबी गरे अनुसार भरपर्दो प्रमाण पेस गर्न नसकेको ठहर समितिको छ। ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ (ज) बमोजिम वादीको दाबी नलाग्ने ठहर्छ। सहमतिको पनि वादीबाट अवज्ञा भएको देखिन्छ। त्यही भएकाले प्रतिवादीको जग्गा वादीले तत्काल खाली गरिदिनु पर्ने ठहर्छ’, समितिको फैसलामा भनिएको छ।

तर अनिरुद्धले जग्गा आफ्नो भएको दाबी गर्दै जिल्ला अदालत मोरङमा उत्तमकुमारलाई प्रतिवादी बनाएर २०७७ असोज २ गते रिट निवेदन दायर गरे। आफूले किनेको र किन्दा तीन लाख ५० हजार ऋण लिएका कारण उत्तमकुमारको नाममा त्यतिबेला आफूले जग्गा पास गरिदिएको दाबी निवेदनमा गरिएको छ। तर पछि जग्गा मेरो नाममा फिर्ता दिनुभन्दा उत्तमकुमारले नमानेको र उल्टै धाकधम्की दिएर आफैलाई हटाउन खोजेको दाबी अनिरुद्धको छ।

जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले गत पुस २० गते स्थानीय न्यायिक समितिको निर्णय कानुन बमोजिम नै रहेको र त्यो नै सदर हुने फैसला गरिदिएको छ। ‘मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९७ बमोजिम फैसला गरिएको छ। न्यायिक समितिले गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहरी फैसला भएकाले केही गरिरहनु परेन’, अदालतको फैसलामा भनिएको छ।

अनिरुद्ध शर्मा
अनिरुद्धले जग्गा खाली गर्न नमानेपछि महानगरले डोजर ल्याएर त्यहाँको संरचना भत्काउँदै जग्गा भने खाली गरिदिइसकेको छ। तर जग्गा कब्जा गरेर बसेका उनले छाड्न मानिरहेका छैनन्। जिल्ला अदालतको फैसलाविरुद्ध पनि उनले उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दिएका छन्। भारतीयले नेपालीको जग्गामा आफ्नो हकदाबी गरेर दायर गरेको मुद्दा अहिले उच्च अदालतमा विचाराधीन छ। मुद्दामा जाँदा भारतीय नागरिक रहेका अनिरुद्धले किर्ते गरेर बनाएको नेपाली नागरिकताको प्रमाणपत्र अदालतमा पेस गरेका छन्।

नातामा अनिरुद्धका ज्वाई पर्ने राजेन्द्र ठाकुरले पनि जग्गा उत्तमकुमारकै भएको बताए। ‘जग्गा उत्तमकुमारकै हो। आफन्त भएकाले मैले नै पहल गरेर अनिरुद्धको परिवारलाई त्यहाँ बस्ने व्यवस्था गरिदिएको हुँ’, उनले भने, ‘तर अहिले आएर जग्गा मेरै हो भन्दै बिना प्रमाण मुद्दा गर्न जानु मुर्खता हो। उपभोग गर्न दिएको अर्कैको जग्गा फिर्ता गरिदिँदा राम्रो हुन्थ्यो।’

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भारतीयले नेपाली नागरिकता लिएर नेपाली नागरिकलाई दुःख दिन थालेको विषय गम्भीर रहेको बताए। ‘भारतीयलाई नागरिकता दिलाउन भूमिका खेल्नेदेखि लिएर नागरिकता लिने सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याइने छ’, उनले भने, ‘यस विषयमा गृह मन्त्रालयबाट पनि थप छानबिन हुन्छ।’ पोखरेलले नेपाली नागरिकता लिने भारतीयलाई तत्काल हिरासतमा लिएर थप अनुसन्धान अघि बढाइने जानकारी पनि दिए। उनका अनुसार भारतीले लिएको नेपाली नागरिकता बदर हुन्छ भने उनले नेपालमा जोडेका सबै धनसम्पत्ति सरकारीकरण गरिने छ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार