• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

बारपाकमा भयाबह कोरोना : गाउँपालिकाले माग्यो प्रदेश र संघीय सरकारसँग सहयोग


गोरखा : एघार सय घरधुरी एकैठाउँमा रहेको गोरखाको बारपाकमा कोरोना संक्रमण दर अनियनिन्त्रत रुपमा बढेको छ । एकै गाउँमा
दुई दिनमै छजनासहित दुई सातामा १२ जनाको मृत्यु भएको छ ।मृतक सबैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको स्थानीयबासी बताउँछन् ।

गाउँमा कोरोना संक्रमण दर तीब्र गतिमा बढिरहँदा स्थानीयबासीले परीक्षण गर्न मानेका छैनन् । बाक्लो बस्ती रहेको गाउँमा महामारी फैलिएकोप्रति प्रदेश तथा संघ सरकारले पनि उचित ध्यान नदिएपछि गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले विज्ञप्ति जारी गरी सहयोगको अपिल गरेका छन् । बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने रहेको अध्यक्ष भट्टले विज्ञप्तिमा खुलाएका छन् । ‘तत्काल यहाँ प्रदेश र संघीय सरकारले चिकित्सक सहितको टोली पठाउनुपर्छ’, उनले भने, ‘सिङ्गो गाउँभरि कोरोनासँग लक्षण मिल्दोजुल्दो बिरामी रहेकाले तत्काल यहाँ चिकित्सकसहितको टोली आवश्यक छ ।’

‘यहाँका स्थानीयबासीलाई रोग परीक्षण गर्न, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न काउन्सिलिङ गर्नुपर्छ । बिरामीलाई घरघरमा गएर जाँच गर्ने, उपचार गर्ने, औषधि वितरण गर्ने काम यथाशीघ्र गर्नुपर्नेछ’, अध्यक्ष भट्टले भने, ‘यसका लागि गाउँपालिका पनि तयार छ ।’

गाउँपालिकासँग भएको जनशक्ति र क्षमताले त्यहाँको भयावह अवस्था धान्न नसक्ने बताउँदै उनले सचेतनाका कार्यक्रमसहित जानुपर्ने बताए । अहिले बारपाकमा करिब एक हजार भन्दा बढीमा रुघाखोकी र ज्वरोको मिल्दोजुल्दो लक्षण देखिएको छ ।

तत्काल उपचार नगराउने हो भने ठूलो संख्यामा मानवीय क्षति हुने भन्दै उपचारमा ध्यान केन्द्रित गर्न र सहयोग गरिदिन अध्यक्ष भट्टले अपिल गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार