• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रचण्ड पथमा नलाग्न देउवालाई ओलीको चेतावनी !


काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि खनिएका छन्। एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कांग्रेस प्रचण्ड पथमा हिँडेको आरोप लगाए। लामो समयसम्म कांग्रेसप्रति नरम रहँदै आएका ओली आज भने आक्रमण भएका हुन्।

सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ‌ओलीले कांग्रेस मध्यावधि चुनावमा भाग लिन्न भन्नु अलोकतान्त्रिक भएको उल्लेख गरे।प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले गराएको निर्वाचनमा झण्डै दुई तिहाइको हैसियत प्राप्त गरेर जनमतबाट संवैधानिक रुपमा आफू प्रधानमन्त्री बनेको भन्दै आफूले गराएको निर्वाचनमा सहभागी नहुने कांग्रेस नेताको भनाईमा कडा आपत्‍ति जनाए। उनले यहाँनेर यहीँ हो कांग्रेसको लोकतान्त्रिक आचरण भनेर पाठ समेत पढाए।ओलीले माओवादी केन्द्रमाथि पनि कडा आक्रोश पोखे। संवैधानिक र शान्तिपूर्ण बाटोका विरुद्ध गराइएको हिंसाबाट सत्ता कब्जा गर्न नसकेपछि तरिका फेरेर बाध्यतावंश माओवादी शान्ति प्रक्रियामा आएपछि फेरि कब्जाको रणनीति लिएको उनको आरोप थियो। माओवादी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै ओलीले लोकतन्त्र सिध्याउनकै लागि लागेको आरोप लगाए।

‘लोकतान्त्रिक प्रणालीका विरुद्ध, बलजफ्ती शासन सत्ता कब्जा गर्ने, तानाशाह चलाउने योजना सफल नभएपछि पैतलामा आउनुभयो। तरिका बदल्नुभयो,’ ओलीले भने।माओवादीको त्यस्तो चरित्रमा लोकतान्त्रिक शक्ति मानिने कांग्रेस पनि सामेल भएको उनको टिप्पणी छ। ‘जनताको मतबाट शासन प्राप्त गर्ने वा सरकार बनाउने लोकतान्त्रिक बाटो हुनुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने मान्यता छोडेर लोकतान्त्रिक भन्नेहरुको पार्टी प्रचण्ड पथमा गयो। कब्जाको बाटोमा गयो,’ उनले भने।माओवादीको चरित्र सत्ता कब्जा हुनु स्वभाविक भए पनि तर आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेसले त्यसरी आउनु आश्चर्यजनक भएको उनको भनाइ थियो।

‘कांग्रेसका एक जना पुराना प्रमुख सचेतक कि सचेतक रहिसकेका नेताले केपी ओलीले गराएको चुनावमा कांग्रेसमा सहभागी हुँदैन भन्ने सुनेँ। कसले गरेको चुनाव मान्ने? कसले गरेकोमा भाग लिने? भाग लिन नेपाली कांग्रेसलाई टीको लाइदिने कि? अहिले प्रधानमन्त्री सबभन्दा बढी पपुलर भोट पाएको, सबभन्दा बढी सिट भएको, पार्टी नेताले प्रधानमन्त्रीले गराएको चुनावमा किन नजाने?,’ उनले प्रश्न गरे।

ओलीले अगाडि थपे, ‘चुनावमा नजाने कुन डेमेक्रेसीको भित्र पर्छ? कुन प्रजातान्त्रिक विधि पद्धतीभित्र पर्छ? नेपाली कांग्रेस उत्तेजना र आवेगमा प्रचण्ड पथ थापेर हिँड्यो। ल आफैं चुनाव गराउनुस् न त। चुनाव जितेर सरकार बनाउनुस् न।’ओलीले लोकतान्त्रिक पार्टीले अर्काको पार्टी फुटाएर बागी विद्रोही सिर्जना गरेर प्रधानमन्त्री बनाउन खोजेको आरोप पनि लगाए।

‘मेरो सरकार लोकतान्त्रिक भएन रे! के गर्दा लोकतन्त्र हुन्छ? सडकबाट हुन्छ? लोकतान्त्रिक जनमतको सम्मानबाट हुन्छ। कामबाट हुन्छ। प्रधानमन्त्री बन्ने मन थियो होला। कीर्ते गरेर अर्को पार्टी फुटाएर अरु पार्टीभित्र जानाजान बागी विद्रोही सिर्जना गर्नु एउटा पार्टीमात्र होइन एमालेको एउटा तप्कालाई उचालेर छलेर गरेका छन्। दलहरुभित्र अन्तरविग्रह लोकतन्त्र, दलीय व्यवस्थालाई मजबुद बनाउने, लोकतन्त्र अनुशासित प्रणाली हो अराजकता होइन। हामीले कसैले पनि लोकतन्त्र क्षणिक स्वार्थका लागि अनुशासनहिनता अराजकता दलीय अनुसशान प्रणाली पद्धती कानुन प्रणाली विपरीतका दाउपेच, विकाउ प्रवृत्ति गर्नु हुँदैन। लोकतन्त्रलाई मान्छौं भने यस्ता अवाञ्छित अभ्यासहरु त्याग्नुपर्दछ,’ उनले भने।

ओलीले एमालेविरुद्ध हस्ताक्षर गरेर जाने व्यक्तिहरुलाई उच्च समान र मर्यादा दिएकोमा कांग्रेस र माओवादीप्रति आक्रोश पनि पोखे।
‘यो खालको शैलीले लोकतन्त्र कहाँ पुग्छ?’ ओलीले प्रश्न गरे, ‘जसपाबाट ३२ जना भएका सांसदमध्ये १२ जनालाई हस्ताक्षर गराएर पार्टी अनुशासन तोडाएर विभिन्न हतकण्डा अपनाएर हामी कहाँ पुग्छौं?’

प्रधानमन्त्री ओलीले नागरिक समाजमाथि पनि आक्रोश पोखे।
‘नागरिक समाजका मुर्धन्य विद्वनहरुलाई यस्तै कुरालाई बढावा दिने हो? यहीँ हो लोकतन्त्र? यस्ता कुराको अनुचितको कुरामा किन चुइक्क बोल्न सक्नुहुन्न्? दलीय व्यवस्थामा दलीय शासन लागु हुनुपर्छ। त्यहीँ दलभित्र बसेर अर्कोलाई समर्थन गर्नु उचित छैन। यस्तो कब्जा गर्छौ, आफूले भनेजस्तो भएन भने प्रतिगमन भयो, कुँ भयो भन्ने? के बर्माजस्तै भएको नेपालमा कु भएको छ? संविधानअनुसार अगाडि बढ्दा कु हुन्छ? लोकतान्त्रिक अभ्यास गर्दा कु हुन्छ?,’ ओलीले प्रश्न गरे।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार