• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

६० रुपैयाँ लिटरमा किनेको पेट्रोलमा ५५ रुपैयाँ कर


काठमाडौं । नेपाल आयल निगमले नयाँ वर्षसँगै वैशाख ४ गते अबेर साँझ पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गर्‍यो । नयाँ मूल्य समायोजन अनुसार पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढायो । आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य दुई

रुपैयाँले वृद्धि भयो ।नयाँ मूल्य समायोजन अनुसार काठमाडौं उपत्यकामा खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजल/मट्टितेलको १०४ रुपैयाँ पुग्यो । यस्तै आन्तरिक हवाई इन्धनको प्रतिलिटर मूल्य ७६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । गत चैत २२ गते मात्रै इन्धनको मूल्य बढाएको निगमले १४ दिनमै पुनः मूल्य बढाउने निर्णय गर्‍यो ।सरकारले कर असुल गर्ने प्रमुख अस्त्रको रूपमा पेट्रोलियम पदार्थलाई बनाएको छ । भारतसँग प्रतिलिटर ६० रुपैयाँ ५५ पैसामा किनेको पेट्रोलमा सरकारले ५५.८६ पैसा कर लगाएको छ ।यस्तै ५७ रुपैयाँ २५ पैसामा किनेको डिजलमा ३८.५३ रुपैयाँ र ५५ रुपैयाँ ६१ पैसामा किनेको मट्टितेलमा १९.९८ रुपैयाँ कर लगाइएको छ ।व्यवसायिक प्रयोजनमा उपभोग हुने हवाई इन्धन ५२ रुपैयाँ २३ पैसामा खरीद गरेर सबैभन्दा थोरै १३ रुपैयाँ ८२ पैसा कर लगाएको छ । सरकारले १२४६ रुपैयाँ ९ पैसामा खरीद गरेको एक सिलिण्डर खाना पकाउने ग्याँसमा २३७ रुपैयाँ ८१ पैसा कर थपेको छ ।

कर पुनर्मूल्यांकन गर्छौं
इन्धनमा लगाइँदै आएको कर सम्बन्धमा विवाद चलिरहेकै बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने करको पुनर्मूल्यांकनबारे छलफल थालेको जनाएको छ ।इन्धनमा लगाइएको कर अत्यधिक भएको र यसले उपभोक्तामा परेको असरबारे मन्त्रालयले प्राथमिक चरणको छलफल शुरू गरेको निगमका अध्यक्ष एवं वाणिज्य सचिव दिनेश भट्टराईले बताए ।

बजेटमार्फत आर्थिक ऐनले मात्रै करको दरमा हेरफेर गर्ने भएकाले बजेट आउँदासम्म करको पुनर्मूल्यांकनका लागि कुर्नुपर्ने सचिव भट्टराईले बताए ।
‘प्राइमरी तहको छलफल भएको छ, कर आर्थिक ऐनमार्फत बजेटले व्यवस्था गर्छ ।

अब नयाँ बजेटसम्मै यसबारे पर्खनुपर्ने अवस्था छ’, सचिव भट्टराईले भने ।करको दर घटाएर बढ्दो मूल्यमा उपभोक्तालाई राहत दिन मन्त्रालयले उच्चतम प्रयास गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार