• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

गण्डकी प्रदेश : हिजो सम्पर्क बिहिन भएका सांसद अस्पताल भर्ना हुँदा बेहोश रहेको खुलाशा


काठमाडौं: गण्डकी प्रदेश का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान का बेला अनुपस्थित भएका सांसद खिमविक्रम शाहीले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन्। शाहीले बुधवार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने

कार्यसूची रहेको र आफू सदनमा जाने भनी तयारी अवस्थामा रहेका बेला अचानक विरामी भई अस्पताल जानुपरेको उल्लेख गरेका छन्।संसदमा उपस्थित नभएपछि विभिन्न टिकाटिप्पणी भइरहेका बेला शाहीले बिहीवार विज्ञप्ति जारी गरेका भनेका छन्, ‘अचानक विरामी भई मेरो आफ्नै भाईलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु। म अहिले उपचाररत छु। हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु। म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौ प्रश्नको बारेमा स्पष्ट गर्नेछु।’

शाहीले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो सहभागिता र सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्। जनमोर्चाले अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

बुधवार गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने बेलामा शाही सम्पर्कविहीन बनेका थिए। जनमोर्चाले आफ्ना सांसद हराएको भन्दै निवेदन दिएपछि सभामुखले प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरेका थिए।

सांसद शाही पछि अस्पतालमा फेला परेका थिए। उनको कोभिड १९ रिपोर्ट पोजेटिभ आएपछि भर्ना भएको बताइएको थियो। तर प्रदेशसभामा गरिएको परीक्षणमा भने उनको नेगेटिभ आएपछि धेरैले परीक्षणमाथि नै प्रश्न उठाएका थिए।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार