• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

माधवकुमार नेपाल-खनाल पक्षसँग छलफल सकारात्मक, एमाले स्थायी कमिटी बैठक स्थगित


काठमाडौं : सत्तारुढ नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी एकताको विषयमा वरिष्ठ नेता माधवकुमार
नेपाल र झलनाथ खनाल पक्षसँग सकारात्मक छलफल जारी रहेकोभन्दै बिहीबारकालागि बोलाइएको बैठक स्थगित भएको हो।एमाले पार्टी कार्यालय

सचिव शेरबहादुर तामाङका अनुसार पार्टीमा देखिएको विवाद समाधानका लागि सकारात्मक छलफल जारी रहेकाले बिहीबारका लागि बोलाइएको बैठक स्थगित भएको हो । परिस्थिति हेरेर बैठक पुनः बोलाउने उनको भनाइ छ । यसअघि बुधबारका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक बिहीबारका लागि सारिएको थियो । नेपाल–खनाल पक्षले बिहीबार केन्द्रीय कमिटी बैठक राखेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले आजको बैठक स्थगित गरेका हुन् । एमाले संस्थापन पक्षले नेपाल–खनाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा उपस्थित नहुन सबै केन्द्रीय सदस्यलाई भनिसकेको छ ।

यसअघिको बैठकले माधवकुमार नेपाल पक्षका १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएकामा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्। एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।

बैठकमा उक्त कारबाहीबारे छलफल हुनसक्ने बताइएको थियो । ओलीले माधवकुमार नेपाल र झलनाख खनालसहितका सांसदलाई स्पष्टीकरण मागेको भए पनि उनीहरुले स्पष्टीकरण नबुझाउने अडान लिएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि नेपाल-खनालसहित ११ जनालाई ओलीले पार्टीबाट निष्कासित गरेका थिए। पार्टीभित्र विवाद चर्किदै गएपछि नेपाल पक्षले भने बेग्लै पार्टी खोल्ने तयारी गरिरहेको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार