• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै


काठमाडौं।नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल
गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई

२४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो । तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ । तर समय भने निश्चित भएको छैन ।एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘हामी आज बैठक बस्दै छौं, भर्चुअल माध्यमबाट भए पनि बस्छौं र कसरी अगाडि बढ्ने भनेर छलफल गर्छौं ।’ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ । त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए नेपाल समूहका सांसदहरुले राजीनामा गर्ने तयारी भएको छ ।

ओलीलाई माधव समूहको २४ घण्टे डेडलाइन, नभए सांसदहरुको राजीनामा
नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् ।शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं । तर भोलि साँझसम्म कुर्छौ’, एक सांसदले भने ।उनका अनुसार ओली अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार विहानसम्म सांसदहरुले राजीनामा दिनेछन् ।

राजीनामा दिन सांसदहरुले प्रतिबद्धता नै जनाएका छन् । ‘सांसदको राजीनामा व्यक्तिगत रुपमा बुझाउनुपर्छ, तर हामी सवै सांसद राजीनामा दिन तयार भएका छौं’, ती सांसदले भने ।प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । तर अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीलाई माधव नेपाल समूहका सांसदहरुले विश्वासको मत नदिने भएका छन् । ‘विश्वासको मत लिएपछि कारबाही अगाडि बढाउने योजनामा केपी ओली लाग्नु भएको छ । वार्ता पनि हामीलाई अल्मल्याउनकै निम्ति हुुँदैछ भन्ने सामुहिक निष्कर्ष हो’, बैठकमा सहभागी अर्का सांसदले भने ।

तर भोलि (आइतबार) पनि ओली पक्षसँग वार्तामा बस्न नेपाल समूहका नेताहरु तयार भएका छन् । बैठकमा नेताहरुले ओली पक्षका नेताहरुसँग वार्तामा गरिएको अडान र छलफलबारे सांसदहरुलाई ब्रिफिङ गरिएको थियो ।अध्यक्ष ओली २ जेठको एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्कन नचाहेको वार्तामा सहभागी नेताहरुको ब्रिफिङ थियो । २८ फागुन यता गरिएका निर्णय खारेज गर्दै अदालतको फैसला अनुसार एमालेको बैठक बसेर मात्रै अगाडि बढ्न सकिने अडानबाट पछि नहट्ने निर्र्णय पनि सांसदहरुको बैठकले निकालेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार