• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगे कृष्णचन्द्र नेपाली, बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी


पोखरा। गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसीताकुमारी
पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता

समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए । उनले आफूहरु सशरीर आएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गरे । प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पुर्‍याएर निर्णय गर्ने बताएकी छन् ।

गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखकहाँ दाबी पेस गरेका छन्। माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा एकजना स्वतन्त्र सांसदको हस्ताक्षरसहित उनी प्रदेश प्रमुखकहाँ गएका हुन्। पोखरेलले जनमार्चाका २, जसपाका २, माओवादीका ११, कांग्रेसका १५ र एक स्वतन्त्रको समर्थन आफूलाई रहेको दाबीसहित मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न दाबी पेस गरेका हुन्। ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन्। मनाङका राजीव गुरुङ एकमात्र स्वतन्त्र सांसद हुन्।

पोखरेललाई मुख्यमन्त्री बनाउने दाबीमा जनमोर्चाका सांसद कृष्ण थापा भने सहभागी छैनन्। उनलाई पार्टीले कारबाही गरेको पत्र शुक्रबारै प्रदेश सभामा सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका थिए। यसअघि पनि जनमोर्चाले थापालाई २० जेठमा कारबाही गरेको भन्दै सभामुखले सांसद पदबाट उनी मुक्त भएको जानकारी सभालाई गराएका थिए। त्यसविरुद्ध थापाले हालेको रिटमा सर्वोच्चले उनलाई पुनर्बहालीको अन्तरिम आदेश गरेको छ। उक्त मुद्दाको अन्तिम किनारा लागेको छैन।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको विश्वासको मत प्रदेश सभामा बिहीबार असफल भएको थियो। उनको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो। शुक्रबार प्रदेश सभाले उक्त जानकारी प्रदेश प्रमुखलाई गराएको थियो। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका निम्ति २९ गते ३ बजेभित्र आउन प्रदेश सभा सदस्यका नाममा आह्वान गरेकी थिइन्।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार