• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमा, सरकारी अस्पतालमा निःशुल्क उपचार


काठमाडौँ — सरकारले पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरेको छ । यसका लागि ५० प्रतिशत प्रिमियम
रकम सरकारले व्यहोर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारहरुका लागि

निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए ।पत्रकार महासंघका सदस्यहरुलाई प्रेस काउन्सिलले जारी गरेको उपचार कार्डको आधारमा सरकारी अस्पतालहरुमा निःशुल्क रुपमा उपचारको व्यवस्था मिलाइएको उनले बताए ।जागिर खोसिएका पत्रकारहरुका लागि सरकारले लेखनवृत्ति समेत उपलब्ध गराउने भएको छ । यस्तै, सरकारले सञ्चारग्राममा प्रेस संग्राहलय समेत निर्माण गर्ने भएको छ ।सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड विनियोजन गरिएको उनले बताए ।डिजिटल नेपाल फ्रमेवर्क कार्यान्वयन गरिने र डिजिटल अर्थतन्त्रको विकास गरिने अर्थमन्त्री पौडेलले बताए ।

सरकारी कर्मचारीको तलबमा मासिक २ हजारले वृद्धि
काठमाडौँ — सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेको छ । २०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

यस्तै, सरकारले जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशतले वृद्धि पनि गरेको छ ।२०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले कारागारलाई सुधारगृहमा परिणत गरिने पनि बताएका छन् । नेपाली सेनालाई सुदृढीकरण गर्नका लागि ‘बंकरदेखि ब्यारेकसम्म’ कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।

आगामी वर्ष ७० लाख नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिने उनले जनाएका छन् । प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नका लागि तयारी अगाडि बढाइने पनि सरकारको योजना छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार