• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

खनाल-नेपाल पक्ष द्वारा एक महिनाअघि नै नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेको खुलासा


एमालेवरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले नयाँ पार्टी गठनका लागि अन्तिम तयारी गरेका छन्।संसद विघटन भएसँगै
खनाल – नेपाल समूहमा नयाँ पार्टी गठन गर्नुपर्ने मत बलियो बन्दै गएको छ।दोस्रो पुस्ताका केही नेताभने अझै पनि २०७५ जेठ २ मा फर्किने

अवस्था बन्छ कि, भनेर कोशिस गर्ने अडानमा छन्। उनीहरूकै दबाबका कारण वरिष्ठ नेता नेपालले पार्टी गठनको घोषणा गर्न सकिरहेका छैनन्।आवश्यक परेको बेलामा पार्टी चाहिन्छ भनेर नेपालले आफू निकट युवा नेता जीवन राईको नेतृत्वमा पार्टी दर्ता गराउन लगाएका छन्। राईको नेतृत्वमा एक महिनाअघि नै निर्वाचन आयोगमा ‘नेकपा एकीकृत पार्टी’ दर्ता भएको छ।यो पार्टीले आयोगबाट पार्टी दर्ताको प्रमाण-पत्र भने पाइसकेको छैन। यो पार्टीले चुनाव चिन्ह कलम मागेको छ।राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशबाट उमेदवार बनेका खिमलाल देवकोटाले कलम चिन्ह लिएर चुनाव जितेका थिए। नयाँ बन्नसक्ने पार्टीको चुनाव चिन्हलाई नै ध्यान दिएर देवकोटाले कलम चिन्ह मागेको स्रोतको दाबी छ।‘अहिलेनै नयाँ पार्टी बनाउने तयारी त भइसकेको छैन। तर आवश्यक पर्यो भने हामी तयार भएर बस्नुपर्छ। चुनाव घोषणा हुने हामीलाई पनि नस्वीकार्ने अनि पार्टी दर्ता पनि हुन पाएन भने के गर्ने भनेर बिकल्प राखेको हो,’ खनाल-नेपाल निकट एक युवा नेताले सेतोपाटीसँग भने,

‘दोस्रो तहका केही नेताले अझै एकताको सम्भावना छ भनेर मात्रै खनाल-नेपाल रोकिनुभएको हो। अब सधैं कुरेर बस्न सकिँदैन। केही नेताहरू ओलीको शरणमा गए भने पनि नयाँ पार्टी गठन हुन्छ।’खनाल-नेपाल निकट एक स्थायी कमिटी सदस्यले अहिले आफूहरू मझधारमा भएको भएको भन्दै अझै पनि एकताका लागि प्रयास गरिरहने दाबी गरे।ती नेताका अनुसार ओलीको पछिल्लो कदमले पार्टी एकता हुने सम्भावना भने टर्दै गएको छ।‘तथाकथित कार्यदलले पनि पार लगाउला जस्तो छैन। त्यसैले अन्तिम विकल्प नयाँ पार्टी बनाउनेनै हुन्छ होला’, ती स्थायी कमिटी सदस्यले भने, ‘ओलीसँगै बस्न सकिँदैन जस्तो छ। तर दुःख गरेर बनाएको पार्टी छोड्न पनि गाह्रै हुन्छ। यस्तै अन्यौलले नयाँ पार्टी रोकिएको छ।’खनाल-नेपाल निकट एक सांसदले तलका कार्यकर्ताको निर्देशनभन्दा बाहिर जान नसकिने बताए। उनले पार्टीका भातृ संगठन, जनवर्गीय संगठन र जिल्ला कमिटीहरु विभाजनकै पक्षमा रहेको बताए।

‘यहाँ हामीलाई ओलीले अत्याएजस्तै ओलीका चेलाहरूले तल अत्याइरहेका छन्। कमिटीको अधिवेशनबाट जितेर आएका साथीको पद खोसिएको छ’, उनले भने, ‘त्यसैले हामीसँग नयाँ पार्टी गठन गर्नुको विकल्प छैन।’यसैबीच वरिष्ठ नेता नेपालले नयाँ पार्टीका लागि तयार रहन आन्तरिक निर्देशन दिएसँगै उनीसँग रहेका सांसदहरू घट्दै गएका छन्।सुरूवाती समयमा ४३ जना सांसद नेपालको पक्षमा भए पनि ओलीले विश्वासको मत लिने दिन २८ जना सांसदले मात्रै नेपालालाई साथ दिएका थिए। ती मध्ये कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि २६ जनाले मात्रै हस्ताक्षर गरेका थिए। ती २६ जनामध्ये केही सांसदले अझै पनि असन्तुष्टि जनाइरहेका छन्।

‘हामीले त नेपाल प्रधानमन्त्री बन्ने वातावरण बन्छ भने सहयोग गरौं भनेको हो। नयाँ पार्टी बनाउने हाम्रो उद्धेश्य होइन। हामी त केपी ओलीसँग लड्ने हो। एमालेसँग लड्न खोजेको होइन,’ ती सांसदले भने, ‘नयाँ पार्टी बनाउने अवस्थामा हामी केही सांसद जादैनौं। यसको मतलव ओलीको हरेक गलत क्रियाकलापलाई साथ दिन्छौं भन्ने होइन। जति रहन्छौ त्यति मात्रै भए पनि ओलीसँग लड्छौं।’खनाल-नेपाललाई विशेष गरेर नयाँ पार्टी गठनका लागि भातृ संगठन र जनवर्गीय मोर्चालेनै दबाब दिएका छन्। पार्टी गठनका लागि ढिलो गर्दै गएमा आफूहरूनै कमजोर हुने उनीहरुको चेतावनी छ।

‘हाम्रो शक्ति कति छ भन्ने कुरा निर्वाचनमै थाहा हुन्छ। अब ढिलो गर्न हुँदैन भनेका छौं। दोस्रो तहका नेता पनि सधै ढुलमुले भएर मात्रै हुँदैन एउटा निर्णयमा पुग्नैपर्छ,’ खनाल-नेपाल जनवर्गीय संगठनका एक नेताले भने,‘दोस्रो तहका नेता जति रहन्छन्। उनीहरूलाई मात्रै समेटेर सानो कमिटी बनाएर अघि बढ्नुहोस् भनेर हामीले भनेका हौं। किनकि, तल गएर लड्ने, भिड्नत हामी नै हौं।’यता नेकपा एकीकृत गठन गरेका जीवन राईले आफू कसैको उक्साहटमा लागेर पार्टी दर्ता नगरेको बताए।

‘म दुई तीन वर्षदेखिनै पार्टीको कुनै निकायमा छैन। त्यसैले नयाँ पार्टी गठन गरेको हो,’ उनले सेतोपाटीसँग भने, ‘कसैसँग कुनै सल्लाह नगरेकाले मलाई कसैसँग नजोडदिनुहोला।’उनले आयोगले ४५ दिनमा पार्टीको नाम र चुनाव चिन्ह दिनेसमेत जानकारी दिए।

जीवन राई

संखुवासभाका राई नेकपाको विद्यार्थी भातृ संगठन अनेरास्ववियूका सचिवालय सदस्य थिए।राईले दर्ता गराएको पार्टीको उपाध्यक्षमा कास्कीकी कल्पना गुरूङ र महासचिवमा काभ्रेका विनोद कुमार खुलाल छन्। सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन्।नेकपा एकीकृत पार्टी र चुनाव चिन्ह कलम प्रस्ताव गर्दै राईले आयोगमा निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार