• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

२०७५ साल ज्येष्ठ महिनाको मासिक राशिफल, यि राशिहरूकाे छ दुर्लभ योग ( भिडियो सहित )


हुन त २०७८ सालको ज्येष्ठ महिनाको ०१ गते शनिवार परेको छ, तर सूर्यले राशि संक्रमण गरेको समय सूर्योदय पूर्व नै भएकाले यसलाई शुक्रवारको सङ्क्रान्ति मान्ने चलन छ । ज्येष्ठ ०१ गते बिहान सूर्योदयपूर्व ०३ः२७ बजे सूर्यको राशि परिवर्तन भएकाले यस समयमा मीन लग्न,

शुक्ल पक्षको तृतीया तिथि, मृगशिरा नक्षत्र, सुकर्मा योग, कौलव करण, मानस आनन्दादि योग र मिथुन राशिको चन्द्रमा रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले ज्येष्ठ महिनाभरि बृष राशिमा विचरण गर्ने गर्दछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त मङ्गल र शुक्र ग्रहले पनि राशि परिवर्तन गर्ने सङ्केत छ । यस महिनाको ५ गतेदेखि आगामी साढे चार महिनाका लागि शनिको बक्री गति सुरु हुँदैछ । त्यस्तै यस महिनाको १२ गतेदेखि महिनाभरि बुध ग्रहको गतिमा समेत बक्रता देखापर्ने सङ्केत छ । सङ्क्रान्तिको समयमा वृष राशिमा सूर्य, बुध, शुक्र र राहु, मिथुन राशिमा चन्द्रमा र मङ्गल, कुम्भ राशिमा बृहस्पति, धनु राशिमा शनिश्चर र बृश्चिक राशिमा केतु ग्रहको उपस्थिति रहने छ । यस महिनाको १३ गते बेलुका शुक्र ग्रहले मिथुन राशिमा प्रवेश गर्नेछ भने २० गते मध्यरात्रीपछि मङ्गल ग्रहले कर्कट राशिमा प्रवेश गर्नेछन् । यस महिनाको सम्पूर्ण भाग बुधादित्य योग, ग्रहण योग र नपुंसक योग परेको समय छ ।
यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना शुक्रवारको सङ्क्रान्ति, बुधवारको पूर्णिमा र बिहीवारको अमावस्या पर्नु तथा महिनाभरि बुधादित्य योग रहनु शुभकारक नै समय मान्नुपर्ने हुन्छ, तर महिनाभरि सूर्य र केतु अनि बुध र केतुको युति रहनु लाभदायक मान्न सकिंदैन ।

बुध र केतुको युतिसम्बन्धले आम जनमानसमा निराशा, खिन्नता र डिप्रेसन बढाउने सङ्केत छ । त्यसैले सूर्य र केतुको युतिसम्बन्धले शासकहरू अनुत्तरदायी र लापरवाह बन्नाले आम जनमानसमा खिन्नता र निराशा बढ्ने तथा सरकार र जनताको दूरी बढ्दै जाने समयका रूपमा ज्येष्ठ महिनाको आगमन भएको देखिन्छ । अन्नको अभाव र भोकमरी बढ्नेछ । खाद्यपदार्थको मूल्यमा बृद्धि हुने र कालाबजारी बढ्ने परिस्थिति देखिन्छ । उद्योगधन्दामा महिनाको उत्तरार्द्धमा केही हदमा सुधार आउने छ । सरकारले कर र राजश्वको दरमा बृद्धि गर्ने संकेत छ । शैक्षिक संस्था, परीक्षा र प्रतियोगिता सञ्चालनका विषयमा अद्यापि अन्यौलता देखिनेछ । छात्रछात्राको पढाइको स्तर खच्किने छ । सामाजिक विद्वेष र धार्मिक विषयमा मतभेद र टीकाटिप्पणी हुनेछ । दक्षिणी भूभाग र भारतमा साम्प्रदायिक दङ्गाले स्थान पाउन सक्छ । पश्चिमी भूभाग, पञ्जाब वा पाकिस्तानमा बन्दहडताल वा आन्दोलनको परिस्थिति बन्नेछ । जुवातास, सट्टाबाजी र माफियागिरीमा बृद्धि हुनेछ । शेयर कारोबारमा मन्दी छाउने छ । गहुँ, जौ, घिउ, चना, सक्खर, दालजन्य अन्नादि, चिनी, आलस,

बदाम, तोरी, भटमास, खानेतेल, सुन, चामल, फलाम र मेसिनरी वस्तुहरू एवं स्टीलको दाममा भारी बृद्धि हुने सङ्केत छ । रासायनिक वस्तुहरू, रंगरोगन, औषधी, दुग्धादि पौष्टिक पदार्थको दाममा अस्थिरता देखिने छ भने प्लास्टिकका सामाग्रीको दाम घट्ने छ । नेपालको पश्चिमी तराईमा र भारतको उत्तरप्रदेश, दिल्ली, हरियाणा, राजस्थान आदि क्षेत्रमा गर्मी र लूको प्रकोप देखापर्नेछ ।२० गते मङ्गल ग्रहले राशिपरिवर्तन गरेपछि कोरोनाको तीव्र फैलावटमा कमी आउने छ, त्यसपछि बन्द यातायात र बजार आदि सशर्त खुल्न थाल्नेछन् तर २० गतेसम्म महामारीको प्रकोप त छँदैछ, त्यस अतिरिक्त कतैकतै आँधीबतासको प्रकोप, आगजनी, विस्फोट, सवारी दुर्घटना, विमान दुर्घटना, वज्रपात जस्ता प्राकृतिक प्रकोपसमेत ब्यहोर्नु पर्ने हुन्छ । वर्षाबादलका दृष्टिकोणले पूर्वी तथा मध्य पहाडी क्षेत्रमा ४ र ५ गते, ९ गतेदेखि १८ गतेसम्म तथा २५ गतेदेखि महिनाको अन्त्यसम्म नै पानी पर्नसक्ने वा बादल लाग्ने समय देखिन्छ तर मध्य तराईदेखि पश्चिमी तराईसम्म तथा पश्चिमी पहाडी क्षेत्रमा प्रायः महिनाभरि कडा घाम लाग्ने तथा खडेरी पर्नसक्ने र गर्मीजन्य प्रकोप बढ्ने महिना हो, ज्येष्ठ महिना ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट बाह्रौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले दोस्रो भावमा, चन्द्रमाले तेस्रो भावमा, मंगलले तेस्रो भावमा, बुधले दोस्रो भावमा, बृहस्पतिले एघारौं भावमा, शुक्रले दोस्रो भावमा, शनिश्चरले दसौं भावमा, राहुले दोस्रो भावमा र केतुले आठौं भावमा उपस्थिति जनाएको देखिन्छ ।तपाईंको राशिबाट सूर्यदेवले दोस्रो भावमा रहेको धनस्थानमा प्रवेश गर्दैछन् । वैवाहिक जीवन र प्रेमप्रसंगमा सुखद पल बिताउने अवसर मिल्नेछ भने कार्यक्षेत्रमा पनि कतिपय राम्रा अवसरहरू मिल्नेछन् । सूर्यले धनभावमा प्रवेश गर्नु भनेको आर्थिक पक्षमा तपाईंका लागि शुभ सङ्केत हो । छात्रछात्रामा सूर्यको सकारात्मक प्रभाव रहने छ, तर स्वास्थ्यस्थितिमा भने सानातिना समस्या देखा पर्न सक्छन् ।

सकेसम्म यस गोचर कालमा मानसिक तनाव र झञ्झटबाट जोगिने प्रयास गर्नुपर्छ । सूर्यको प्रभावले अब कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक सर्कलमा नाम÷सुनाम चल्ने र साख बढ्नेछ । मास प्रवेश लग्न बाह्रौं भावमा परेको हुँदा यो धनबृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो, तर आर्थिक दृष्टिले खास लाभ मिल्ने समय देखिंदैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु राम्रो हुन्छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको हिमचिम र भेटघाटका माध्यमबाट केही मुनाफा कमाउने अवसर मिल्नसक्छ । सूर्यको यस गोचरको प्रभावले शिक्षार्थीहरूले राम्रो नतिजा पाउने छन् ।

मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता मिल्नेछ । यो प्रेम जीवन र दाम्पत्य सम्बन्धमा नोकझोक चलिरहने समय हो, तर प्रेमसम्बन्ध झन् प्रगाढ बन्दै जानेछ । चेलीबेटी वा दिदीबहिनीलाई सघाउनु पर्ने समय देखिन्छ । समग्रमा सूर्यको यस गोचरको प्रभाव सन्तोषप्रद नै रहे पनि दोस्रो भावमा बसेका क्रूर ग्रहले केही अशुभ परिणाम पनि प्रदान गर्दछन्, जस्तै, शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ, पारिवारिक जीवन र कुटुम्बपक्षमा समेत केही चुनौती र समस्या झेल्नुपर्ने हुन्छ । प्रकृतिमा अलि कडापन र कठोरता देखापर्न सक्छ । आवेग, क्रोध र अहङ्कार पनि बढ्ने खतरा छ, बोलीमा कडापन देखिने छ, वादविवाद र कलहको योग भएकाले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेको जाति हुन्छ । पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना हुन्छ, सचेत हुनुपर्छ । चान्द्रराशिको गोचर फलअनुसार यस महिनाको ०३, ०४, ०५, १२, १३, २०, २१, २२, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट एघारौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले प्रथम भावमा, चन्द्रमाले दोस्रो भावमा, मंगलले दोस्रो भावमा, बुधले प्रथम भावमा, बृहस्पतिले दसौं भावमा, शुक्रले प्रथम भावमा, शनिश्चरले नवौं भावमा, राहुले प्रथम भावमा र केतुले सातौं भावमा उपस्थिति जनाएको देखिन्छ ।तपाईंको आफ्नै राशिमा सूर्यको प्रवेश हुँदैछ । राशि परिवर्तनको यस प्रभावले पेसा, व्यवसाय वा रोजगारी आदि क्षेत्रमा केही राम्रा र शुभ अवसरहरू प्राप्त हुनेछन् । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी पाउन सकिन्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । कुनै महत्त्वाकाङ्क्षी र स्थिर काम सम्पन्न हुने समय हो । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । मानसिक तवरले सबल, उत्साही, साहसी बन्नुहुनेछ । सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ ।

पदोन्नति वा स्तरबृद्धिको अवसर मिल्नेछ । घरपरिवार र इष्टमित्रको साथसहयोग पाइनेछ । आर्थिक पक्ष पनि मजबूत नै देखिन्छ । ा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ र गरेको प्रयासबाट धनधान्यमा वृद्धि हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्ने मनसाय पनि बन्नसक्छ । मास प्रवेश लग्न लाभ स्थानमा परेको हुँदा यो समय अल्छी गर्ने वा अकर्मण्य हुने होइन काम गरेर देखाउने समय हो, दृढ इच्छाशक्तिका साथमा लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ, सफलताले तपाईंको हात चुम्नेछिन् । इच्छा पूर्ण गर्न वा बडप्पन देखाउने सिलसिलामा खर्चमा बृद्धि हुने सङ्केत छ । पहिलेका यावत् समस्या र बाधाअड्चन हटाउने प्रयास हुनेछ । कडापन र निरंकुशता बढ्ने समय पनि हो, जसका कारण परिवारका सदस्य, प्रेमी वा जीवनसाथीसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । कार्यक्षेत्रमा बढी खट्नु पर्ने समय छ, अनि मिहिनेत र परिश्रम गर्ने व्यक्तिका लागि सूर्यले मागेको हरेक कुरा पूरा गर्ने समय हो ।

आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुने समय भएकाले तपाईमा कहिलेकाहीं अहङ्कार र आडम्बरको भावना पनि विकसित हुनसक्छ । दिमागी उलझन र बोझ बढ्ने समय भएकाले स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ । अन्य दिनका तुलनामा यस महिनाको ०५, ०६, ०७, १४, १५, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने संकेत छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट दसौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले बाह्रौं भावमा, चन्द्रमाले प्रथम भावमा, मंगलले प्रथम भावमा, बुधले बाह्रौं भावमा, बृहस्पतिले नवौं भावमा, शुक्रले बाह्रौं भावमा, शनिश्चरले आठौं भावमा, राहुले बाह्रौं भावमा र केतुले छैटौं भावमा उपस्थिति जनाएको देखिन्छ ।बाह्रौं भाव खर्च र हानिको घर हो, यो महिना यसै भावमा सूर्यले भ्रमण गर्नेछन्, त्यसैले आर्थिक क्रियाकलापका हरेक पक्षमा अनावश्यक र फाल्तु खर्च त भइरहेको छैन, खासगरी बजेटलाई सन्तुलित बनाउने प्रयास गर्नुपर्छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला,

नत्र कुनै ठूलै आर्थिक सङ्कटको परिस्थिति बन्नसक्छ । यो बाध्यात्मक खर्च बढ्ने समय पनि हो, तर जग्गाजमिन, सेयर कारोबार र दीर्घ प्रयोजनको काममा लगानी गरेको राम्रो हुन्छ अनि यस पाटोको काम गर्न ऋणकारोबार गर्नसमेत उपयुक्त समय छ । घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय छ ।

रपायकको जागीरलाई अलि पर फाइदामूलक क्षेत्रमा सार्ने मनसायमा हुनुहुन्छ भने प्रयास गर्नुहोस्, सरुवा हुनसक्छ । छात्रछात्राले आफ्नो खुबी र प्रतिभा प्रदर्शन गर्ने मौका छ, विदेश यात्रा वा वैदेशिक स्थलको शैक्षिक उपलब्धीका लागि प्रयास गर्नु राम्रो हुनेछ । मास प्रवेश लग्न दशम भावमा परेको हुनाले रोजगारीको प्रयासमा रहेकाहरूका लागि कुनै राम्रो अवसर हात पार्ने समय पनि हो । बाह्रौं घरमा बसेको सूर्यले छैटौं घरमा पूर्णदृष्टि राख्दछ, त्यसैले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ ।

नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । प्रेमसम्बन्धका लागि सामान्य समय छ अतः आपसी सम्बन्ध र पारिवारिक जीवनमा सावधान हुने समय हो । त्यस्तै व्यक्तिगत स्वास्थ्यका बारेमा लापरवाही नगर्नु होला, टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ, सँगीसाथीका बीचमा मौजमस्ती र खानपानको सिलसिलामा मोटै रकम खर्च हुनसक्छ । तर जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठीक हुन्छ । यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २५, २६ र २७ गतेका दिन चन्द्रमाले समेत अशुभ भावको यात्रा गर्ने भएकाले अझ धेरै सतर्कता अपनाउनु जाति हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट नवौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले एघारौं भावमा, चन्द्रमाले बाह्रौं भावमा, मंगलले बाह्रौं भावमा, बुधले एघारौं भावमा, बृहस्पतिले आठौं भावमा, शुक्रले एघारौं भावमा, शनिश्चरले सातौं भावमा, राहुले एघारौं भावमा र केतुले पाँचौं भावमा उपस्थिति जनाएको देखिन्छ ।यो समय राज्यस्थान वा लाभ भावमा सूर्यदेवले परिभ्रमण गर्ने समय हो । तपाईंका सम्पूर्ण इच्छा र आकाङ्क्षाहरू पूर्ण गर्ने महिनाका रूपमा यस समयको आगमन भएको छ । यस अवधिमा सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुने सम्भावना हुन्छ । गरेका प्रयास र कामधाममा हरेक तरिकाले लाभ पाउने समय हो । सरकारको उच्च ओहदाका मानिसहरूसँग सुसम्बन्ध कायम हुनेछ, अझ राजनीति नै तपाईंको कार्यक्षेत्र हो भने तपाईंले राम्रो फाइदा लिन सक्नुहुन्छ ।

कार्यालयमा सिनियर कर्मचारीले सहयोग र समर्थन गर्ने समय हो । आयस्तर बृद्धि गर्न भएगरेका प्रयासमा सफलता मिल्नेछ । घरघडेरी वा शेयर बजारमा पूँजी निवेश गर्न अनुकूल समय छ । यस पटकको मिहिनेतले तपाईंको हातमा धनागमको नयाँ स्रोत वा स्थायी रोजगारी प्राप्त हुनेछ ।स्वयं आफैंले वा जीवनसाथीले नयाँ रोजगारी पाउने समय छ, अथवा कुनै नयाँ कामको थालनी हुनेछ । मास प्रवेश लग्न भाग्यस्थानमा परेको छ, त्यसैले यस समयावधिमा गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठा बढ्नेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । सरकारी वा प्रशासनिक कामका माध्यमबाट भाग्योदयको खोजीमा हुनुहुन्छ भने प्रयास गर्नुहोस्, फरक पर्दैन । नेतृत्ववर्ग र सिनियर कर्मचारीको साथसहयोग र सहानुभूति मिल्नेछ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ ।

यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । प्रेम जीवन र दाम्पत्य सम्बन्धमा सतर्कता अपनाउने समय छ, नोकझोक र कलहको वातावरण बनिरहन्छ । वैवाहिक जीवन र प्रेमप्रसंगका लागि नराम्रो समय छैन, तर घरिघरि नोकझोक र विवाद बढ्ने भएकाले सामान्य चुनौती र समस्याहरू झेल्दै अघि बढ्नुपर्ने हुन्छ । बालबच्चाको स्वास्थ्यस्थिति र आचरणबारे पनि सतर्कता अपनाउनु पर्छ । समग्रमा भन्ने हो भने यो महिना हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने समय छ । तपाईंको राशिस्वामी चन्द्रमाले यस महिनाको ०१, ०२, १०, ११, १८, १९, २०, २८, २९ र ३० गते अशुभ फल प्रदान गर्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट आठौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले दसौं भावमा, चन्द्रमाले एघारौं भावमा, मंगलले एघारौं भावमा, बुधले दसौं भावमा, बृहस्पतिले सातौं भावमा, शुक्रले दसौं भावमा, शनिश्चरले छैटौं भावमा, राहुले दसौं भावमा र केतुले चौथो भावमा उपस्थिति जनाएको देखिन्छ ।

सूर्यले दशम भाव अर्थात् कर्मक्षेत्रमा प्रवेश गरेको छ, यसको प्रभावले कार्यक्षेत्र र क्यारियरमा अचानक शुभ परिणाम प्राप्त हुनसक्छन् । कुल, परम्परा र आध्यात्मिकतातर्फ चासो बढ्नेछ । यो कडा मिहिनेत गरी आफ्नो वर्चस्व स्थापना गर्ने समय हो । कार्यस्थलमा उन्नति÷प्रगति र प्रशंसा प्राप्त हुनेछ । वरिष्ठ र हाकिमसँगको सम्बन्धमा सुधार आउने समय छ । व्यवसाय र क्यारियरमा चतुर्दिक् उन्नति गर्ने समय हो, व्यवसायीहरूले राम्रो मुनाफा कमाउने अवसर पाउन सक्छन्, त्यस्तै कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । मानसम्मान, प्रतिष्ठा र आत्मविश्वासमा बृद्धि हुनेछ । पारिवारिक माहौल खुसी र आनन्दले भरिपूर्ण रहने छ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने समय छ ।

कर्मचारीहरूले मनले चाहेको जिम्मेबारी र पदभार पाउने समय हो । स्वास्थ्यगत समस्याहरूको निदान हुनेछ । परीक्षा र प्रतियोगितामा सफल भइने छ । सरकारी अड्डाअदालतमा कुनै काम रोकिएको छ भने सुल्झाउन सकिने छ । राजनैतिक क्षेत्रको नयाँ जिम्मेवारी पाउने समय पनि हो, त्यस्तै विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्न सक्नेछन् । शैक्षिक वा प्रतियोगितात्मक माध्यमबाट विदेश जान चाहने छात्रछात्राले सफलता पाउने समय छ । प्रेमजीवनमा सामान्य नै देखिन्छ, तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तताका कारण पार्टनरलाई समय प्रदान गर्न सकिंदैन । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा उतारचढाव भई रहनेछ ।

व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । अतः यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ तर यस पटकको मास प्रवेश लग्न अष्टम भावमा परेको छ, त्यसैले जोखिममूलक कामबाट जोगिनु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, २०, २१, २२, ३० र ३१ गतेको चन्द्रमा तपाईंका लागि अशुभकारक रहने संकेत छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट सातौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले नवौं भावमा, चन्द्रमाले दसौं भावमा, मंगलले दसौं भावमा, बुधले नवौं भावमा, बृहस्पतिले छैटौं भावमा, शुक्रले नवौं भावमा, शनिश्चरले पाँचौं भावमा, राहुले नवौं भावमा र केतुले तेस्रो भावमा उपस्थिति जनाएको देखिन्छ ।

धर्मस्थानमा सूर्यको प्रवेश भएको छ, यस अवधिमा धर्म, दर्शन, परम्परा, अध्यात्म र आत्मिकताको यात्रामा अघि बढ्न सक्नुहुन्छ वा त्यस्ता क्रियाकलाप वा पठनपाठनप्रति आकर्षण बढ्ने छ । त्यस्तै यो दृढ इच्छाशक्तिको उदय हुने तथा शरीरमा पनि उत्साह र ऊर्जा भरिपूर्ण हुने समय छ । कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा वर्चस्व स्थापना हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय हो । धार्मिक, पारम्परिक वा सांस्कृतिक महत्त्वको क्षेत्रमा पुग्न सक्नुहुन्छ । सन्तानले उन्नति÷प्रगति गर्नेछन् । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ ।

उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय रहने छ । यसै भावमा बसेको सूर्यले केही नकारात्मक र मिश्रित प्रकृतिका फल पनि प्रदान गर्दछ, जस्तै, आयातनिर्यातको काम वा विदेशसँग सम्बद्ध कारोबार गर्ने व्यापारीहरूका लागि आर्थिक उपार्जनका लागि राम्रो अवसर मिल्नेछ, तर अन्य क्षेत्रका व्यक्तिहरूले यस अवधिमा खासै ठूलो उपलब्धी लिन सक्दैनन् । परिश्रमी र इमानदारहरूका यो गोचर भाग्यबृद्धिको समय हो तर बिचौलियाको काम वा कमिशनमा आधारित काम गर्नेहरूका लागि सतर्कता अपनाउने समय हो ।

प्रशासनिक उल्झन, समस्या र जेलनेलको योगसमेत बनेको छ, त्यसैले यस क्षेत्रको काम गर्ने मानिसले होस राख्नुपर्छ । पिता वा पितृतुल्य व्यक्तिको स्वास्थस्थितिले चिन्ताको विषय बन्नसक्छ । त्यस्तै परिवारमा भाइ बहिनी आदिका कारण कुनै तनाव उत्पन्न हुनसक्छ । महिनाको प्रारम्भमा दैनिक र बाध्यताकारी खर्चको मात्रामा ह्वात्तै बृद्धि हुनसक्छ । यसरी यो महिना समय मिश्रित फलदायी भए पनि समग्रतामा तपाईंले खिन्नता जनाउनु पर्ने समय छैन । त्यस्तै सातौंभावमा परेको मासलग्नको प्रभावले समय मनोरञ्जनका क्षेत्रमा केन्द्रित रहनसक्छ । यस महिनाको ०५, ०६, ०७, १४, १५, २३, २४ र २५ गतेका दिन व्यक्तिगत स्वास्थ्यस्थिति र जोखिममूलक काममा सतर्कता अपनाउनु पर्ने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट छैटौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले आठौं भावमा, चन्द्रमाले नवौं भावमा, मंगलले नवौं भावमा, बुधले आठौं भावमा, बृहस्पतिले पाँचौं भावमा, शुक्रले आठौं भावमा, शनिश्चरले चौथो भावमा, राहुले आठौं भावमा र केतुले दोस्रो भावमा उपस्थिति जनाएको देखिन्छ ।

अष्टम भावमा सूर्यको गोचर प्रारम्भ भएको छ, यो दुर्घटनाकारक भाव भएकाले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दासमेत सावधान हुनु राम्रो हुन्छ । भाइरलको समस्या वा मूत्रग्रन्थी र यौनमूलक रोगले पनि सताउन सक्छ । अतः यो समय विशेषगरी व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति सचेत हुने समय हो । यो हरेक काममा विघ्नबाधा र ढिलासुस्ती हुने समय पनि हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्न सकेमामात्र सफलता मिल्नेछ । अनायायसै खर्चको मात्रामा ह्वात्तै बृद्धि हुने समय हो त्यसैले आर्थिक मामिलामा पनि खास उपलब्धी लिनसकिंदैन । तर पनि बहुपक्षीय लगानी र साझेदारीमा गरिने कारोबारका माध्यमबाट यस अवधिमा लाभ लिन सक्नुहुन्छ ।

व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरूको सक्रियता बढ्नेछ, साथै आफ्नै वरपर बसेर आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुने समय छ । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्नबाधा उत्पन्न हुनेछ । कार्यक्षेत्रमा सिनियर्सहरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । यो महिना कुनै पनि शुभकर्म र दीर्घप्रयोजनको काम गर्न उपयोगी समय मानिंदैन । धनस्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हराउने वा आम्दानीको मार्गमा कमी आउने समय हो, त्यस्तै बन्दव्यापारमा पनि घाटा हुनसक्छ । मानसिक सन्तुलन गुम्ने र बेचैन हुने समय छ, यस पटकको मासलग्न छैंटौं भावमा परेको छ, त्यसैले साथीभाइ र परिवारका सदस्यहरूको सम्बन्धमा चिसोपन देखिन सक्छ, आफन्तका बीचमा नै विश्वासको कमी हुने भएकाले बोलीमा अंकुश लगाउनु र विवादबाट जोगिने प्रयास गर्नु राम्रो हुन्छ ।

यो धनसम्पत्तिको थैलो कसेर राख्ने समय पनि हो, लापरवाही गर्दा गहनागुरिया वा रुपैयाँपैसा चोरी हुने खतरा छ । व्यवसायीहरूले कारोबार विस्तारमा रोक लगाउनु बुद्धिमानी हुनेछ, किनभने यो धनागमका लागि राम्रो समय मानिंदैन । यस अवधिमा विदेशमा बस्नेहरूले केही शुभ परिणाम पाउन सक्छन् । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि प्रतिकूलता र अशुभता बोकेर आउनसक्छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट पाँचौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले सातौं भावमा, चन्द्रमाले आठौं भावमा, मंगलले आठौं भावमा, बुधले सातौं भावमा, बृहस्पतिले चौथो भावमा, शुक्रले सातौं भावमा, शनिश्चरले तेस्रो भावमा, राहुले सातौं भावमा र केतुले प्रथम भावमा उपस्थिति जनाएको देखिन्छ ।

सातौं घर साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो, व्यापारी वा व्यवसायीहरूले अचानक अयाचित र भरपूर लाभ पाउने समय लिएर सूर्यले यसै भावमा प्रवेश गरेको छ । बोलीमा विशेष प्रभाव देखापर्ने छ । रूपसौन्दर्य र व्यक्तिगत साजसज्जाप्रति मनको आकर्षण रहने छ । साझेदारीको काम र बहुपक्षीय कामबाट फाइदा नै हुनेछ, तर स्थिर सम्पत्ति र शेयरमा लगानी गर्दा सोच र बुद्धिको निकै प्रयोग गर्नुपर्नेछ । जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । उता वैवाहिक जीवन र प्रेमसम्बन्धमा पनि सुखद र मिठो फल प्राप्त हुने सङ्केत छ, तर यस अवधिमा अहङ्कार र रिसलाई आफूभित्र हाबी हुन दिनु हुँदैन ।

धार्मिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । कार्यक्षेत्रमा वर्चस्व कायम हुनेछ । खर्चका दृष्टिकोणले सामान्य समय छ भने स्वास्थ्यका दृष्टिकोणले आफूलाई कमजोरीको आभास हुने समय हो, किनभने सूर्यको पूर्णदृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्यभागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ, त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्नसक्छन् । अतः व्यक्तिगत स्वास्थ्यस्थिति र सबल मानसिकताका निम्ति गम्भीर हुनु जाति हुन्छ ।

कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, साझेदार, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । सूर्यको प्रभावले कार्यक्षेत्रमा उच्च तहका अधिकारी र सिनियर्स एवं व्यवसायिक साझेदारसँग मतभेद र विवाद बढ्ने सम्भावना छ । पिताजी वा जीवनसाथीसँगको सम्बन्धसमेत राम्रो हुनेछैन, अतः पारिवारिक र वैवाहिक जीवनमा देखिएका मतभेद र असन्तुष्टिहरू हटाउने, आपसी सम्बन्धलाई मीठो बनाउने तथा व्यवसाय वा कार्यक्षेत्रमा बढी समय प्रदान गर्ने प्रयास गर्नु राम्रो हुन्छ । यस अवधिमा पेसा परिवर्तन गर्ने वा नयाँ ठाउँमा जम्प गर्ने विचार गर्नु भएको छ भने अर्को ठाउँमा पक्का भएमात्र पुरानो ठाउँ छाड्नु ठीक हुन्छ । पाँचौं भावमा मास प्रवेश लग्न परेको हुँदा छात्रछात्राले उपलब्धी लिन सक्नेछन् । यस महिनाको ०१, ०२, १०, ११, १८, १९, २०, २८, २९ र ३० गतेको चन्द्रमा तपाईंका लागि अशुभ रहने भएकाले सतर्कता अपनाउनु पर्ने हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट चौथो भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले छैटौं भावमा, चन्द्रमाले सातौं भावमा, मंगलले सातौं भावमा, बुधले छैटौं भावमा, बृहस्पतिले तेस्रो भावमा, शुक्रले छैटौं भावमा, शनिश्चरले दोस्रो भावमा, राहुले छैटौं भावमा र केतुले बाह्रौं भावमा उपस्थिति जनाएको देखिन्छ ।

यो महिना सूर्यले तपाईंको राशिबाट छैटौं भावमा गोचर गर्ने समय हो । यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । शत्रु र प्रतिद्वन्द्वीमाथि हाबी हुने र विजय प्राप्त हुने समयको आगमन भएको छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । प्रतियोगिता र परीक्षामा सहभागी हुने छात्रछात्राले सफलता आर्जन गर्नेछन् । व्यापारी वा व्यवसायीले मुनाफा र फाइदाका लागि अझ धेरै मिहिनेत र परिश्रम गर्ने समय हो । उधारो वा कर्जा चुक्ता गर्ने समय हो । आर्थिक दृष्टिकोणले सामान्य परिस्थिति नै रहने छ, यस अवधिमा भाग्यबलको मात्रामा कमी हुने भएकाले कल्पना र भावनामा हराउनु भन्दा पनि कर्मप्रति विश्वास गरी कार्यक्षेत्रमा मिहिनेत गर्नु राम्रो हुनेछ ।

मास प्रवेश लग्न चतुर्थ भावमा परेको हुँदा अचल सम्पत्ति वा घरघडेरीको किनबेचका निमित्त योजना बनाउने वा ऋण काढ्ने सम्भावना देखिन्छ । जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवादलाई हल गर्न प्रयास गरिने छ । नोकरी र रोजगारीको क्षेत्रमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सकारात्मक समय छ । शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । तर पनि यो शत्रुपक्ष अर्थात् प्रतियोगी र प्रतिस्पर्द्धीसित सतर्कता अपनाउने समय हो ।

विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । छैटौं भाव झगडा र रोगको घरसमेत भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारका बारेमा सचेतता अपनाउनु ठीक हुन्छ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नुपर्छ । जीवनसाथी वा प्रेमीको स्वास्थ्यस्थितिले पनि चिन्ता बढाउन सक्छ । त्यस्तै सूर्यले बाह्रौं भावमा पूर्णदृष्टि राख्ने हुँदा यो खर्च बढ्ने समय पनि हो । यस महिनाको ०३, ०४, ०५, १२, १३, २०, २१, २२, ३० र ३१ गतेका दिन अष्टमेश चन्द्रमाले अशुभ गृहको यात्रा गर्ने भएकाले तपाईंले ती दिनमा सतर्कता अपनाउनु आवश्यक छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट तेस्रो भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले पाँचौं भावमा, चन्द्रमाले छैटौं भावमा, मंगलले छैटौं भावमा, बुधले पाँचौं भावमा, बृहस्पतिले दोस्रो भावमा, शुक्रले पाँचौं भावमा, शनिश्चरले प्रथम भावमा, राहुले पाँचौं भावमा र केतुले एघारौं भावमा उपस्थिति जनाएको देखिन्छ ।

सन्तान, बुद्धि, विवेक, हृदय संवेद्यता बताउने पाँचौंभावमा सूर्यले गोचर गर्ने महिना प्रारम्भ भएको छ । अब तपाईंको कार्यक्षेत्र र बन्दव्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय हो । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्नसक्छन् । जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय छ । यो अचानक धनलाभ हुनसक्ने समय पनि हो । भविष्यको योजना बनाएर गरिने लगानी जस्तै घरघडेरी, जग्गाजमिन, वीमा वा शेयर कारोबारमा धन लगानी गरेमा लाभ हुनेछ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । मास प्रवेश लग्न तृतीय भाव अर्थात् पराक्रम स्थानमा रहेकाले सामाजिक जीवनमा राम्रो देखिन्छ ।

पञ्चम भावमा सूर्यको प्रवेश हुँदा कुनैकुनै विषयमा नकारात्मक फलसमेत पाउन सकिन्छ, जस्तै मानसिक तनाव बढ्न सक्छ । छाती, पेट र हृदयसम्बन्धी रोगले दुःख दिन सक्छ । यस अवधिमा शिक्षार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । हुन त ज्ञान, बुद्धि र विवेकको स्तर बृद्धि गर्ने समय हो, तर पनि शिक्षार्थीहरूले यस अवधिमा राम्रो परिणामका लागि अझ धेरै मिहिनेत र परिश्रम गर्नुपर्ने हुन्छ । त्यस्तै आर्थिक पक्ष पनि असन्तुलित रहने समय हो, त्यसैले रकमकलमको सञ्चयप्रति ध्यानकेन्द्रित हुनु आवश्यक छ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ ।

बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । व्यवसायीहरूले धैर्य र संयम भई कारोबारमा ध्यानकेन्द्रित गर्नुपर्ने हुन्छ । वैवाहिक जीवन र प्रेमप्रसंगमा त्यत्ति राम्रो समय देखिंदैन, यौनजन्य विकार देखापर्न सक्छ, सचेतता अपनाउनु होला । प्रेम जीवनमा उतारचढाव आउनेछ, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १४, १५, २३, २४ र २५ को चन्द्रगोचर तपाईंका लागि शुभ कारक हुनेछैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट दोस्रो भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले चौथो भावमा, चन्द्रमाले पाँचौं भावमा, मंगलले पाँचौं भावमा, बुधले चौथो भावमा, बृहस्पतिले प्रथम भावमा, शुक्रले चौथो भावमा, शनिश्चरले बाह्रौं भावमा, राहुले चौथो भावमा र केतुले दसौं भावमा उपस्थिति जनाएको देखिन्छ ।

मातृसुख, वाहनसुख र विदेश यात्राको फल प्रदान गर्ने घरमा सूर्यको आगमन भएको छ । भाग्यले साथ दिने समय हो, अबको एक महिना व्यापार÷व्यवसाय वा बुद्धि र चतुर्याइँको कामबाट लाभ मिल्नेछ । कार्यक्षेत्रमा तपाईंका क्रियाकलापले प्रशंसा बटुल्नेछन् । कुनै विशेष योजना, छात्रवृत्ति वा अनुसन्धानात्मक काममा सफलता प्राप्त हुनेछ । मास प्रवेश लग्न दोस्रो भाव अर्थात् धनस्थानमा परेको छ, त्यसैले अहिलेको समय आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन् । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त मिल्नेछ ।

नयाँ घरघडेरीको जोहो गर्ने विचारमा हुनुहुन्छ भने यो महिना उचित समय हुनसक्छ । प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य समय छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय हो ।घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । यस भावमा बसेको सूर्यले राम्रा फलका तुलनामा अलि धेर नकारात्मक फल प्रदान गर्दछ, जस्तै, आन्तरिक सम्पत्ति वा घरायसी पूँजीका बारेमा कुनै ठोस निर्णय गर्ने योजनामा हुनुहुन्छ भने यो महिना टारेको जाति हुन्छ । यो समय भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, परिणामतः कमाएको धन सञ्चित हुँदैन, बरु ऋणभार बढ्ने समय छ, होस राखेर चल्नुपर्छ तर घरघडेरी खरिद गर्न वा घर मरम्मत गर्न ऋण काढेमा फरक पर्दैन ।

परिवारभित्र नयाँनयाँ समस्या उत्पन्न हुनेछन्, त्यसैले एक आपसमा कुनै भ्रम वा चिन्ताको विषय छ भने छिटै सुल्झाउनु राम्रो हुन्छ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन्छ, कार्यक्षेत्रमा सिनियर्ससित मनमुटाव र तिक्तता बढ्नेछ ।प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । स्वास्थ्यका दृष्टिकोणले पनि कमजोर समय छ, त्यसैले खानपान र आहारविहारमा सतर्कता अपनाएको जाति हुन्छ । यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २५, २६ र २७ गतेको चन्द्रमाले तपाईंलाई शुभ फल प्रदान गर्नेछैनन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट प्रथम भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले तेस्रो भावमा, चन्द्रमाले चौथो भावमा, मंगलले चौथो भावमा, बुधले तेस्रो भावमा, बृहस्पतिले बाह्रौं भावमा, शुक्रले तेस्रो भावमा, शनिश्चरले एघारौं भावमा, राहुले तेस्रो भावमा र केतुले नवौं भावमा उपस्थिति जनाएको देखिन्छ ।

तेस्रो घर अर्थात् पराक्रम स्थानमा भगवान् सूर्यनारायणको आगमन भएको छ । यस अवधिमा बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक धनप्राप्तिको योग बनेको छ । सामाजिक सम्बन्धमा सुधार आउने छ, परोपकार, एकाग्रता र समर्पण भावमा बृद्धि हुने समय हो । आत्मबल र हिम्मतको सञ्चरण हुनाले यतिवेला जेजस्ता समस्या र चुनौती तेर्सिए पनि सहजै झेल्नसक्ने सामर्थ्य प्राप्त हुनेछ । धार्मिक र परोपकारी कार्यमा रुचि जाग्नेछ, मित्रवर्ग, बन्धुबान्धव र कुटुम्बपक्षको पूर्ण साथसहयोग प्राप्त हुनेछ । मास प्रवेश लग्न तपाईंको आफ्नै राशिमा परेको देखिन्छ, त्यसैले तपाईंको कार्यक्षेत्र राजनीति हो भने यस अवधिमा कुनै निकाय वा परियोजनाको नेतृत्व वहन गर्ने र जिम्मेवारी प्राप्त गर्ने अवसर पाइने छ ।

पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन÷दिन सकिनेछ ।व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाइने छ । कार्यक्षेत्रमा उन्नति÷प्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्नेछ । दान र सहयोग गर्न केही रकमकलमको उपयोग हुनसक्छ । मित्रशक्तिबाट सहयोग, समर्थन र लाभ प्राप्त हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि शुभताको सङ्केत देखा पर्नेछ । प्रेमप्रसंग र जीवनसाथीसँगको सम्बन्ध सामान्य रहने छ, तर कार्यक्षेत्रमा व्यस्त हुनाले प्रेमभावना निरस हुने वेला हो, त्यसैले पार्टनरको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठीक हुन्छ ।

भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय पनि हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । परकाले सहयोग गर्ने तर आफन्तले पछाडि बसेर आलोचना गर्ने परिस्थिति पनि बन्नसक्छ, अतः यस अवधिमा नजिकका आफन्तहरू, नोकरचाकर र अनुयायी वा शिष्यहरूदेखि सतर्कता अपनाउनु पर्छ । स्वास्थ्यका दृष्टिकोणले कमजोर समय छ, आफ्नो र घरपरिवार सबैको स्वास्थ्यस्थितिप्रति सतर्कता अपनाउनु होला ।सामान्यतया यस महिनाको ०१, ०२, १०, ११, १८, १९, २०, २८, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

हेर्नुस भिडियो

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार