• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

विदेशबाट आउने यात्रुमाथि कडाइ, होटल क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी नियम


सरकारले तत्काल अन्तर्राष्ट्रिय हवाइ उडान बन्द नगर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अन्तर्राष्ट्रिय हवाइ उडान
गर्ने कि नगर्ने भन्नेबारे लामो बहसपछि अन्तिममा तत्काल बन्द नगर्ने तर यात्रुहरूमाथि कडाइ गरिने निर्णय गरिएको हो । परराष्ट्र मन्त्री प्रदीप

कुमार ज्ञवालीका अनुसार विदेशबाट आउने नेपालीसहितका यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होम क्वारेन्टाइनमा बस्दा निगरानी गर्न कठिनाइ हुने भएकाले त्यस्ता यात्रुहरुले तोकिएको समयसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने बैठकले निर्णय गरेको मन्त्री ज्ञवालीले बताए । यसअघि त्यस्ता यात्रुलाई होटल क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था थिएन। उनीहरु आफ्नै घरमा क्वारेन्टाइनमा बसेपनि हुने व्यवस्था रहेकोमा हाल होटल क्वारेन्टाइन नै अनिवार्य गरिएको हो ।

मन्त्रिपरिषद बैठक सकियो, सीसीएमसीको सिफारिस परिमार्जनसहित पारित
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । सोमबार साँझ पाँच बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरी बसेको थियो । आजको मन्त्रिपरिषद बैठक कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा केन्द्रित थियो ।

बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले रातोपाटीलाई जानकारी दिए । ।

उनका अनुसार सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन गरिएको सिफारिस पनि बैठकले पारित गरेको छ । साथै सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिस पनि बैठकले पारित गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार