• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

एमसिसी केवल ‘ग्रान्ट’ हो, नेपालको हितमा छ, जसरि पनि पास गर्नु पर्छ : देउवा


कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा गलत प्रचार भएको बताएका छन्।आफ्नै निवासमा शुक्रबार पत्रकार सम्मेलन गर्दै देउवाले संसदबाट पास गराउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सघाउने भनेको सुनाउँदै एमसिसी

नेपालकै हितमा भएको दाबी गरे ।‘एमसिसी मैले मात्रै भनेको होइन, यो सुशील कोइराला र बाबुराम भट्टराईकै पालादेखि आएको हो,’ देउवाले अघि भने, ‘यो केवल ग्रान्ट हो । सित्तै दिएको हो । यसमा ब्याज तिर्नुपर्दैन, यो ऋण होइन । तर, नराम्रो हल्ला फैलाइएको छ । अमेरिकी सेना आउँछ भनिएको छ । मैले सेना ल्याउन दिन्छु होला ? झुटा प्रचार गरेर हुन्छ ?’ देउवाले पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सधैँ आफूलाई आरोप मात्रै लगाउदै आएको गुनासो गरे । तर, कांग्रेसमा बोल्ने छुट भएको उनले बताए । तपाईंले नयाँ सरकार बनाउने कुरादेखि पार्टीको महाधिवेशनको तयारीमा पनि लिंगरिङ गर्नुभयो भन्ने उहाँको आरोप छ नि ? भन्ने प्रश्नको जवाफमा देउवाले भने, ‘उहाँलाई कति भन्ने ? मलाई पार्टी सभापति भएदेखि नै यस्तै आरोप लगाउँदै आउनुभएको हो । तर, कांग्रेसमा त्यो छुट छ, बोल्न पाइन्छ । म ओलीजस्तो बोल्दैमा कारबाही गरेर निकाल्दिनँ ।’

देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन तोकिएकै मितिमा गर्नुको अर्को विकल्प नभएको बताए । ‘महाधिवेशन भदौमै गर्नुको अर्को विकल्प केही छैन । नेपालको संविधानअनुसार कुनै हालतमा पनि पार्टीको महाधिवेशन हुनैपर्छ । विकल्प खोज्न नेपालको संविधान संशोधन गर्नुपर्छ । त्यसका लागि संसदमा दुईतिहाइ चाहिन्छ,’ उनले भने, ‘कांग्रेससँग त्यो छैन, त्यसैले विकल्प छैन ।’देउवाले महाधिवेशनको तयारीका विषयमा छलफल गर्न गत बुधबार र सोमबारका बैठक स्थगित भएका विषयमा समेत आफूलाई आरोप लगाइएको भन्दै गुनासो गरे । उनले पार्टीका महामन्त्री डा. शशांक कोइरालाको सल्लाह मानेर आफूले स्थगित गरेको सुनाए । ‘महामन्त्री पनि डाक्टर हुनुहुन्छ, उहाँले नै बैठक रोकौँ भनेपछि रोकेको हुँ,

उहाँ आफैँलाई पनि कोभिड भएको हो,’ देउवाले अघि बोल्दै प्रश्न गरे, ‘एउटा डाक्टर मान्छे पार्टीको महामन्त्री छ, मैले उसको सल्लाह नमानेर हुन्छ ?’ पत्रकार सम्मेलनमा देउवाले प्रेस नोट जारी गर्दै कोभिड– १९ को नयाँ भेरियन्टसहितको दोस्राे चरणको संक्रमणका विषयमा सरकारसमक्ष पार्टीका प्रतिबद्धतासहितका मागहरू राखेका छन् ।

यस्तो छ देउवाको प्रेस नोट
देश कोभिड– १९ महामारीको दोस्रो चरणमा छ । अत्यन्त कम संख्यामा पिसिआर परीक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ ।

संक्रमितहरूको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ । बढ्दो संक्रमणसँगै आइसियू बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ । यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मन्यता जिम्मेवार छ । यो सरकार न विगतका गल्तीहरूबाट सिक्छ न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरूले दिएको सल्लाह र सुझाबलाई आत्मसात् गर्छ ।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार