• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

जसपामा सहमति : ओली सरकारमा नजाने, आफ्नै नेतृत्वमा सरकार


काठमाडौं । दुई खेमामा विभाजित जनता समाजवादी पार्टी (जसपा) मा नयाँ सहमति जुटेको छ।अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र
यादवबीच तत्काल सरकारमा नजाने,तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति

भएको छ।यादव पक्ष नयाँ सरकार गठनको पक्षमा भएपनि ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक थिए । प्रधानमन्त्रीले विश्वासको मत लिँदा तटस्थ बसेको ठाकुर पक्षले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसलाई पनि साथ दिएन ।यही विवादका कारण पार्टीको कार्यकारिणी समिति बैठकसमेत बस्न सकेको थिएन । तर पछिल्लो तीन दिनयता सहमतिका लागि प्रयास तीव्र भएको थियो । ठाकुर र यादवबीच सम्वाद भएको थियो भने तत्कालीन राजपाबाट मनिष सुमन, मृगेन्द्र यादव तथा समाजवादी पार्टीबाट रेणु यादव, मोहम्मद इस्तियाक राई, प्रकाश सिंह र गंगानारायण श्रेष्ठ लगायतका नेताले दुई अध्यक्षलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए ।त्यसक्रममा ठाकुर पक्ष तत्काल सरकारमा नजान सहमत भएको छ भने यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा निर्णयहरु नगर्ने भएको छ ।अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त वक्तव्य जारी गर्दै तत्काल सरकारमा नजाने प्रष्ट पारेका छन् ।

यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसदमा विश्वासको मत लिन जाँदा जसपाको साथ नपाउने पक्का भएको छ । संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई राष्ट्रपतिले ३० वैशाखमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । ३१ वैशाखमा शपथ लिएका प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।

राष्ट्रिय सहमति वा आफ्नै सरकार
जसपाका अध्यक्षद्वयले जारी गरेको वक्तव्यमा ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वको सरकार बन्ने अवसर प्राप्त हुनसक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ’ भनिएको छ ।जसपाका नेताहरुका अनुसार यो अभ्यास ७६ (३) का प्रधानमन्त्रीले संसदमा विश्वासको मत नपाएपछि हुनेछ । हालै मात्र जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव राखेका थिए ।

हेर्नुहोस् जसपाको विज्ञप्ति

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार