• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीले फेरि मन्त्रिपरिषद बिस्तार गर्दैं: को को थपिँदैछन् मन्त्रीमा ? माधव पक्षीय र पूर्व माओवादीलाई पनि सहभागी गराइने ?


काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली ले फेरि मन्त्रि परिषद बिस्तार गर्ने भएका छन् ।यस अघि
शुक्रवार जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद बिस्तार गरेका ओलीले आइतवार पनि थप गर्ने तयारी थालेका हुन्।

आज उनले गर्ने मन्त्रिपरिषद विस्तार प्रधानमन्त्री भएसँगै १९ औं पटकको हेरफेर हो। यतिखेर कसलाई मन्त्री बनाउने भन्नेबारेमा ओलीले गृहकार्य गरिरहेको ओली निकट नेताहरुले बताएका छन्। मन्त्रीबारे अन्तिम टुंगो लागेमा आजै मन्त्रिपरिषद बिस्तार गर्ने ओलीको तयारी छ।
को बन्दै छ मन्त्री ?
ओली निकट नेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले बालुवाटारमा नयाँ मन्त्री चयनका लागि छलफल भइरहेको पुष्टि गरे। ओलीले कसलाई बनाउने भन्नेबारेमा छलफल टुंग्याइनसकेको नेम्बाङको भनाई छ।’प्रधानमन्त्रीले वर्कआउट गरिरहनुभएको छ। मन्त्रालय त खाली राख्नु भएन,’ नेता नेम्बाङले भने।
स्रोतका अनुसार यसपटक थपिने मन्त्रीहरु सत्तारूढ दल नेकपा एमालेकै हुनेछन्। त्यसका लागि ओलीले पार्टी भित्रका केही चर्चित नेताका बारेमा कुराकानी गरिरहेका छन्।

ओलीसँग हाल ७ मन्त्रालय खाली छ। उनले रक्षा बाहेकका मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागेको बताइएको छ। गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, कृषी तथा पशुपंक्षी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। यी सबै मन्त्रालय अहिले प्रधानमन्त्री ओलीसँगै छ।गृह मन्त्रालयमा ओली समूहका नेता खगराज अधिकारी र महेश बस्नेतको नाम चर्चामा छ। युवा नेताहरुलाई ओलीले स्थान दिनेगरी मन्त्रिपरिषद विस्तार गर्न लागेको ओली निकट नेताहरुको भनाई छ।

नेपाल खनाल समूहका नेताको सम्भावना कम
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहलाई पनि मन्त्रिपरिषद विस्तारमा समेटने प्रयास गरिएको भए पनि सफल नभएको बालुवाटार स्रोतको भनाई छ।एमाले भित्रको विवाद बढेपछि नेपाल-खनाल समूहले हाल ओलीविरुद्ध प्रतिनिधिसभा पुनस्थापनका लागि अदालतमा रिट निवेदन दिएको थियो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि हस्ताक्षर गरेको थियो। एमालेको विवाद मिलाउनका लागि वार्ताको प्रयास भए पनि सफल नभएपछि नेपाल-खनाल समूह बिना मन्त्रिपरिषद विस्तार गर्न लागिएको ओली निकट नेताहरुले बताएका छन्।’जताततै एमाले छ। एमालेकै मन्त्री हुन्छन्। उहाँहरुसँग पनि छलफल भएको हो। तर, अहिले नै त्यो सम्भावना कम छ,’ बालुवाटार निकट स्रोतले भन्यो।

माओवादी पृष्ठभूमिकालाई मन्त्री बनाउने सम्भावना कति?
ओलीले माओवादीबाट एमालेमा आएका नेताहरुलाई मन्त्रिपरिषदमा अवसर दिइसकेको भन्दै उनीहरुलाई मन्त्री बनाउने इच्छा देखाएका छैनन्। यद्यपि, आफ्नो समूहभित्रको शक्ति सन्तुलनका लागि माओवादी छोडेका केही नेताहरुलाई मन्त्री बनाउन सक्ने सम्भावना भने रहेको छ।त्यसका लागि ओली समूहमा गएका शीर्ष नेताभन्दा दोस्रो वा तेस्रो तहका नेताहरुलाई स्थान दिने सम्भावना भएको ओली निकट नेताहरुले बताएका छन्।

यसरी छानिदैछन् मन्त्री
ओलीले आफ्ना समूहमा सक्रिय रहेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल लगायतका नेतालाई मन्त्रिपरिषदबाट बिदाइ गरेका छन्। उनीहरुको बिदाई पार्टी सञ्चालनलाई चुस्ता बनाउनका लागि भएको नेम्बाङको तर्क छ। अब हुने निर्वाचनहरुमा पार्टीलाई बलियो बनाउने उद्देश्यले उनीहरुलाई बिदाइ गरिएको संस्थापन पक्षले बताउँदै आएको छ।

ओलीले आफ्ना विश्वासपात्रहरुलाई मन्त्रीका रुपमा चयन गर्ने तयारी गरेका हुन्। अब हुने निर्वाचनमा आफूलाई सहयोग पुग्नेगरी नेताहरुलाई मन्त्रीको जिम्मा दिने ओलीको तयारी छ। त्यसका लागि उनले सुवास नेम्बाङ, बिष्णु पौडेल लगायतका नेताहरुलाई गृहकार्यको जिम्मा दिएका थिए भने युवा नेताहरुलाई पनि मन्त्रीका लागि बालुवाटारमा बोलाएर छलफल गरेका थिए।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार