• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

देउवा निवासमा पनि ओलीले चुनावमै दिए जोड, कांग्रेसलाई चुनावी सरकारमा आउन आग्रह


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन्।उनले त्यसका
लागि प्रमुख प्रतिपक्ष कांग्रेस,प्रतिपक्ष जसपादेखि एमालेकै असन्तुष्ट रहेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका सांसदसँग व्यक्तिगत तवरमा

विश्वासको मत मागिरहेका छन् ।विश्वास दिने दल र सांसदका लागि आफूले के गर्न सकिन्छ भन्नेबारे विभिन्न ‘प्रस्ताव’ पनि भेटमा प्रस्तुत गरिरहेका दलका नेता र सांसदले बताउने गरेका छन् ।विश्वासको मत लिने तयारी गर्दै प्रतिनिधिसभाको अधिवशनसमेत आह्वान गरेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको अर्को निर्वाचन हुनुपर्ने र त्यसका लागि आफूले के गर्ने हो त्यसका लागि तयार रहेको भन्ने कुरा दोहोर्‍याउन पनि छोडेका छैनन् ।अहिलेको प्रतिनिधिसभा आफ्ना लागि सहज नभएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते विघटनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेका थिए । उक्त प्रस्तावअनुसार नै २ चरणमा निर्वाचन गर्ने गरी प्रतिनिधिसभा विघटन पनि गरियो । तर, प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र स्वीकृत गर्ने राष्ट्रपतिको कदमलाई सर्वोच्चले असंवैधानिक ठहर गरिदियो । फलस्वरुप प्रधानमन्त्रीले नरुचाइरहेको प्रतिनिधिसभा पुनःस्थापना भयो र चाहेको निर्वाचन खारेज भयो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको निर्वाचनको कुरा गर्न भने छोडेका छैनन् । बुधबार प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले निर्वाचनको प्रस्ताव मात्रै गरेनन् बरु चुनावी सरकारमा आउन कांग्रेसलाई आग्रह नै गरेका छन् । झन्डै सवा २ घण्टा बुढानिलण्ठमा बिताएका प्रधानमन्त्री ओलीले वर्तमान प्रतिनिधिसभाको कार्यकाल अगावै निर्वाचनमा जोड दिएको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।
बैठकमा सहभागी एमाले र कांग्रेसका नेताहरूले प्रधानमन्त्रीले आफू लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने स्पष्टीकरणमा समय खर्चिएका थिए । त्यसको ध्येय, वर्तमान प्रतिनिधिसभाको कार्यकाल अगावै अर्को निर्वाचनका लागि कांग्रेसलाई मनाउने प्रयास थियो ।

उनले आफूले लोकतन्त्रका लागि साह्रै दुःख गरेर आएको कुरा पनि दोहोर्‍याएका थिए । त्यसका साथै उनले प्रतिनिधिसभाको निर्वाचनमा जाने वातावरण बनाउन कांग्रेसका नेताहरूसँग आग्रह गरेका थिए ।कांग्रेसका नेताहरूलाई प्रधानमन्त्री ओलीले भनेको कुरा उल्लेख गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई तपाईंहरू बाहिर रहेर चुनाव जित्दा तपाईंहरूको राम्रो हुन्छ भन्नुभयो । तर, मैले चुनाव गराउँछ भन्ने तपाईंहरूलाई विश्वास लागेन भने सरकारमा आउन सक्नुहहुन्छ ।’ती नेताका अनुसार प्रधानमन्त्रीले कांग्रेसलाई आफ्नै सरकारमा सहभागी भएर निर्वाचन गराउन सकिने प्रस्ताव गरेका थिए । निर्वाचनको मिति घोषणा गर्नुपर्ने र त्यसमा आफूले एक दिन पनि तलमाथि नगर्ने प्रधानमन्त्रीले बचन दिएको नेताहरूले बताएका छन् ।

प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेसका नेताहरूले ओलीको ‘भनाई र गराई’मा भिन्नता रहेको जवाफ दिएका थिए ।
बैठकमा सहभागी कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतका अनुसार सरकारको नेतृत्व गरिरहेका एमालेका कृयाकलाप र प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमले सरकार लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध नदेखिएको भन्ने धारणा कांग्रेसका सभापति शेरबहादुर देउवाले राखेका थिए । लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन प्रधानमन्त्रीको तहबाट भूमिका ओलीले ननिभाएको तथा बोलीमा लोकतन्त्र शब्द दोहोर्‍याए पनि व्यवहारमा त्यो नदेखिएको जवाफ देउवाले दिएका थिए ।सत्ता साझेदारी र विश्वासको मतका लागि प्रधानमन्त्रीले राखेको प्रस्तावमा कांग्रेसले दिएको जवाफबारे महतले भने, ‘हामी विपक्षी दलको हैसियतले सत्ता साझेदारी गर्न र विश्वासको मत दिने अवस्थामा छैनौं ।

तर, लोकतान्त्रिक मूल्य, मान्यतालाई सुदृढ गर्ने कुराको सवालमा व्यवहारमा देखिनुपर्‍यो । सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलापको आधारमा अहिलेसम्म समर्थन गर्ने अवस्था छैन भनेर हामीले भन्यौं ।’कांग्रेसले लोकत्नत्र र निर्वाचनमा विषयमा आफ्ना धारणा राखेपछि प्रधानमन्त्री ओलीले आफ्नो ‘स्ट्यान्ड क्लियर’ रूपमा राखेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए । ‘केपी ओलीले चुनाव गराउँदैन । निरंकुशकता तानाशाहीतिर जान्छ भन्ने उहाँहरूको आशंका निवारण गराउनुभएको हो । तपाईंहरूलाई आश्वस्त तुल्याउन चाहन्छु कि निरन्तर लोकतन्त्रका लागि मैले दुःख गरेर अगाडि बढेको मान्छे हुँ भनेर प्रधानमन्त्रीले भन्नुभयो । यसमा अलिकति पनि यसमा प्रश्न उठ्न दिने छैन भन्ने उहाँको भनाइ थियो,’

नेम्वाङले भने ।यसअघि घोषणा गरिएको निर्वाचन होस् कि भविष्यमा आफ्नो नेतृत्वमा हुने चुनाव होस् निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्नेमा प्रधानमन्त्रीले आश्वस्त पारेको नेम्वाङले बताए ।साँझ ४ बजेदेखि सवा ६ बजेसम्म भएको छलफलमा प्रधानमन्त्रीले खासगरी आफूमाथि संसद्को विश्वास छैन, सरकार अल्पमतमा छ भन्नेजस्ता प्रश्न उठेकाले विश्वासको मत लिने निर्णय गरेकोबारे प्रतिपक्षी दललाई औपचारिक रूपमा जानकारी दिएको नेम्वाङको भनाइ थियो ।

‘प्रधानमन्त्रीले यसो गरिदिनुस्, उसो गरिदिनुस् भनेर भन्दैन तर मूल रूपमा अहिलेको अप्ठ्यारो अवस्थालाई निष्कर्षमा पुर्‍याउनका निम्ती निरंकुशताको विरुद्धमा सामूहिक रूपमा भूमिका खेलेका एमाले र कांग्रेसले एउटा साझा सोच बनाएर अघि बढ्नुपर्छ भन्दै आफ्ना कुरा राख्नुभयो,’ नेम्वाङले भने ।
जवाफमा कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीलाई विश्वास दिन नसकिने पार्टीको निर्णयबारे जानकारी गराएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार