• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सर्वदलीय बैठकमा सभामुखमाथि खनिए ओली, संसदलाई बन्धक बनाएको आरोप


प्रधानमन्त्रीकेपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् ।संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाए । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बोलाइएको सर्वदलीय बैठकमा ओलीले

सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे । बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिए । ‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो’, डा लोहनीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने,‘ यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो । ’बैठकमा आफूले राजनीतिक विकास खोजेर कोरोना नियन्त्रण लगायतका महत्वपूर्ण काममा लाग्न सरकारलाई सुझाव दिएको डा लोहनीले बताए । बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भनेर सुझाव समेत मागेका थिए ।

बालुवाटारमा सर्वदलीय बैठक : को को छन् सहभागी ?
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरू भएको छ। बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, नेमकिपाका प्रेम सुवाल, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायतका नेता सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ।

बैठकमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, राजन भट्टराईलगायत सहभागी छन्।बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेता सहभागी भएपनि नेकपा (माओवादी केन्द्र)ले भने बहिस्कार गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहभागी नभएको उनको सचिवालयले जनाएको छ। आफूहरुलाई सर्वदलीय बैठक हुनेबारे जानकारी नआएको भन्दै माओवादी पन्छिएको छ। प्रचण्डले सिंहदरबारमा बैठक राखे मात्र सहभागी हुने अडान राखेको बुझिएको छ।

यसैगरी बैठकमा जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सहभागी छैनन्।
बालुवाटार स्रोतका अनुसार संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफल, कोरोना महामारी रोकथाम र नियन्त्रणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।पछिल्ला दिनमा नेपालमा कोरोना भाइरस (कोभिड -१९) तीव्ररुपमा फैलिरहेको छ। संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढिरहेको छ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूताइँदिएपछि दुवै दल आ-आफ्नो कित्तामा फर्केका छन्। प्रदेश र केन्द्र सरकारमाथि अविस्वासको प्रस्ताव दर्ता हुने क्रम चलिरहेको समयमा प्रधानमन्त्रीले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार