• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ब्रिटिस गोर्खा र सिंगापुर पुलिस भर्ती को आवेदन अनलाइनबाटै भर्न सकिने, १९ वर्षमाथिकाले मात्र भिड्न पाउने


काठमाडौँ — बेलायत सरकारले ब्रिटिस गोर्खा र सिंगापुर पुलिसका भर्तीका निम्ति अनलाइनबाटै प्रारम्भिक चरणको नाम लेखाउने
(रजिस्ट्रेसन) भएको छ । त्यसनिम्ति जुन २८ देखि जुलाई १६ सम्म म्याद राखेको छ । १९ वर्षदेखि २१ वर्ष उमेर ननाघेकाले मात्र भिड्न

पाउने रेक्रुट इन्टेक–२०२२ को मापदण्डमा राखिएको छ ।कोभिड–१९ दोस्रो लहरको महामारीका कारण भिडभाड हुन नदिन र भर्ती प्रक्रिया निरन्तर राख्न यो नीति सार्वजनिक गरेको जनाइएको छ । मंगलबार पोखरास्थित ब्रिटिस क्याम्पका अधिकारीले प्रतिस्पर्धी नेपाली युवालाई सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन् । ‘कोरोना महामारीले गर्दा हाम्रो कतिपय क्राइटेरिया परिवर्तन भएर आएको छ,’ डेपुटी रेक्रुटिङ अफिसर मेजर ज्याकमेलले सम्बोधन गर्दै भने, ‘तपाईंहरूलाई असर पर्ला । तर पनि सक्दो निष्पक्ष रूपमा गर्ने भर्ती गराउने कोसिस गरेका छौं । यो पालिको रजिस्ट्रेसन अनलाइनमा हुनेछ र २८ जुनदेखि तीन हप्ताभित्र फर्म भरिसक्नु पर्नेछ ।’कोभिडले नियमित तालिकालाई अनिश्चित तुल्याएको र छोटो समयमा छनोट गर्न लागेको उनले जनाए । ‘अनिश्चित परिस्थितिले गर्दा उमेर मापदण्ड परिवर्तन गर्न बाध्य छौं,’ भर्ती प्रक्रिया शत प्रतिशत निष्पक्ष हुने उल्लेख गर्दै मेजर ज्याकमेलले भने,

‘सामान्य रूपमा भर्ती लिने उमेर १८ देखि २१ वर्ष हुनुपर्ने हो तर परिस्थितिले गर्दा यो पटक १९ देखि २१ वर्षकाले मात्र आवेदन दिन पाउने छन् ।’
त्यसैगरी शैक्षिक योग्यता केही फरक गरेको जनाइएको छ । ब्रिटिस आर्मी (बीसी) र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स (जीसीएसपीएफ) दुवैतर्फ एउटै शैक्षिक योग्यता कायम गरेको छ । जसमा सन् २०१६ सम्म एसएलसी दिई थर्ड डिभिजन वा २०१६ पछि एसईई गरेकाले पाँच विषयमा ‘सी ग्रेड’ हासिल गरेको हुनु पर्नेछ । त्यसमा अंग्रेजी र गणित विषयमा ‘सी लेभल’ प्राप्त गरेको हुनुपर्छ । कम्पार्टमेन्टबाट पास भएर कम्प्युटर इन्जिनियरिङ पढेकालाई स्विकार्य हुने तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)बाट प्राविधि शिक्षा लिएकालाई मान्यता नदिइने भनेको छ ।

अनलाइन फाराम भर्नका निम्ति ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट युकेमार्फत् जानकारी दिइने जनाइएको छ । जसमा प्रतिपर्धीको नागरिकता, राहदानी (एमआरपी), फोटो, निकटतम व्यक्तिको प्रमाण, विवाह गरेको भएमा विवाह दर्ता र श्रीमतीको नागरिकता, बच्चा भएमा जन्म दर्ता, आमा–बाबुको नागरिकता, जात वा थर नमिलेमा सीडीओ कार्यालयको सिफारिस संलग्न राख्नु पर्ने भनिएको छ । यदि बाबु–आमाको नागरिकता नभएमा विवाह सिफारिस वा निधन भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, सम्बन्ध विच्छेद भएमा त्यसको प्रमाण, लापत्ता भएमा सीडीओ कार्यालयको प्रमाणपत्र पेश गर्नुपर्ने छ । नागरिकताको ठेगानामा पालिका बनेपछि बदलिएको ठेगानाको सिफारिसपत्र, बसाइसराइ गरेको भए त्यसको प्रमाण संलग्न गर्नु पर्नेछ । अनलाइन एप्लिकेसनका निम्ति एक पटकमात्र भर्न पाउने जनाइएको छ ।

यसअघि प्रारम्भिक चरणमा नाम लेखाउन (रजिस्ट्रेसन) र क्षेत्रीय छनोट पूर्वमा धरान र पश्चिम पोखरामा गरिन्थ्यो । यो पटक अनलाइनबाट रजिस्ट्रेसन (नाम लेखाउने), क्षेत्रीय र केन्द्रीय छनोट पोखरामा गर्ने यसअघि जानकारी दिइएको छ ।आउँदो वर्षका निम्ति कोटा घटाएर ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका निम्ति १ सय ४० जना छनोट हुनेछन् । ब्रिटिसतर्फ विगतको तुलनामा १ सय १० जनाको कोटा घटाइएको छ । उमेर सीमित गरी रजिस्ट्रेसनको अवसर दिँदा प्रतिस्पर्धी सीमित हुने तथा छनोटमा सहज हुने ठानिएको छ । यसपटक क्षेत्रीय र अन्तिम छनोटका निम्ति ब्रिटिसतर्फ ३ हजार र सिंगापुरका निम्ति २ हजार जनामात्र बोलाउने भनिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार