• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एकताको विकल्प छैन,कारबाहीकाे डर छैन: प्रकाश ज्वाला (अडियोसहित)


आफ्नो पद धरापमा पारेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउने अभियानका मुख्य हस्ती एमाले सांसद प्रकाश ज्वालाले पार्टीलाई एकताबद्ध बनाउन नसक्दाको परिणाम के हुन्छ भन्ने बुझ्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीको विपक्षमा मत दिन संसदीय दलले लगाएको ह्विप तोडेर एमालेका चार सांसदले फ्लोरक्रस गरेको घटनाबारे प्रतिक्रिया दिँदै उहाँले एकलौटी ढंगले पार्टी चलाउँदा आउने परिणामबारे नेताहरुले समीक्षा गर्नुपर्ने बताउनुभयो ।आजको निर्णयलाई प्रतिनिधिमूलक घटना भन्दै उहाँले संघ र अन्य प्रदेश सरकारबारे नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो । पार्टीलाई एकतावद्ध बनाउन नसक्दा कुन तहको क्षति हुनसक्छ भन्ने नेताहरुलाई बोध गराउन यस्तो निर्णय गर्नुपरेको उहाँको भनाइ छ । बेलैमा रियलाइज गरेर नेताहरु सच्चिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

पार्टी मूलत: फुटिसकेको भन्दै उहाँले कारवाहीका निम्ति तयार भएरै यस्तो निर्णय गरेको बताउनुभयो । ‘त्यो कारवाहीको अर्थ छैन । एउटै पार्टीको जस्तो भए पो कारवाही ! यस्ता कारवाहीको अर्थ हुँदैन । हामीले कारवाही व्यहोर्न तयार भएरै निर्णय गरेका हौँ’,ज्वालाले भन्नुभयो ।

उहाँले पार्टीलाई एकतावद्ध राख्न नसके केन्द्र र अरु प्रदेशहरुमा पनि यस्तै स्थिति आउनेतर्फ सचेत हुन नेताहरुलाई सन्देश दिएको दाबी गर्नुभयो । ‘यो प्रतिनिधिमूलक घटना हुनसक्छ । नेतृत्व सच्चिएर पार्टीलाई एकतावद्ध बनाई जान नसके यस्ता घटनाहरु दोहोरिन सक्छन् भन्ने कुराको महसुस गराउन निर्णय गरिएको हो ।’

उहाँले आज आफूहरुले लिएको निर्णयले एमालेलाई एकतावद्ध बनाउन दबाब पुगेको पनि बताउनुभयो । ‘यसबाट शिक्षा लिएर पार्टीलाई एकतावद्ध बनाउनुको विकल्प छैन भन्ने कुराको सन्देश दिन यस्तो निर्णय गरेका हौँ’, ज्वालाले भन्नुभयो ।

आजको परिस्थिति कसरी आयो भन्ने प्रश्नमा ज्वालाको जवाफ यस्तो छः

स्रोत जन आस्था

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार