• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने, फेरि ओली नै प्रधानमन्त्री


काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् ।नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् ।बहुमतको सरकार

गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बहुमतको सरकार गठन गर्नबाट पछि हटेका हुन् ।बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने बताएका थिए ।

सरकार गठनमा बहुमत पुर्‍याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नदिने भएको छ ।

यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । उनी जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट छैन ।

किनकी बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार