• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

गण्डकी प्रकरण: जनमोर्चाका नेताले अस्पतालमा आफ्नै सांसदलाई भेट्न पाएनन्


एमालेका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले बहुमत गुमाउने पक्कापक्की भएपछि मंगलबार सत्तारुढ सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद बैठक अवरुद्ध पारे । अन्ततः सबै सांसदहरुलाई लाइन लगाएर पिसिआर

जाँच गरियो र बुधबारको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल सुरु भयो ।तर, एकाएक जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भए । उनीसँगै दीपक मनाङ्गे पनि बैठकमा आएनन् । मनाङ्गे अघिल्लो दिन खिमविक्रमसँगै देखिएका थिए ।सांसद शाही पार्टीको सम्पर्कमा समेत नआएपछि जनमोर्चाले आफ्ना सांसदको खोजी गर्न र उनी अपहरणमा परेको आशंका गर्दै जीवनरक्षा गरिदिन माग गर्‍यो । जनमोर्चाको मागपछि सभामुखले प्रदेशसभा बैठक स्थगन गरे ।

संसद बैठक नै स्थगित गरेर खोजी गर्नेक्रममा जनमोर्चाका सांसद शाही चरक अस्पतालको कोभिड वार्डमा आइसीयूमा भर्ना भएर बसेको पत्ता लाग्यो । तत्कालै जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल आफ्ना सांसदलाई भेट्न अस्पतालमा पुगे । तर, अस्पताल प्रशासनले सो पार्टीका नेतालाई शाहीसँग भेट गर्न दिएन । अस्पताल प्रशासनको जवाफ थियो, ‘उहाँलाई गम्भीर रुपमा कोरोनाले सताएको छ, कसैले पनि भेट गर्न मिल्दैन ।

​तर, सांसद शाही त्यसरी गम्भीर बिरामी परेकोमा उनकै पार्टीका नेताहरु विश्वस्त हुन सकेका छैनन् । जनमोर्चाका एक नेताले रातोपाटीसँग भने, उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ, अहिले एकाएक कसरी पोजेटिभ आयो र हिजोसम्म हिँडडुल गरिरहेको व्यक्ति कसरी आइसीयुमा भर्ना हुनुपर्ने स्थिति आयो ? हामी यसबारे बुझिरहेका छौं, तर अस्पतालले पार्टीका अध्यक्षलाई समेत भेट गर्न दिएको छैन । सत्तारुढ दलका सांसदहरुले अघिल्लो दिन पिसिआर जाँचको माग गर्दै बैठक स्थगन गर्नु र भोलिपल्ट सरसाउँदो सांसदलाई कोभिड अस्पतालको आइसीयुमा कसैलाई भेट गर्न नदिई राखिनुमा गडबडी देखिएको जनमोर्चाका नेताहरुले बताएका छन् ।

यो प्रकरणबारे पार्टीले जाँचबुझ गरिरहेको जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले रातोपाटीलाई बताए । जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाले मिडियालाई दिएको जनकारी अनुसार सांसद शाहीले बैठकमा आउने र बोल्नेसमेत बताएका थिए । ‘थापाले भने, आज मसँग भेट्दा उहाँले बैठकमा आउँछु भन्नुभएको थियो । बोल्छु पनि भन्नुभएको थियो । पछि बोल्दिनँ, तर आउँछु भन्नुभएको थियो ।जनमोर्चाका केन्द्रीय अध्यक्ष हिमलाल पुरीले आफ्नो पार्टीले गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको र आफ्ना सांसदहरुले पार्टी अनुशासन पूर्णरुपमा पालना गर्ने बताएका छन् ।

जनमोर्चाका सांसद शाहीलाई प्रलोभनमा पारेर कोभिड अस्पताल भनाए गरिएको हो या दबावमा त्यसो गरिएको भन्ने स्पष्ट हुन सकेको छैन । जनमोर्चाका नेताहरुका अनुसार उनी सिरियस बिरामी भए÷नभएको नै बुधबार साँझसम्म स्पष्ट हुन बाँकी छ ।

गण्डकी प्रदेशसभामा रहेका कुल ६० सदस्यमध्ये कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका ३ र र जसपाका २ जनासमेत गरी ३१ जना मुख्यमन्त्रीको विपक्षमा छन् । यी सबैले मतदान गर्दा एमालेको सरकार ढल्छ । तर, जनमोर्चाका एकजना सांसदलाई मात्रै मतदानमा अनुपस्थित गराउने हो भने अविश्वासको प्रस्ताव फेल हुन्छ र सरकार जोगिन्छ भन्ने नियतले कोरोना र पीसीआरलाई सत्तापक्षले राजनीतिको हतियार बनाएको विपक्षी दलहरूको आशंका छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनमोर्चाका सांसदलाई सत्तापक्षले बन्दी बनाएको आरोप लगाएका छन् । उता सत्तारुढ एमालेले भने अविश्वासको प्रस्ताव फेल हुने देखेपछि सभामुखले विपक्षीको प्रभावमा परेर संसद बैठक स्थगन गरेको भन्दै आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार