• २०८१ मङ्सिर २६ गते बुधवार
  • Preeti To Unicode

अनियमितताको हद : अक्सिजन प्लान्ट खरिदको ठेक्का लिएर ठेकेदारले ल्याइदिए जेनेरेटर


कोरोनामहामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको आरोप लागेकोछ
अस्पतालले अक्सिजन प्लान्ट खरिद को लागि ठेक्का दिएको ठेकेदार ले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा

परेको छ। जिल्ला अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी गर्दै अक्सिजन प्लान्ट खरिदको लागि बोलपत्र आह्वान गरेको थियो । अक्सिजन प्लान्ट खरिदको जिम्मा सुर्खेतमा रहेको ड्रागन मेडिटेकले पाएको थियो । तर उसले अक्सिजन प्लान्ट ल्याउने सम्झौता विपरीत आफूखुसी अक्सिजन सिस्टम जेनेटर ल्याएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताए ।निमित्त निर्देशक खड्काका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय र सल्यान अस्पतालले अक्सिजन प्लान्ट खरिद गर्न सूचना निकालेको थियो । तर, ठेकेदारले आफूखुसी अक्सिजन प्लान्ट नभई अक्सिजन सिस्टम जेनेटर खरिद गर्दा विवादमा आएको बताएका छन् ।निर्देशनालय र अस्पतालले अक्सिजन प्लान्ट खरिदका लागि आवश्यक सूचना गरेपनि आयातकर्ता ठेकेदारले अर्कै सामग्री पठाएको र त्यो माग अनुसारको सामग्री नभएकाले त्यसलाई नराखिने निमित्त निर्देशक खड्काले बताए ।

‘सम्झौता विपरीत सामग्री गएको पाइएको छ, यसबारे हामीले छलफल गरिरहेका छौं, अझै ठेकेदारलाई भुक्तानी दिइएको छैन्, सामग्री फिर्ता पनि हुन सक्छ,’ खड्काले अनलाइनखबरसँग भने ।उक्त मेसिन १२ दिन अगाडि अस्पतालमा ल्याइए पनि शनिबार मात्रै जडान गरिएको थियो । अक्सिजन प्लान्टको ठाउँमा ‘अक्सिजन कन्सर्नट्रेटर’ भएको जडानका क्रममा थाहा पाइएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताए ।उक्त मेसिनलाई फिर्ता पठाउनुको विकल्प नरहेको प्रमुख श्रेष्ठ बताए । ‘कसैको पनि दबाबमा नपरी उक्त मेसिन फिर्ता गर्छाैं, यो चाहिनेभन्दा बाहिरको अनावश्यक सामग्री भएकाले यसलाई फिर्ता पठाउनुको विकल्प छैन्,’ उनले भने ।

उता, आयातकर्ता ड्रागन मेडिटेकका संयोजक गगन शाहीले भने अक्सिजन सिस्टम जेनेरेटरले पनि अक्सिजन कन्सर्नट्रेटर र अक्सिजन प्लान्ट जस्तै अक्सिजन उत्पादन गर्ने भएकाले नयाँ मेसिन खरिद गरिएको बताए ।‘यसले पनि अक्सिजन प्लान्ट र कन्सर्नट्रेटरको जस्तै काम गर्छ, योबाट प्रति मिनेट ४० लिटर अक्सिजन उत्पादन हुन्छ,’ उनले भने, ‘निर्देशनालय र अस्पतालले निकालेको सूचनाकै आधारमा मेसिन खरिद गरिएको हो ।’ शाहीका अनुसार उक्त मेसिन राजस्व बिना ३५ लाखमा खरिद गरेको हो ।

अक्सिजनको अभावका कारण कैयौं बिरामीहरुले ज्यान गुमाउनु परेको छ । तर यो खरिद प्रक्रियामा कमिसनको खेल रहेकोले यो विवादमा आएको स्थानीयले आरोप लगाएका छन् । खरिद प्रक्रिया विवादमा आएसँगै छानविनको लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति नै गठन भएको छ । अनियमितताबारे छानबिनको लागि प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो ।

अक्सिजन प्लान्ट खरिदबारे विवाद भएपछि स्वास्थ्य कार्यालयका कर्मचारीलाई बोलाएर छलफल गरेको र कर्मचारीहरूले पनि यसबारे अनभिज्ञ रहेको बताएको प्रजिअ हुमागाईले बताइन् ।अलिबाबाको अनलाइन सपमा २ लाख ४६ हजारदेखि २ लाख ८१ हजारसम्म पर्ने अक्सिजन कन्सन्ट्रेटरलाई स्वास्थ्य कार्यालय सल्यानले ५१ लाखमा खरिद गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी समेत आएको प्रजिअ हुमागाईंको भनाइ छ ।

मेसिन प्राविधिक विषय भएकोले छानविन टोलीको प्रतिवेदनपछि मात्र वास्तविक कुरा बाहिर आउने उनले बताइन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार