• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

यसकारण ओलीलाई बिदाइ गर्ने गठबन्धनको चाहनामा लाग्यो ब्रेक, पार्टीभित्र र बाहिर ओली झन् शक्तिशाली


काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट बिदा गर्ने कांग्रेस-माओवादी गठबन्धनको सपनामा पुनः एकपटक ब्रेक लागेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सांसदबाट सामूहिक राजीनामा गराउनबाट रोक्न सफल

भएपछि ओली इतरको गठबन्धन धरापमा परेको हो। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको बिदाइका लागि गरेको गृहकार्य असफल भएको छ। बिहीबार माओवादीको पार्टी कार्यालयमा बसेको बैठकले सरकार गठनबारे कुनै औपचारिक निर्णय गर्न नसकेको स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।’एमालेको नेपाल-खनाल नेपाल नयाँ सरकार गठनमा सकारात्मक भए पनि कुनै निर्णय गर्नुभएको छैन। कांग्रेस जसपा र हाम्रो पार्टीले पहल गर्दागर्दै पनि उहाँहरूको निर्णय पर्खिरहेका छौं,’ उनले भने।माओवादी केन्द्रको बैठकमा प्रचण्डले सरकार गठनका लागि आवश्यक संख्या नपुगेकाले पछि हट्नुपरेको ब्रिफिङ गरेका थिए। ‘उहाँले नेताहरूसँगको भेटबारेमा बताउनु भयो। हाम्रो संख्या नपुग्ने भएकाले दाबी गर्दैनौं भन्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने।

यस्तै, प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि नयाँ सरकार गठनबाट एकाएक पछि हटेको बताएका थिए। माओवादी केन्द्रका नेताहरूका अनुसार नेपाली कांग्रेस सभापति देउवाले समेत प्रचण्डको भरोसा नभएको भन्दै सरकार बनाउन नचाहेको बताएका छन्।
‘गठबन्धन बन्ने सम्भावना थियो त्यो तुहियो। फेरि बन्नका लागि टाइम लाग्ला। प्रचण्डजी र माधवजीको भर हुँदैन भनेर कांग्रेस पछि हट्यो,’ उनले भने।
बिहीबार नै देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेट गरेका थिए। उक्त भेटमा जसपाको आधारमा नयाँ सरकार गठनमा नलाग्न देउवालाई महतो-ठाकुरले सुझाव दिएका थिए। साँझ बसेको कांग्रेसको पदाधिकारी बैठकले नयाँ सरकारका लागि दाबी नगर्ने निष्कर्ष निकालेको छ।

नयाँ गठबन्धनका लागि एमालेको नेपाल समूह निर्णायक देखिए पनि ओलीले नेपाल समूहलाई आफू इतरको गठबन्धनबाट आउट गराएका छन्। त्यसका लागि ओलीले नेपालले फागुन २३ गते यता उठाउँदै आएको मागलाई सम्बोधन गर्न कार्यदल बनाउने सहमति गरेको नेपाल निकट स्रोतले बताएको छ। बैठकपछि नेपालले पनि वार्ता सहमति उन्मुख भएको बताए। उनले २०७५ जेठ २ अघिको एमालेमा फर्कने समझदारी भएको र पार्टीका अरू विवाद मिलाउन कार्यदल बनाइने बताए।’हाम्रा ६ बुँदे मागका बारेमा छलफल भएको छ। तत्कालका लागि राजीनामा टर्‍यो। जेठ २ मा फर्किने समझदारी भएको छ,’

उनले भने।वैशाख २७ गते प्रतिनिधि सभामा ओलीले विश्वासको मत लिँदा नेपाल समूहले बहिस्कार गरेको थियो। उक्त घटनापछि ओली इतरको गठबन्धन बलियो भएको बताइएको भए पनि ओलीले बिहीबार नेपाल समूहका नेतामाथि गरिएको कारबाही एकाएक फिर्ता लिएपछि नयाँ सरकार बन्ने सम्भावना टरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार गठबन्धनको सरकार निर्णयका लागि आज राति ९ बजेसम्मको समय दिएकी छिन्।ओली निकट नेता तथा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले संविधानको धारा ७६(३) अनुसार ओलीलाई राष्ट्रपतिले राति ९ बजेपछि कुनै पनि बेला ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त गर्ने बताए। ‘आज राति ९ बजे राष्ट्रपतिले दिएको समय सकिने हो। त्यसपछि जुनसुकै बेला पनि उहाँ प्रधानमन्त्री नियुक्त हुनुहुन्छ,’ उनले भने।

उनले मूर्तरूपमा पार्टीमा सहमति भइनसके पनि कार्यदलबाट सबै समस्या टुग्यांउने सहमति भएकाले विवाद समाधान उन्मुख भएको बताए। ‘कार्यदल बनाउने भन्ने भयो। यो निकै राम्रो भयो। यसले सहमति बन्छ। अरू कुरा बिस्तारै छलफल हुन्छ,’ उनले भने।कामचलाउ बनेका प्रधानमन्त्रीले यो सँगै ठूलो दलको नेताको हैसियतले सरकार चलाउने छन्। एमालेको बालुवाटारमा आजै बसेको स्थायी कमिटीको बैठकले तत्काल गर्नुपर्ने निर्णयको अधिकार पनि ओलीलाई दिइसकेको छ। राष्ट्रिय राजनीतिका बारेमा निर्णय गर्ने अधिकार समेत बैठकले ओलीलाई दिएको छ।

यसअघि बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटीको बैठकले सांसद तथा पार्टीका नेताहरूलाई कारबाही गर्ने अधिकार समेत ओलीलाई दिएको थियो। पछिल्लो घटनाक्रमसँगै ओली पार्टीभित्रको राजनीतिमा समेत बलियो देखिएका छन्।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार