• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

सर्वदलीय बैठकमा मुख्य तीन एजेण्डामा छलफल, एमसीसीको कुरा जोडतोडले उठ्यो


प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा विभिन्न ३ एजेण्डामा छलफल भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकपछि परराष्ट्र मन्त्रीतथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण,रिक्त रहेको स्थानमा उपनिर्वाचन

र संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको बताए । साथै, बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको ज्ञवालीले बताए । बैठकमा एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको प्रधानमन्त्री केपी ओलीले आक्रोश पोखेका थिए । त्यसपछि काँग्रेस लगायतका दलले सो विषय संसदमा अड्काएर राख्न नहुने भन्दै त्यसलाई निर्णयार्थ पेश गरिनुपर्ने धारणा राखेका थिए । बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी काँग्रेस सरकारकै पालामा आएकाले सो विषयलाई अड्काएर राख्न नहुने धारणा आफूहरुले राखेको बताए । यस्तै ज्ञवालीले पनि एमसीसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसदले स्वीकृत अस्वीकृत जे गरेपनि त्यसलाई प्रक्रियामा भने लगिनुपर्नेमा जोड दिए ।

यसैगरी बैठकमा कोरोना नियन्त्रणको सवालमा सरकारले चाल्ने कदममा आफूहरुको साथ रहने धारणा दलहरुले राखेका थिए । ‘कोरोना महामारीबारे सबै दल एकमत रहनु भएको छ । यसको रोकथाममा सरकारले सजगता अपनाओस्, प्रभावकारी ढंगले काम गरोस् , आवश्यक पर्छ भने विद्यालय बन्द गरेर भएपनि कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी कदम चालोस् भनेर उहाँहरुले भन्नु भएको छ’, ज्ञवालीले भने । यस्तै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पद पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको छ ।

निर्वाचन आयोगले तोकेको समयमा चुनावमा सहभागी हुन सकिने धारणा दलहरुको थियो । काँग्रेसले भने भदौमा पार्टीको महाधिवेशन हुने भएकाले त्यसबारे भने विचार गर्न आग्रह गरेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रह गरेका थिए । यस्तै पछिल्लो समय राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएको भन्दै त्यसबारे पनि प्रधानमन्त्रीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।बैठकमा नेकपा माओवादी केन्द्र र एमालेकै माधव नेपाल–झलनाथ खनालको सहभागिता रहेन भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बैठकमा गएनन् ।

जसपाले पार्टीलाई बैठकबारे आधिकारिक निम्ता नआएको बताएको छ । सर्वदलीय बैठकमा अनुपस्थित रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई आधिकारिक रुपमा निम्ता नआएको बताए । उनले भने, ‘सर्वदलीय बैठकबारे कुनै व्यक्तिलाई व्यक्तिगत रुपमा जानकारी आएको होला । तर पार्टीलाई कुनै आधिकारिक जानकारी आएको छैन ।’ सर्वदलीय बैठकको बारेमा पार्टीमा जानकारी आउनुपर्ने भएपनि त्यसो नभएकाले आफू बैठकमा जाने कुरा नभएको बताए ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा , नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए भने आधिकारिक रुपमा नबोलाइएको भनिएपनि जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै नेमकिपा र जनमोर्चाको प्रतिनिधि पनि सहभागी रहेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार