• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

स्थायी कमिटीमा उपस्थित हुन माधव नेपाललाई ओलीको फोन


काठमाडौं:प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता जोगाउनका लागि वरिष्ठ नेता माधव नेपाललाई मनाउन
प्रयास थालेका छन्। ओलीले आज बिहान नेपाललाई फोन गरी स्थायी कमिटीको बैठकमा सहभागी हुन आग्रह गरेका छन्।ओलीलाई जसरी पनि

प्रधानमन्त्रीबाट हटाउन लागिपरेका माधव झलनाथ खनाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि ओलीले छलफलका लागि फोन गरिएको बुझिएको छ। अहिले ९ बजेबाट बालुवाटारमा एमालेको स्थायी कमिटी शुरु हुने भनिएको छ। बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्यहरु बालुवाटार आइपुग्न थालेका छन्।माधव नेपालले भने अहिले बैठकमा सहभागी हुन नसक्ने जानकारी ओलीलाई गराएको नेपाल निकट स्रोतले जनायो।सोमवार प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकार गठनको आह्वान गरिसकेकी छन्। सोमवार राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ।सोमवार राष्ट्रपतिले वैशाख ३० गते राति ९ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन्। समयसीमा घकिँदै जाँदा ओलीले नेपाललाई मनाउन थालेका हुन्।

संवैधानिक प्रावधान अनुसार नयाँ गठबन्धन निर्माणका लागि संसदमा तत्काल कायम रहेको संख्याको बहुमत आवश्यक छ। प्रतिनिधिसभामा अहिले २७१ सदस्य छन्। जसको बहुमत १३६ हुन्छ। यसअघि भएको विश्वासको मतको मतदान अनुसार प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत खस्यो। विपक्षमा १२४ मत पर्दा तटस्थ १५ मत रह्यो। अन्य अनुपस्थित भए। हाल नयाँ गठबन्धनका लागि पनि विश्वासको मतको मत विभाजनमा तटस्थ बसेको जसपाको महन्थ ठाकुर समूह निर्णयक छ। तर, उक्त समूह कुनै पनि गठबन्धनमा नलाग्ने अडानमा यथावत छ।

एमालेका १२१ सदस्यमध्ये वरिष्ठ नेता नेपाल पक्षका सांसदहरू यसअघि विश्वासको मतको मत विभाजनमा अनुपस्थित रहे। राजीनामाबाट पछि हटेर बैठक बहिस्कार गरेका पक्षसँग कांग्रेसले गठबन्धन सरकारका लागि प्रयास जारी राखेको छ। नेपाल पक्षमा पछिल्लो समयमा अडिग रहेका २८ सांसद छन्। २८ मध्ये २० प्रत्यक्ष निर्वाचित हुन्।

नेपाल पक्षका असन्तुष्ट नेताहरूले राजीनामा दिएमा संसदमा तत्काल कायम संख्या घट्छ। त्यो घटेपछि बहुमतका लागि चाहिने आवश्यक संख्या पनि कम हुन जान्छ। जसकारण विपक्षी दलको गठबन्धन सहजै बन्ने अवस्था रहन्छ। यस्तो अवस्थाले ओलीको बिदाइ र नयाँ सरकारको सुनिश्चितता गराउँछ। यसैले पनि ओली अहिले नेपाललाई मनाउने प्रयत्नमा लागिपरेका छन्।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार