• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाल समुहको स्थायी कमिटी बैठक लगत्तै माधव पक्षका नेतालाई मन्त्री बनाउन ओलीको पर्खाइ


प्रधानमन्त्री केपी शर्मा ओली ले आइतबार अपरान्ह ५ बजे सम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने योजना बनाएका थिए । तर, माधव
नेपाल पक्षलाई पनि समेट्ने अन्तिम प्रयास स्वरुप आइतबार मन्त्रिपरिषद विस्तार भएन ।प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ६ वटा मन्त्रालयमा

पूर्वमाओवादी र एमालेका नेताहरुलाई समेटेर आइतबार थप मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका थिए । यसका लागि अधिकांश नामसमेत तयार भइसकेको थियो ।मन्त्री नियुक्तिका लागि आइतबार दिउँसो प्रधानमन्त्री ओलीले बालुवाटारमा एमाले नेताहरुसँग छलफल गरेका थिए । तर, सो छलफलमा मन्त्रिपरिषद विस्तारलाई रोकेर माधव–झलनाथ पक्षसँग एकताको प्रयास गर्ने नेताहरुबीच सहमति भयो र ओलीले साँझ वक्तव्य जारी गरे ।​शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको थियो । एमालेका केही मन्त्रीहरुलाई विदा गरिएका कारण ७ वटा मन्त्रालय खाली थिए ।खालीमध्ये रक्षा मन्त्रालय आफैंसित राखेर प्रधानमन्त्री ओलीले गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार मन्त्रालयमा आइतबार नयाँ मन्त्री नियुक्त गर्ने योजना बनाएका थिए।

नयाँ मन्त्रीहरु नियुक्त गर्नुपूर्व माधव नेपाल पक्षसँग एकताका लागि अन्तिमपटक एकचोटि प्रयास गरौं भने सल्लाह भयो,’ ओली निकट एक नेताले भने, ‘यही उद्देश्यका लागि आइतबार मन्त्रिपरिषद विस्तारलाई रोकेर प्रधानमन्त्रीले ६ बुँदे प्रस्तावसहितको विज्ञप्ति जारी गर्नुभएको हो । अब हामी माधवजीहरुलाई पर्खन्छौं ।’प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जेठ ३ मा फर्कन तयार रहेको प्रस्ताव प्रस्तुत गरिसकेपछि अब माधव नेपाल पक्षसँग सहमति जुट्यो भने उनीहरुका तर्फबाट पनि केही नेतालाई मन्त्री बनाइने ओली निकट ती नेताले बताए । उनले भने, ‘आज माधवजीहरुको स्थायी कमिटी बैठक बस्दैछ, हामी उहाँहरुलाई पर्खन्छौं र त्यसपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ ।’

एमाले अध्यक्ष ओलीले आइतबार दुई पृष्ठको विज्ञप्ति जारी गर्दै २०७५ जेठ ३ अघिको अवस्थामा पार्टीलाई फर्काउन तयार रहेको बताएका छन् । यससँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिइनुपर्ने प्रधानमन्त्री ओलीले शर्त राखेका छन् ।माधव नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्रीको प्रस्तावलाई समर्थन गरिसकेको हुनाले केही सकारात्मक परिणाम आउन सक्ने ओली पक्षको अपेक्षा छ । तर, माधव नेपाल पक्षका रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा लगायतले भने ओलीको प्रस्ताव मान्य नहुने प्रतिक्रिया दिएका छन् ।

ओलीको प्रस्तावमाथि छलफल गर्न सोमबार माधव–झलनाथ पक्षको स्थायी कमिटी बस्दैछ । बैठक पूर्व केही नेताहरुले ओलीको प्रस्ताव स्वीकार्य नहुने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार