• २०८१ भाद्र २९ गते शनिवार
  • Preeti To Unicode

बादललाई मतदान गर्न ओलीको निर्देशन, राप्रपाले पनि भोट दिने तर माधव नेपाल समूहले नदिने


काठमाडौं :नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशमा भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका
उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई मतदान गर्न निर्देशन दिएका छन्।वरिष्ठ नेता माधवकुमार नेपाल समूह विपक्षी उम्मेदवारको पक्षमा

उभिएका बेला अध्यक्ष ओलीले बुधवार विज्ञप्ति जारी गरेर पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई ओलीले बादललाई मत दिन निर्देशन दिएका हुन्।ओलीले जेठ १७ गते लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि पनि पार्टीको उम्मेद्वारको पक्षमा मतदान गर्न मतदाता रहेका जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। यसअघि नै महासचिव ईश्वर पोखरेलबाट निर्देशन जारी भएको स्मरण पनि गराएका छन्।
बादल नेपालको कम्युनिस्ट आन्दोलनको एकजना वरिष्ठ नेता भएको उल्लेख गर्दै ओलीले उनको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने उल्लेख गरेका छन्। । ‘तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु,’ ओलीले भनेका छन्।

ओलीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति बफादार हुने र पार्टी हित विपरीत काम नगर्ने सपथ लिएको स्मरण गराउँदै ओलीले भनेका छन्, ‘आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो वाध्यताले हामी पालन नगर्ने बिन्दूमा पुग्छौं? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन।’अध्यक्ष ओलीले जनप्रतिनिधिलाई अगाडि भनेका छन्, ‘प्रत्येक चुनौतीपूर्ण घडीमा हामीले आफूलाई उम्मेद्वार बनाउने पार्टीको निर्देशनलाई पालना गर्नु, आफूलाई जिताउन अहोरात्र खट्ने कार्यकर्ताको भावनालाई सम्मान गर्नु र जनतामाझ आफूले गरेका वाचाहरुप्रति हमेशा वफादार रहनु हामी सबैको कर्तव्य हो।’

राप्रपाको सर्कुलर
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमालेको अनुरोधमा बादललाई मतदान गर्ने भएको छ।बादललाई मतदान गर्न एमालेले पत्र पठाएको उल्लेख गर्दै केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुब बहादुर प्रधानले विज्ञप्ति जारी गरेर राप्रपाले एमालेका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको जानकारी दिएका छन्।निर्वाचनमा एमाले उम्मेदवार बादलको पक्षमा मतदान गर्न पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई सर्कुलर पनि गरेको विज्ञप्तिमा उल्लेख छ।

माधव नेपाल समूहले मत नदिने
निर्वाचनका लागि २४ घण्टामात्रै बाँकी रहँदा एमाले उम्मेदवार बादलले दौडधुप बढाएका छन्। उनले एमाले वरिष्ठ नेता माधव नेपालसँग पनि कोटेश्वरस्थित निवासमै पुगेर मत मागे। तर, उनले सकारात्मक जवाफ पाएनन्। नेता नेपालले सघाउन नसकिने जवाफ दिए।निर्वाचनमा आफूलाई सघाउन बादलले गरेको आग्रहमा नेता नेपालले आफ्नो पहलमा डा. खिमलाल देवकोटाको उम्मेद्वारी दर्ता भएकाले सहयोग गर्न नसक्ने बताएका थिए।

‘उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो,’ नेपाललाई उदृत गर्दै उनको सचिवालयले भन्यो। मतदातालाई स्वविवेक प्रयोग गर्न दिनेबारे भने सहमति भएको पनि सचिवालयले जनायो।’कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ,’ सचिवालयले भनेको छ।

एमालेका तर्फबाट पूर्व माओवादी केन्द्रका नेता बादल चुनावी मैदानमा छन् भने नेपाल सहितको समर्थनमा कांग्रेस माओवादी गठबन्धनका तर्फबाट देवकोटाले उम्मेद्वारी दिएका छन्। जेठ ६ गते हुने चुनावमा वाग्मती प्रदेशबाट बादल र देवकोटाको प्रतिस्पर्धा हुने भएको हो।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार