• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागे


बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् ।उनले
प्रदेश सभाको आज बसेको बैठक मा बोल्दै शुक्रबारको बैठक मा आफूले प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएका कारण आवेगमा

उक्त शव्दहरु प्रस्तुत भएको भन्दै वैद्यले माफी मागेका हुन् ।शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए । संविधानमा व्यवस्था भए अनुसार आफूले आफ्नो अभिव्यक्ति दिएको र पार्टीको निर्देशन अनुसार आफूले आत्मालोचना गरेको उनको भनाइ छ ।आफू महात्मा गान्धीलाई मान्ने र शब्दले पनि कसैको मन दुखाउन नचाहेको भन्दै ओली प्रवृत्तिको कारण आक्रोशित भएर उक्त अभिव्यक्ति दिएको र आफ्नो अभिव्यक्ति प्रति आत्मालोचना र माफी माग्दै संसद्को रेकर्डबाट त्यसलाई हटाउन सभामुख समक्ष आग्रह गरे ।
उनले आत्मालोचना गर्दै माफी मागेकाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए ।

काँग्रेसले भन्यो- ‘वैद्यलाई आत्मालोचना गर्न निर्देशन दियो’
नेपाली काँग्रेसले बागमती प्रदेशसभाको नीति तथा कार्यक्रमबारे छलफलमा प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । शुक्रबार बेलुका प्रदेश संसदीय दलको नेतृत्वमार्फत प्रदेश सभा सदस्य वैद्यलाई अभिव्यक्तिमा संयम र सजगता राख्न निर्देशन दिएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस प्रष्ट छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन ।’

काँग्रेसले शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयम भएर अभिव्यक्ति दिन जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने समेत उल्लेख गरेको छ ।

कांग्रेसले पार्टीको नीति र संस्कृतिको पालना गर्नु र सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको कर्तव्य भएको प्रष्ट पार्दै विज्ञप्तिमा लेखेको छ, ‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन ।’

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार