• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका दलका नेताबीच बुधबार छलफल हुँदै


बेइजिङ — चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी) र नेपालका विभिन्न राजनीतिक दलका नेताबीच बुधबार छलफल हुने भएको छ । सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ र नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच छलफल हुन लागेको हो ।सीपीसी स्रोतका

अनुसार जुममार्फत हुने छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायत सहभागी हुँदैछन् । बैठक नेपाली समयअनुसार १२ : ४५ बजेबाट सुरु हुनेछ ।छलफलमा कोरोना महामारी नियन्त्रण र चीन–नेपाल आपसी सम्बन्धलगायतका विषयमा कुराकानी हुने बताइएको छ ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला : भारत
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीय विदेश मन्त्रालयले आन्तरिक मामिला भनेको छ । बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची ले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताएका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची

बागची ले भनेका छन्, ‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका छौं । यसलाई हामी नेपालको आन्तरिक मामिलाका रुपमा नै लिन्छौँ ।’ त्यस्तै नेपालले अहिलेको समस्या आफै समाधान गर्नपर्ने पनि भारतीय विदेश मन्त्रालयको भनाइ छ । ‘नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

त्यस्तै एक छिमेकी मुलुक भएका नाताले भारतले सधैं नेपालको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ ।पछिल्लो समय नेपालको राजनीतिक मामिलामा भारतीय हस्तक्षेप रहेको भन्ने धारणा विकास भएको समयमा भारतीय विदेश मन्त्रालयद्वारा स्पष्टीकरण आएको हो । केही दिनअघि मात्रै नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रेले ‘भारत नेपालमा निरंकुश शासनको पक्षमा छ भन्ने आम धारणा’ लाई भारतले हटाउनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार