• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

अन्ततः ओलीसँग यसरि हारे देउवा र प्रचण्डले


काठमाडौं । विपक्षी दल हरु प्रधानमन्त्री केपी शर्मा ओली को विकल्प दिन असफल भएको छन् । प्रधानमन्त्री ओलीद्वारा पुस ५ मा
विघटित प्रतिनिधिसभा ११ फागुनमा पुनस्र्थापित भएयता वैकल्पिक सरकार निर्माणको प्रयास भएपनि अन्तत् आज असफल भएकोछ।आफैले संसदको

विषेश अधिवेशन बोलाए सोमबार प्रतिनिधिसभामा लिएको विश्वासको मत लिँदा ओली विफल भएपनि नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धन विकल्प दिन असफल भएको छ । ओलीले विश्वासको मत गुमाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दललाई बहुमतको सरकार बनाउन आज राति ९ बजेसम्म समय दिएकी थिइन् ।बहुमतको सरकार गठनका लागि काँग्रेस–माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षबीच भएको भगीरथ प्रयास असफल सिद्ध भयो ।ओलीको विकल्प दिने निर्विकल्प एजेण्डा बनाए नेताहरुको अलमल र अन्योलताले विपक्षी रणनीति असफल भएको देखिन्छ । त्यसमा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले मात्र काम गरेको छैन । सरकार नेतृत्व लिन कसिएको काँग्रेसमै पनि केही समस्या देखिन्छ ।

खटन–पटनमा समस्या
पछिल्ला दिनमा देउवा आफैले राजनीतिक भेटघाटमा तीव्रता दिएका थिए । साथै आफूनिकट महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, केन्द्रीय सदस्य रमेश लेखकलाई छलफलका लागि खटाएका थिए ।योबीचमा देउवाले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवसँग निरन्तर संवाद गरेका थिए । एमाले नेता भीम रावल, माओवादी नेता वर्षमान पुनसँग उनीहरुले निरन्तर छलफल गरिरहेका थिए । जसपाको उपेन्द्र र महन्थ पक्षसँगको छलफललाई काँग्रेस नेताहरुले जोड दिएका थिए । तर वैकल्पिक सरकार गठनका लागि मैदानमा उत्रिएका नेताहरुको राष्ट्रिय तथा अन्तरराष्ट्रिय नेक्सस थिएन ।

साथै देउवाले पार्टीको विपक्षी नेताहरुलाई साथमा लिएको पनि देखिएन । देउवाले छलफलका लागि खटाएका सबै नेता उनी निकट नै थिए । त्यसमा पनि काँग्रेसभित्र सत्ता राजनीतिका भेट्रान खेलाडी मानिने उपसभापति विमलेन्द्र निधि मौन जस्तै देखिए ।७३ मा भने तत्कालीन एमाले–माओवादी गठबन्धन तोडेर निधि ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउने सन्दर्भमा गेम चेञ्जरकै रुपमा देखिएका थिए ।तत्कालीन एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–काँग्रेस सहकार्यको सम्भव तुल्याएका थिए । उनी आफू पनि उपप्रधान तथा गृहमन्त्री समेत भनेका थिए । यो पटक उनी त्यो ढंगले सक्रिय भएको पाइएन ।देउवाले उपसभापति निधि, नेता कृष्ण सिटौला, शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतलाई अगाडि नसारेको कमजोरी गरेको काँग्रेस नेताहरुको भनाइ छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय पक्ष राम्रोसँग बुझेका र विश्वास गरेका नेताहरुलाई टोली बनाउन देउवा चुक्दा यस्तो अवस्था आएको बुझ्न गाह्रो छैन ।

माधव नेपाल पक्षमाथि बढी विश्वास
विहीबार मध्यान्हसम्म बहुमतको सरकारका लागि दाबी पेस गर्ने काँग्रेसको तयारी थियो । ओलीलाई विश्वासको मत नदिने निर्णयका साथ सोमबार प्रतिनिधिसभामा उपस्थित नभएको एमालेको खनाल– नेपाल पक्षले बहुमत जुटाउन सहजता प्रदान गरिदिने देउवाको विश्वास थियो । यही विश्वास माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा पनि थियो ।तर आफू पक्षीय नेताहरुको दबाबका कारण सोमबार सांसद पदबाट राजीनामा दिने निर्णयबाट पछि हटेका खनाल–नेपाल पक्षमाथि देउवा र प्रचण्डले बढी विश्वास गरे । नेपालले दिएको आश्वासनबाट उनीहरुमा बढेको विश्वासमा प्रधानमन्त्री ओलीले पार्टीको स्थायी समिति बैठक बोलाएर चिसोपानी खन्याइदिए ।बैठकबाट ६ महिनाका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाहीमा परेका माधव नेपाल,

भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको कारबाही फुकुवाको भयो । त्यसपछि आज चार बजे राजीनामा दिन अल्टिमेटम दिएका नेपालसँग ओलीले ६ बजेसम्म छलफल गरी दिए । पार्टीभित्रको विवाद समाधानका लागि दुई नेता सहमत पनि भए । अनि नेपालको भरमा प्रधानमन्त्री बन्ने देउवाको सपना तत्काललाई सकियो । देउवा र प्रचण्डले नेपाल पक्षको (ओली र आफूहरु) दोहोर संवादलाई गम्भीर रुपमा लिएको देखिएन । ओलीले स्टेप डाउन गर्ने वित्तिकै नेपाल पक्षसँगको सहकार्य सम्भव छैन भन्ने ख्याल गरेको पाइएन ।किनभने काँग्रेस र माओवादीले बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेपाल निकट खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाइएको छ । काँग्रेस र माओवादीले उम्मेदवारी समेत दिएका छैन ।माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्रीमा नेपाल पक्षले देउवालाई सहयोग गर्ने सर्तमा देवकोटालाई अगाडि सारिएको बताएका थिए ।

महन्थलाई फकाउन असफल
प्रधानमन्त्री ओली विरुद्ध गत फागुन ११ गते यता अविश्वासको प्रस्ताव ल्याउन विपक्षी दलबीच विमर्श भयो । देउवाले सुरुमा तत्कालीन नेकपाको आधिकारिकता खोजे ।फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युत्याइदिएपछि मात्र बल्ल देउवा सरकार बनाउने सरकारमा लागेका थिए । तर सरकार बनाउन देउवालाई माओवादी केन्द्र र जसपाको साथ अनिवार्य थियो । माओवादी केन्द्र देउवा नेतृत्वमा सरकार बनाउन तयार भए पनि जसपाको ठाकुर र महतो पक्षले ओलीसँग निकटता बढ्यो । उपेन्द्र र बाबुराम पक्ष वैकल्पिक सरकारको पक्षमा देखिए पनि ठाकुर र महतोले ओलीको निरन्तरताप्रति रुची देखाए ।काँग्रेसका सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले ठाकुरसँग छलफल गरेपनि उनको ओली मोह भंग गराउन सकेनन् ।

लामो समय काँग्रेसमा राजनीति गरेका ठाकुरले अन्तिम अवस्थामा काँग्रेस नेतृत्वको सरकार बनाउन साथ दिने काँग्रेस नेताहरुको बुझाइ थियो ।काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि बुझाइ रातोपाटीकर्मीसँगको अनौपचारिक कुराकानीका क्रममा राखेका थिए । ठाकुरसँग काँग्रेस नेताहरुले गम्भीर वार्ताको आवश्यकता पनि ठानेको देखिएको थिएन ।त्यसका पछाडि एमालेको नेपाल पक्षलाई साथमा लिँदा ठाकुरको उपादेयता छैन भन्ने सोच देउवा र प्रचण्डमा थियो । त्यही अनुसार उपेन्द्र यादवसँग उनीहरुले वार्ता अगाडि बढाएका थिए । सोमबार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिलाई आह्वान गर्न आग्रह गर्दा पनि यादवलाई मात्र साथमा लगियो । देउवा र प्रचण्डले जसपामा महन्थ र राजेन्द्र केही होइनन् भन्ने सोचमा साथ संयुक्त विज्ञप्ति जारी गरिएको राजेन्द्र महतोले गुनासो थियो ।

सरकारको दाबी पेस गर्ने नजिकिएसँगै ठाकुर र महतोले आफू निकट सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेर उपेन्द्र यादवलाई बहुमतको निर्णय लिन चुनौती दिए । माधव नेपाल पक्षको राजीनामा नआएपछि परिस्थिति उपेन्द्रको बसभन्दा बाहिर पुग्यो ।अनि देउवा र प्रचण्ड औचित्यहीन दाबी पेस गर्ने निष्कर्षमा पुगे । अब फेरि ओली नै संसदको सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार