• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

कोरोना फैलिएपछि झापामा सेना परिचालन


कोरोना भाइरसको सङ्क्रमण विरुद्ध सचेतना फैलाउन झापाका पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । जसअनुसार नेपाली सेनाले गस्ती शुरु गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले मेचीनगर, भद्रपुर नगरपालिका

सहित कचनकबल, गौरीगन्ज र झापा गाउँपालिकामा सेनाले गस्ती गर्न शुरु गरेको बताए । उनले ती पाँच स्थानीय तह भारतसँग सीमा जोडिएका स्थानीय तह भएकाले सीमा क्षेत्र भन्दा पाँच किलो मिटर उत्तर क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सपोर्टका लागि सेना परिचालन गरिएको बताए । ‘सशस्त्र नेपाल प्रहरीलाई थप सपोर्टका लागि सेना परिचालन गरिएको हो’ प्रजिअ तिमिल्सिनाले भने, ‘सेनाको गस्ती मुख्यतः अनाधिकृत मानिस प्रवेशमा रोक लगाउने देखि कोरानाको कहरका समयमा आवश्यक सुरक्षाका लागि जनतालाई सचेतना जनाउने मक्सत हो।’ उनले नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गणको टोली परिचालन गरिएको बताए।यसअघि पनि कोरोनाको पहिलो लहरको कोभिड–१९ को महामारी तीब्र गतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो ।

आधा घण्टाभित्र विराटनगरमा तीन सङ्क्रमितको मृत्यु
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस सङ्क्रमित तीन जना पुुरुषको आज (शनिबार) बिहान मृत्यु भएको छ । तीनै जनाको मृत्यु आधा घण्टाभित्रमा भएको हो । उपचारका लागि भर्ना भएका कोरोना सङ्क्रमितमध्ये एक जनाको हृदयघातका कारण ज्यान गएको छ । विराटनगर महानगरपालिका–३ का ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान ५ः५० बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित पुरुषमा एक्कासि हृदयघातको समस्या पनि थपियो । अचानक हृदयघात भएपछि थप उपचार गर्न नपाउँदै मृत्यु भएको दाहालको भनाइ छ । मृतक पुरुषको कोसी अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा वैशाख १५ गते रिपोर्ट पोजिटिभ आएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनी होम आइसोलेसनमा रहेका थिए । तर श्वासप्रश्वासमा अचानक समस्या भएपछि उपचारका लागि शुक्रबार बिहान ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो । ‘मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो कुनै समस्या नरहेको पाइएको छ,’ प्रबन्धक दाहालले भने, ‘कोरोना संक्रमणको उपचार जारी रहेका बेला हृदयघातको समस्या पनि थपिएपछि बचाउन सकिएन ।’

विराटनगरका पुरुषसँगै नोबेलको आइसोलेसनमा संक्रमित तीन जना पुरुषको शनिबार बिहान आधा घण्टाभित्रमा मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना प्रदेश १ को राजधानी विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन् । सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार