• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ठाकुर पक्ष ओलीलाई साथ दिन तयार ओली र ठाकुरबीचको वार्तापछि कार्यदलबीच निर्णायक वार्ता हुँदै …..


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र ठाकुरबीच बिहीबार दिउँसो कुराकानी भएको जसपाका नेता लक्ष्मणलाल कर्णले हामी लाई जानकारी दिए । उनका

अनुसार ओली र ठाकुरसँग भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी थिए । सरकारका तर्फबाट नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई सहभागी थिए भने जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी थिए । अब आजै कार्यदलको बैठक बसेर जसपाका मागप्रति निर्णायक वार्ता हुने कर्णले जानकारी दिए ।

जसपाले जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता लगायतका माग राखेर सरकारसँग वार्ता गरिरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नयाँ सरकार गठनका लागि अग्रसर भइरहेका बेला ठाकुर पक्षले आफूसँग गरेको आजको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

केपी ओली सरकार जोगाउन र ढाल्न निर्णायक देखिएका जसपाको ठाकुर पक्ष ओलीलाई साथ दिने पक्षमा छ भने यादव र भट्टराई नयाँ सरकार निर्माणमा जोड दिइरहेका छन् । मंगलबार नयाँ सरकार निर्माणबारे काँग्रेस सभापति शेरबहादुर देउवासँग यादव र भट्टराईले भेटवार्ता गरेका थिए ।

सोही साँझ देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि नयाँ सरकार बनाउने विषयमा छलफल भएको थियो । विपक्षी मोर्चा कसिलो बन्दै गरेका बेला ठाकुर र ओलीको भेटवार्ताले जसपा विभाजन हुन सम्भावना बलियो बनेको देखिन्छ ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार