• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

ओली नेपाल समूहका दोस्रो तहका नेताको वार्ता : को को सहभागी थिए के भयो छलफल ?


काठमाडौं:नेकपा (एमाले) का दोस्रो तहका नेताहरुको मंगलबारको संवाद विना निष्कर्ष सकिएको छ। ललितपुरको समिट होटलमा भएको संवाद निष्कर्षमा नपुगेको छलफलमा सहभागी नेताले बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका ६ बुँदे प्रस्ताव र माधव नेपाल

समूहले दिएको जवाफमा छलफल केन्द्रित भएको थियो।छलफललाई जारी राख्नेगरि आजको भेट सकिएको छ,’ बैठकमा सहभागी एक नेताले भने।विवाद मिलाउनका लागि विभिन्न विषयमा छलफल भएको थियो। बैठकमा नेपाल समूहका नेता भीम आचार्य पनि सहभागी भएका थिए।वार्तामा नेपाल समूहबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, योगश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए। यस्तै, ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली सहभागी थिए।ओली नेपाल समूहका दोस्रो तहका नेताहरुले पार्टी एकतका लागि भन्दै संवाद गर्दै आएका छन्। यसअघि पनि दोस्रो तहका नेताहरुबीच संवाद भए पनि कुनै सहमति भएको थिएन। नेपाल समूहको बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाट भएको बैठकमा धेरै केन्द्रीय सदस्यले अब ओलीसँग वार्ता गरेर मात्रै अगाडि बढ्न नसकिने बताएका थिए।

ओलीको शर्त र समूहमा फुटको सम्भावनाले माधव नेपाल संकटमा, बालुवाटार किन चाहिरहेको छ वार्ता ?
नेकपा एमालेको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु सक्रिय भए पनि विवाद झनै बढदै गएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता मावधकुमार नेपाल-झलनाथ खनाल समूहबिच भइरहेको सहमतिको प्रयास सफल नभएको नेपाल समूहका नेताहरुले बताएका छन्।
दोस्रो तहका नेताहरुको छलफल अनौपचारिक मात्रै भएकोले त्यसले निष्कर्ष निकाल्न नसक्ने नेपाल समूहका नेताहरुको भनाई छ। एकातिर कारवाही गर्ने र अर्कोतिर सहमतिका लागि लचिलो हुने ओलीको दोधारे रणनीतिले एमालेको एकता सम्भावना टर्दै गएको हो।

ओलीको ‘शर्त’ले झन संकट
फागुन २३ गते सर्वोच्च अदालतको नेकपा एकीकरणलाई अमान्य घोषित गर्दै एमाले र माओवादी ब्युताउँने फैसला गरेपछि एमालेमा ओली र नेपाल समूहबिच विवाद बढ्दै गएको थियो। ओलीले कारवाही प्रक्रिय अघि बढाएपछि नेपाल-खनाल समूहमा दुईथरी विचार देखिएका थिए। एमालेमै रहेर संघर्ष गर्ने की अलग पार्टी बनाउने भन्नेमा नेपाल-खनाल समूह एक मत छैन्। योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायतका नेता एमालेमै रहेर संघर्ष गर्नुपर्ने अडानरमा रहे पनि नेपाल-खनाल सहितका नेताहरु भने अझै अलग पार्टी दर्ता गर्नुको विकल्प नभएको बताइरहेका छन्।

सहमतिका लागि ओलीले नेपाल समूहलाई दुई शर्त अघि सारेका छन्। पछिल्लो छलफलमा ओली समूहका नेताहरुले नेपाल समूहलाई प्रतिनिधिसभा विघटनमा साथ दिन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिएको निवेदनबाट पछि हट्न ओलीले राखेको शर्त प्रस्तुत गरेका छन्। तर, मुद्दा फिर्ता लिन नेपालले अस्वीकार गरेको नेपाल निकट नेता युवराज ज्ञवालीले बताए।’पछिल्लो छलफलमा मुद्दा फिर्ता लिनुपर्ने भन्ने शर्त रहेछ। कुनैपनि हालतमा मुद्दा फिर्ता हुँदैन्,’ उनले भने।

नेपाल समूहका दोस्रो तहका केही नेताहरुले भने देउवालाई प्रधानमन्त्री बनाउने र प्रतिनिधिसभा विघटनको मुद्दाबाट पछाडी हटनुपर्ने मत राखिरहेका छन्। सोमवार राति याक एण्ड यति होटलमा भएको वार्तामा पनि ओली समूहका नेताहरु सुवास नेम्बाङ, प्रदीप ज्ञवालीले नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलाई मुद्दा फिर्ता लिनुपर्ने शर्त राखेका थिए। ओली समूहले नेपाल बाहेकका नेतासँग एकताका लागि पनि ओली तयार रहेको बताएको बालुवाटार निकट स्रोतको दाबी छ।

बालुवाटार किन गरिरहेको छ वार्तामा जोड ?
एमालेको विवाद समाधानका लागि गठित वार्ता टोलीका ओली समूहबाट नेतृत्व गरिरहेका नेता नेम्बाङले अधिकतम नेताहरुलाई पार्टीमा फर्काउन पहल भइरहेको बताए। तर, सबै नेताहरु पार्टीमा फर्कने सम्भावना कम रहेको उनको बुझाइ छ।’हामीले त धेरै भन्दा धेरै नेता फर्कनुस भनेर पहल गरिरहेका छौं,’ उनले भने।ओली समूह अहिले नेपाल, भीम रावल लगायतका ‘हार्डलाइनर’ नेता बाहेकका दोस्रो तहका नेताहरुलाई मात्रै एमालेमा फर्काउने कसरतमा लागिरहेका छ।’नेपाल र रावलको त के कुरा भयो र उहाँहरु कारवाहीमा पनि हुनुहुन्छ। त्यसले त्यस बाहेकलाई पनि स्वागत गर्न हामी तयार छौ,’ ओली निकट एक नेताले भने।

नेपाल समूहमा विभाजन ल्याउन सकेमा नेपाल-खनालले दर्ता गर्न लागेको नयाँ पार्टी कमजोर हुने विश्लेषण बालुवाटारको छ। त्यसका लागि ओलीले नेपाल, खनाल, रावल लगायत ११ जनालाई पार्टीबाट निष्कासित गरेका छन्। ओलीले नेपाल समूहमा ‘सफ्ट’ देखिएका १२ नेतालाई कारवाही गरेका छैनन्।सहमतिको लागि छलफल भइरहेपनि ओली समूहका नेताहरुले सबै नेताहरुलाई एमालेमा फर्काउन नसकिने बताएका छन्। एमाले प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सबै नेता एमालेमै फर्कन अवस्था नरहेको बताए। मंगलवारको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै उनले भने,’शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयलाई गर्वका साथ महिमा मण्डन गरिरहनु भएको छ। साथीहरु फर्किनु भयो भने पार्टीका लागि राम्रै हुन्छ। तर उहाँहरुको गतिविधि र हामीले एकताका लागि गरिरहेको प्रयासमा कहीकतै तालमेल मिल्दैन।’

ओलीले नेपालका निर्णयक कदमलाई रोक्न धेरैपटक वार्ताको कार्ड खेल्ने गरेका छन्। यसअघि बैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिनुअघि पनि वार्ता गर्नुपर्ने भन्दै सांसदको सामूहिक राजिनामा रोकेका थिए। हाल नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि तयारी तीव्र पारेपछि ओलीले आफ्ना दूतमार्फत आफू्प्रति ‘सफ्ट’ धारणा राख्ने नेताहरुलाई वार्तामा बोलाउँदै निर्णायक कदम रोक्न रणनीति अपनाएका छन्।यस्तै,जेठ ९ गते राति वार्ता गरेर अदालत जानबाट नेपाल समूहलाई रोक्न ओलीले प्रयास गरेको भए पनि असफल भएको थियो। नेपाल समूहका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री र प्रतिनिधिसभा पुन:स्थापनका माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।

वार्ता गर्ने पक्षमा छैनन् नेपाल
नेपाल निकट नेताहरुका अनुसार ओलीले नेपाललाई फेरि पनि वार्ताका लागि अनुरोध गरिरहेका छन्। तर, नेपाल भने अब आफूहरु धेरै अगाडि बढिसकेकाले पुरानै अवस्थामा वार्तामा जान तयार नभएको बताइरहेको छ।नेपाल समूहका नेता ज्ञवालीले फागुन २३ गते पछिका ओलीले गरेका सबै निर्णय फिर्ता लिए वार्ताको वातावरण बन्ने बताए। ११ नेतामाथिको कारवाही फिर्ता नलिए आफूहरु निर्णायक कदमका लागि तयारी अवस्थामा रहेको उनको भनाई छ।

‘कारवाही फिर्ता, फागुन २३ गते पछिका सबै निर्णय फिर्ता भए मात्रै वार्ताको माहोल बन्न सक्छ। हामी अब निर्णायक अवस्थामा पनि छौ,’ उनले भने।नेपालले आफू निकट नेताहरुलाई अब ओलीसँग वार्ता हुने सम्भावना कम भएको ब्रिफिङ गरिसकेका छन्। ज्ञवालीले पनि अब दुई नेताबिचको वार्ताको सम्भावना कम भएको बताए।’ दुई नेताबिच वार्ताको सम्भावना पनि कम छ। सहमति हुने देखिए पो वार्ता हुने सम्भावना हुन्छ,’ उनले भने।नेपाल समूहका नेता जीवनराम श्रेष्ठले ओली आफैले वार्ताका लागि गठन गरिएको कार्यदलको औचित्य समाप्त पारेकाले अब दोस्रो तहका नेताहरुको वार्ताले कुनै समाधान नदिने बताए। अन्तिम पटक वार्ता गर्नैपर्ने भए ओलीसँग मात्रै हुने उनको भनाई छ।’ओली बाहेकसँग वार्ताको के अर्थ छ ? एक पटक गर्नै परे सिधै ओलीसँगै हुन्छ। नत्र कसैले चिनजानको हिसाबले चियाखान भेटघाट गर्छ भने हाम्रो भन्नु केही छैन्। हामीले रोक्ने कुरा पनि भएन, ‘उनले भने।

के नेपाल समूह विभाजन हुन्छ ?
नेपाल समूहमा लागेका नेताहरु लगातार ओलि समूहमा जाने क्रम बढ्दो छ। नेपाल समूहमा रहेका बेला ओलीको चर्को आलोचना गरिरहेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल हाल ओली समूहमा छन्। उनीले प्रचार विभागको उप-प्रमुखको जिम्मेवारी पाएपछि उनी नेपाल समूहको आलोचक बनेका छन्।नेपाल समूहमै रहेका अर्का केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङ पनि हाल ओली समूहमा छन्। उनले कार्यालय सचिवको जिम्मेवारी पाएका छन्। नेपाल समूहका अर्का नेता कृष्णभक्त पोख्रेलले पनि ओलीको साथमा छन्।

फागुन २३ गतेपछि एमालेमा विवाद सुरु हुँदा नेपालसँग ३८ जना सांसद रहेकोमा वैशाख ८ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई बुझाएको हस्ताक्षरलमा नेपाल समूहका २६ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए। नेपाल समूहका नेता योगेश भट्टराईले देउवाको पक्षमा हस्ताक्षर नगर्ने भन्दै पछि हटेका थिए।हाल एमालेमा भट्टराई, भुसाल र पाण्डे लगायतका नेता फर्कन चाहेको बालुवाटारको दाबी छ। हाल नेताहरुलाई ‘फेस सेभिङ’का लागि समय चाहिएको ओली निकट नेताहरुले बताएका छन्।ओली निकट नेताहरुले यस्तो दाबी गरे पनि नेपाल समूहका नेताहरुले भने आफ्नो समूहमा विभाजन नआउने बताएका छन्। श्रेष्ठले सबै नेता एकजुट नै रहेको बताए।’योगेश हामीहरु सबै सँगै छौ। त्यरी अलग भएको भन्ने होइन। कुनै विभाजन पनि आएको छैन्,’ उनले भने।

नयाँ पार्टीको तीव्र तयारी
नेपाल समूहका नेताहरुले अब नयाँ पार्टी बनाउनुको विकल्प नरहेकाले क्रान्तिकारी एकता गर्ने बताइसकेका छन्। श्रेष्ठले अन्तिम विकल्पका लागि क्रान्तिकारी एकताको तयारी भइरहेको र घोषणा हुन मात्र बाँकी रहेक‍को बताए।’हाम्रो अन्तिम विकल्प हो। नयाँ पार्टी घोषणा हुदा सबैलाई जानकरी गराएरै गर्छौ,’ उनले भने।नेपाल निकट एक अर्का नेताले भने प्रतिनिधि पुन:स्थापना र देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मुद्दमाथि अदालतमा बहस भइरहेकाले अन्तिम टुंगो नलागेसम्म नयाँ पार्टी घोषणा नहुने बताए।

‘सर्वोच्चको फैसलाले पनि धेरै अर्थ राख्छ। त्यसले राजनीतिक वातावरण पनि नयाँ खालको बनाउन सक्छ। त्यसपछि उपयुक्त समय हुने भएकाले अहिले घोषणा नगरिएको हो,’उनले भने।अदालतको निर्णयसँगै दोस्रो तहका नेताहरुको दबाबका कारण नेपालले हाल निर्णायक कदम चालेका छैनन्। यद्यपी नेपाल निकट नेताहरुले भने अब कानुनी विभाजन मात्रै बाँकी रहेकाले एमालेमै रहने संम्भावना क्षीण भएको बताएका छन्।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार